एमाले महाधिवेशनमा स्वास्थ्य क्षेत्रका अनुहार संसदिय प्रतिस्पर्धामा


काठमाडौं ।

नेकपा (एमाले)को ११औं महाधिवेशन अन्तर्गत मङ्गलबार पार्टी केन्द्रीय नेतृत्व चयनका लागि मतदान हुँदैछ। यसपटकको निर्वाचनमा स्वास्थ्य क्षेत्रका अनुभवी व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति देखिएको छ। स्वास्थ्य सेवामा लामो समय जिम्मेवारी सम्हालेका डा. झलक शर्मा गौतमले यसपटक केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका छन्। उनी स्वास्थ्य सेवा विभागमा महाशाखा प्रमुखको पदमार्फत अवकाश प्राप्त छन्।

विभिन्न स्वास्थ्यकर्मी संगठनहरूको नेतृत्व गरेका गौतम यसअघि एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघका अध्यक्षसमेत रहिसकेका छन्। संघबाट बिदा लिएपछि उनले अब एमालेको केन्द्रीय नेतृत्वमा भूमिका लिन दाबी गरेका हुन्। यसैगरी, एमालेबाट अतीतमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका नेताहरू पनि यस महाधिवेशनमा प्रमुख पदका प्रतिस्पर्धामा छन्।

पूर्वस्वास्थ्य मन्त्री लेखराज भट्टले यसपटक उपमहासचिव पदमा उम्मेदवारी दिएका छन् भने पूर्वस्वास्थ्य मन्त्रीद्वय खगराज अधिकारी र भानुभक्त ढकालसहित पूर्वस्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले सचिव पदका लागि उम्मेदवारी दिएका छन्। त्यस्तै पूर्वस्वास्थ्य मन्त्री पदम गिरी र शेरबहादुर तामाङले पनि केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका छन्। स्वास्थ्य क्षेत्रका अगुवा तथा पूर्वमन्त्रीहरूको सक्रिय उम्मेदवारीसहित एमालेको यो महाधिवेशन नेतृत्व र नीति निर्माणमा स्वास्थ्य क्षेत्रको प्रतिनिधित्व बलियो हुने संकेतका रूपमा हेरिएको छ।