आफ्नै बारीको सुन्तलाबाट लाखौं आम्दानी

564
Shares

धादिङ।

युवाहरू विदेश पलायन हुँदा गाउँहरू खाली बन्दै गएका बेला धादिङको नीलकण्ठ नगरपालिका–२, सिउँदीबारका तोयनाथ अधिकारी (बद्री दाई) ले आफ्नै बारीमा सुन्तला र जुनारको बगैंचा फुलाएर लाखौं आम्दानी गर्दै स्वदेशमै श्रमको सम्मान र आत्मनिर्भरताको उदाहरण प्रस्तुत गरेका छन् ।

बद्री दाईको बगैंचामा पहेंलपुर लटरम्म फलेका जुनार र गुलिया सुन्तला देखेर जो कोहीको मन लोभिन्छ । बारीका पाटामा घुसुवा बालीका रूपमा लगाइएका मौसमी तथा बेमौसमी तरकारीहरू पनि उत्तिकै आकर्षक छन् । करिब २०० हाराहारी सुन्तला र जुनारका बोटहरू रहेको यो बगैंचामा पुराना बोट मर्दै र नयाँ बिरुवा थपिँदै जाने क्रम चलिरहेकाले ठ्याक्कै संख्या भन्न कठिन भए पनि उत्पादन भने उल्लेख्य छ ।

अघिल्लो वर्ष मात्र सुन्तला र जुनार बिक्रीबाट करिब ५ लाख रुपियाँ आम्दानी गरेका बद्री दाईले यस वर्ष आधाभन्दा बढी सुन्तला बिक्री भइसकेको बताउँछन् । बाँकी फलफूल बिक्रीपछि पुसतिर यकिन हिसाब हुने भए पनि यस वर्ष ५ देखि ७ लाख रुपियाँसम्म कमाइ हुनेमा उनी ढुक्क छन् । फलफूलमा मात्र सीमित नरही अन्तरबालीका रूपमा तरकारी खेतीलाई पनि प्राथमिकता दिएका उनी बाह्रै महिना काउली, स्थानीय भन्टा, सागलगायत तरकारी उत्पादन गर्छन् । उत्पादनको विविधीकरणले जोखिम घटाएर आम्दानी स्थिर बनाएको उनको अनुभव छ ।

१८–२० वर्ष लामो कृषि यात्रामा जीवनलाई कृषिमै समर्पण गर्ने दृढता लिएका बद्री दाईको योजना परिवारका सदस्यलाई पनि प्राविधिक रूपमा दक्ष बनाएर यो क्षेत्रमा अघि बढाउने छ । ‘हाम्रो देशमा केही गर्न सकिँदैन भन्ने सोचलाई तोड्नुपर्छ,’ उनी भन्छन्–‘कृषि, पर्यटन, जलविद्युत् र उत्खनन सबैमा अपार सम्भावना छन्, आवश्यक भनेको सदुपयोग हो ।’ सीप र दक्षता भए स्वदेशमै राम्रो गर्न सकिने र योजनाबद्ध रूपमा अघि बढे कृषिमा ठूलो सम्भावना रहेको उनी बताउँछन्। तर, नीतिगत कमजोरी, समयमा बीउ–मल नपाइनु, प्राविधिक जनशक्तिको कमी र ग्रामीण सडकको कमजोर अवस्थाले किसानलाई हैरान बनाएको उनको अनुभव छ । उत्पादित वस्तु २४ घण्टाभित्र बजार पु¥याउने सडक सुविधा भए लागत घट्ने र उपभोक्ताले ताजा सामान पाउने उनी बताउँछन् ।