काठमाडौं ।
रेमिट्यान्स प्रवाहमा उल्लेखनीय वृद्धि भएसँगै विदेशी मुद्रा सञ्चितिले नयाँ रेकर्ड कायम गरेको छ । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो चार महिना (साउनदेखि कात्तिकसम्म) मा कुल विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब रुपियाँ पुगेको छ । अमेरिकी डलरमा यो रकम २१ अर्ब ५१ करोड बराबर हो, जुन ऐतिहासिक रूपमा उच्चस्तर हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यो अवधिमा रेमिट्यान्स प्रवाह ६ खर्ब ८७ अर्ब रुपियाँ भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३१ प्रतिशतभन्दा बढीले बढेको छ । रेमिट्यान्सको यो वृद्धिले विदेशी मुद्रा सञ्चितिलाई मजबुत बनाएको छ । हालको सञ्चितिले १७ महिना १२ दिनसम्मको वस्तु तथा सेवाको आयात धान्न सक्छ, जुन पर्याप्तताको सूचकांकमा अहिलेसम्मकै उच्च हो । नेपालमा सामान्यतया सात महिनासम्मको आयात धान्ने सञ्चिति पर्याप्त मानिन्छ ।
२०८२ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपियाँ थियो, जुन कात्तिक मसान्तसम्म आइपुग्दा १४.१ प्रतिशतले बढेको छ । अमेरिकी डलरमा यो सञ्चिति असार मसान्तमा १९ अर्ब ५० करोड थियो, जुन कात्तिक मसान्तमा १०.३ प्रतिशतले बढेर २१ अर्ब ५२ करोड पुगेको छ ।
राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड थियो, जुन कात्तिक मसान्तमा १२.८ प्रतिशतले बढेर २७ खर्ब २४ अर्ब ६६ करोड पुगेको छ। अन्य बैंक तथा वित्तीय संस्थाहरू (राष्ट्र बैंकबाहेक) मा रहेको सञ्चिति असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड थियो, जुन कात्तिक मसान्तमा २५.८ प्रतिशतले बढेर ३ खर्ब ३० अर्ब ८५ करोड भएको छ । कुल सञ्चितिमध्ये भारतीय मुद्राको हिस्सा २१.९ प्रतिशत छ ।
कात्तिक मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सँगको अनुपात ५० प्रतिशत, कुल आयातसँगको अनुपात १४४.९ प्रतिशत र विस्तृत मुद्राप्रदायसँगको अनुपात ३७.८ प्रतिशत रहेको छ । असार मसान्तमा यी अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत थिए ।
यो अवधिमा आयात पनि १८.७ प्रतिशतले बढेर ६ खर्ब ९ अर्ब रुपियाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ५ खर्ब १३ अर्ब थियो। अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य १३.६ प्रतिशतले घटेर प्रतिब्यारेल ६३.४५ अमेरिकी डलर भएको छ, जबकि सुनको मूल्य ५८.३ प्रतिशतले बढेर प्रतिऔंस ४ हजार ७१.१० डलर पुगेको छ । अमेरिकी डलरसँग नेपाली रुपियाँको अवमूल्यन असार मसान्तको तुलनामा ३.३ प्रतिशत भएको छ।
कात्तिक मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १४१.७० रुपियाँ छ, जुन असार मसान्तमा १३७ रुपियाँ थियो। अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपियाँ १ प्रतिशतले अवमूल्यन भएको थियो । यसैबीच चालु आर्थिक वर्षको चार महिनामा ६ खर्ब ८७ अर्ब रूपियाँ रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक वर्ष यही अवधिमा भने पाँच खर्ब २३ अर्ब रुपियाँ रेमिट्यान्स भित्रिएको थियो । यो अवधिमा रेमिटेन्स भित्रिने दर ३१ प्रतिशतले बढेको हो । चार महिनामा चार अर्ब ८६ करोड रूपियाँ रेमिट्यान्स बाहिरिएको छ । गत वर्षको यही अवधिमा दुई अर्ब ६२ करोड रूपियाँ बाहिरिएको थियो ।











प्रतिक्रिया