ज्योति विकास बैंकका कर्मचारीमाथि भएको आक्रमणको निन्दा


काठमाडौं ।

ज्योति विकास बैंकका कर्मचारीमाथि भएको आपराधिक घटनाप्रति बैंक तथा वित्तीय क्षेत्रका चार प्रमुख संगठनले संयुक्तरूपमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल, नेपाल वित्तीय संस्था संघ तथा नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै ज्योति विकास बैंकका कर्मचारीमाथि भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

विज्ञप्तिअनुसार डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपालको सदस्य बैंक ज्योति विकास बैंकको रूपनी शाखाका ऋणी सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रा.लि.का सञ्चालकले कर्जाको किस्ता नियमित गर्ने विषयमा परामर्शका लागि भन्दै छलफलमा बोलाई बैंकका क्षेत्रीय कार्यालय बर्दिबासमा कार्यरत कर्मचारीमाथि ऋणी कम्पनीका सञ्चालक तथा उनका सहयोगीहरूले नियन्त्रणमा लिई नियोजित रूपमा दुव्र्यवहार तथा आक्रमण गरेको उल्लेख गरिएको छ ।

संयुक्त संगठनहरूले नियामक निकायबाट जारी गरिएका नीति, निर्देशन तथा विभिन्न ऐन–कानुनको पालना गर्दै निक्षेप संकलन, कर्जा प्रवाह र वित्तीय सेवा प्रदान गर्दै आएका बैंक तथा वित्तीय संस्था पछिल्लो समय यस्ता अराजक तथा आपराधिक गतिविधिको निशानामा पर्न थालेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् । बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न र यस्ता घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग संगठनहरूले माग गरेका छन् ।