काठमाडौं ।
नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचन संस्थापन पक्षका लागि अपेक्षाभन्दा निकै पेचिलो बन्ने संकेत देखिएको छ । अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संस्थापन समूहभित्रै केहि असन्तुष्टि देखिँदा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको इतर समूह भने अपेक्षाकृत संगठित देखिएको छ । उम्मेदवारी मनोनयन सकिएसँगै आज मंगलवार हुने मतदानले पार्टीको आन्तरिक शक्ति सन्तुलनमात्र होइन, आगामी राजनीतिक दिशासमेत निर्धारण गर्ने देखिन्छ ।
महाधिवेशन सुरु हुनुअघि नै संस्थापन पक्षले तयार पारेको पदाधिकारी तथा केन्द्रीय सदस्यको सूची सार्वजनिक भएपछि ओली क्याम्पभित्र विवाद मच्चिएको थियो । सूचीमा समेटिएका धेरै नेताहरूले आफूले आकांक्षा गरेको पद नपाएपछि फरक–फरक पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । यसले संस्थापन पक्षको एकता र अनुशासनमै प्रश्न उठाएको छ । पार्टी अध्यक्ष ओली स्वयम्ले नेतृत्व गरेको समूहभित्रैबाट खुलेआम असन्तुष्टि पोखिनु र विद्रोह हुनु उहाँको नेतृत्व शैलीमाथिको असन्तोषको संकेतका रूपमा हेरिएको छ ।
संस्थापन पक्षका लागि सबैभन्दा ठूलो झट्का उपमहासचिव प्रदीप ज्ञवालीलाई लागेको छ । महासचिवका आकांक्षी रहेका ज्ञवालीलाई ओलीले महासचिवमा शंकर पोखरेललाई नै दोहो¥याउने निर्णय गरेपछि उहाँ असन्तुष्ट बन्न पुग्नुभएको थियो । संस्थापन पक्षले उहाँलाई उपाध्यक्षमा समेट्न खोजे पनि ज्ञवालीले महासचिवबाहेक अन्य पदमा उम्मेदवारी नदिने अडान लिनुभएको थियो । अन्ततः उहाँले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दर्ता गर्नुभएको छ । महाधिवेशन प्रतिनिधिहरूले यसलाई ‘सालिन विद्रोह’ का रूपमा व्याख्या गरेका छन् ।
ओली सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहनुभएका रघुजी पन्त, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, नेता कृष्णगोपाल श्रेष्ठ र गोकुल बाँस्कोटाले पनि आफूले चाहेको पद नपाएको भन्दै ओलीको साथ छाडेका छन् । यी नेताहरू लामो समयदेखि ओलीनिकट मानिँदै आएका थिए । उनीहरू अलग्गिनुले संस्थापन पक्षको सांगठनिक पकड कमजोर बन्दै गएको स्पष्ट देखिन्छ ।
ओली प्यानलमा केन्द्रीय सदस्यमा मात्रै राखिएपछि नेता कृष्णगोपाल श्रेष्ठ असन्तुष्ट बनेर ईश्वर पोखरेल समूहमा पुग्नुभएको छ । उहाँले पोखरेल प्यानलबाट सचिवमा उम्मेदवारी दिनुभएको छ । विगतमा ओलीलाई ‘नेपाली राजनीतिका पेले’सँग तुलना गर्दै प्रशंसा गर्ने श्रेष्ठको यो निर्णयले संस्थापन पक्षलाई थप दबाबमा पारेको छ । त्यस्तै, गोकुल बाँस्कोटाले पनि पोखरेल प्यानलबाट सचिवमा उम्मेदवारी दिनुभएको छ । यद्यपि, उहाँ ओलीसँग टाढिएको धेरै समय भइसकेको नेताहरू बताउँछन् ।
संस्थापन पक्षकै प्यानलमा केन्द्रीय सदस्यमा राखिएका अग्नि खरेल, लालबाबु पण्डित र भीम आचार्यले पनि विद्रोह गरेका छन् । खरेलले सचिवमा स्वतन्त्र उम्मेदवारी दिनुभएको छ भने पण्डित र आचार्यले क्रमशः सचिव र उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । रघुजी पन्तले पनि प्यानलबाट निस्किएर उपाध्यक्षमा उम्मेदवारी दिनुभएको छ । नवौँ महाधिवेशनमा उपमहासचिवमा पराजित हुनुभएका पन्त पछिल्लो समय ओलीनिकट मानिए पनि यसपटक उहाँ असन्तुष्ट देखिनुभएको छ ।
संस्थापन प्यानलमा नपरेपछि आनन्द पोखरेल ईश्वर पोखरेल समूहमा पुग्नुभएको छ । उहाँले उपमहासचिवमा उम्मेदवारी दिनुभएको छ । त्यस्तै, ओलीको किचेन क्याबिनेट सदस्य मानिने राजेन्द्र गौतमले पनि प्यानलबाट निस्किएर उपमहासचिवमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । सचिवको आकांक्षा राख्नुभएका गौतम पदाधिकारी सूचीमा नपरेपछि असन्तुष्ट बन्दै आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो ।
संस्थापन पक्षले अनुशासन आयोगको अध्यक्षमा प्रस्ताव गरिएका काशीराज अधिकारीले उम्मेदवारी नै नदिने घोषणा गर्नुभएको छ । नयाँ पुस्तालाई अवसर दिनुपर्ने भन्दै उहाँले उम्मेदवार नबन्ने बताउनुभएको छ । यो निर्णयले पनि ओली क्याम्पभित्र असन्तुष्टिको गहिराइ देखाएको छ ।
संस्थापन क्याम्पबाट लगातार विद्रोह हुँदा ईश्वर पोखरेल पक्ष भने उत्साहित देखिएको छ । ओलीसँग बिच्किएका नेताहरूलाई आफ्नो कित्तामा ल्याउन पोखरेल पक्ष सक्रिय बनेको छ । महासचिवका उम्मेदवारका रूपमा सुरेन्द्र पाण्डेलाई अघि सारिएको छ । उपाध्यक्षमा गोकर्ण विष्ट, परशुराम मेघी गुरुङ, विन्दा पाण्डे, अरुण नेपाल, रघुजी पन्त र टंक कार्कीलाई समेटिएको छ । उम्मेदवार संख्या बढी भएकाले छलफलबाट मिलाइने पोखरेल समूहका नेताहरू बताउँछन् ।
उपमहासचिवमा योगेश भट्टराई, आनन्द पोखरेल र बैजनाथ चौधरीको उम्मेदवारी रहेको छ । सचिवमा रचना खड्का, कर्ण थापा, गोकुल बाँस्कोटा, विनोद ढकाल, कृष्णगोपाल श्रेष्ठ, ठाकुर गैरे, इन्द्रलाल सापकोटा र पुरुषोत्तम पौडेल प्रतिस्पर्धामा छन् । पोखरेल समूहमा स्वतन्त्र उम्मेदवारी दिएका भनिएका नेताहरूलाई समेत समेटिएको छ ।
संथापन पक्षबाट उपाध्यक्षमा रामबहादुर थापा (बादल), विष्णुप्रसाद पौडेल, गुरुप्रसाद बराल, पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवालीलाई अघि सारिएको छ । तर, ज्ञवालीले केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।
महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र विष्णु रिमाल, सचिवमा भानुभक्त ढकाल, छविलाल विश्वकर्मा, पद्माकुमारी अर्याल, खगराज अधिकारी, यमलाल कँडेल, राजन भट्टराई, हिक्मतकुमार कार्की, शेरधन राई र महेश बस्नेत रहेका छन् ।
यसबीच महासचिवका अर्का आकांक्षी पृथ्वीसुब्बा गुरुङ असन्तुष्ट बन्ने अनुमान गरिए पनि उहाँले संस्थापन पक्षबाटै उपाध्यक्षमा उम्मेदवारी दिनुभएको छ । पार्टीभित्र विकृतिमुक्त संगठन निर्माणका लागि आफूले उम्मेदवारी दिएको उहाँको भनाइ छ । नेता परशुराम मेघी गुरुङले पनि उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । महाधिवेशन प्रतिनिधिहरूका अनुसार जेन–जी आन्दोलनपछि पार्टीभित्र युवाहरूले निर्णायक भूमिकाको खोजी गरिरहेका छन् । तर, संस्थापन पक्षले लामो समयदेखि विभिन्न पदमा रहेका नेताहरूलाई निरन्तरता दिँदा युवाहरूलाई केन्द्रीय समितिमा सीमित गर्न खोजिएको गुनासो बढेको छ । दुवै प्यानलको सूचीमा चर्चित युवा नेताहरू नपरेपछि उनीहरूले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यसले मतदान परिणामलाई थप अनिश्चित बनाएको छ ।











प्रतिक्रिया