नयाँ दिल्ली, (एजेन्सी)
लियोनल मेसीको आगमनमा आयोजित कार्यक्रमस्थल साल्ट लेक स्टेडियममा भीड नियन्त्रणमा समस्या देखिएपछि अवस्था अराजक बनेको थियो । दर्शकहरूको अत्यधिक भीड र कमजोर सुरक्षा व्यवस्थाका कारण तनावको सिर्जना भएपछि मेसी कार्यक्रम सुरु भएको करिब २० मिनेटमै कोलकताको स्टेडियम छाड्न बाध्य भएका थिए ।
भीड उग्र बन्दै जाँदा केही दर्शकहरूले पानीका बोतल फ्याँकेका थिए भने ब्यानर र होर्डिङहरू पनि तोडफोड गरेका थिए । जसका कारण आतंकको स्थिति सिर्जना भएको थियो ।
स्थिति नियन्त्रण बाहिर जान थालेपछि सुरक्षाको कारण देखाउँदै सुरक्षा अधिकारीहरूले मेसीलाई तत्काल रंगशालाबाट बाहिर निकालेका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार, उनलाई सिधै विमानस्थल पु¥याइएपछि हैदराबादतर्फ उडान गरिएको थियो ।
त्यसअघि अर्जेन्टिनी स्टार खेलाडी मेसीले बलिउड अभिनेता शाहरुख खानसहित अन्य विशिष्ट व्यक्तित्व तथा आयोजकहरूसँग भेटघाट गरेका थिए । उक्त घटनाप्रति पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले गहिरो असन्तुष्टि व्यक्त गर्दै सार्वजनिक रूपमा माफी मागेकी छन् ।
सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा पोस्ट गर्दै उनले साल्ट लेक रंगशालामा देखिएको कुव्यवस्थापनबाट आफू गहिरो दुःखी र स्तब्ध भएको उल्लेख गर्दै लियोनेल मेसी, खेलप्रेमी तथा उनका प्रशंसकहरूसँग माफी मागेकी हुन् । मुख्यमन्त्री बेनर्जीले घटनाको छानबिनका लागि समिति गठन गरिएको जानकारी दिँदै अव्यवस्थाको कारण पहिचान गरी दोषीमाथि आवश्यक कारबाही गरिने प्रतिबद्धता समेत व्यक्त गरेकी छन् ।











प्रतिक्रिया