मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछ: प्रधानमन्त्री कार्की


काठमाडौँ। 

प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक तथा आर्थिक अवसरहरुमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्ने बताएकी छन् । आदिवासी जनजाति उत्थान प्रतिष्ठानले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन् ।

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनमा युवाहरुले सुशासन र समृद्धिको प्रमुख मुद्दा उठाएको स्मरण गराउँदै सोही मुद्दा सम्बोधन हुनेगरी काम गर्न आवश्यक रहेको बताइन् । उनले समावेशी विकास र समन्यायको आकांक्षा जेन–जीहरुको अभिव्यक्ति भएको उल्लेख गर्दै सोहीअनुसार अघि बढ्नसके देशमा दिगो विकास हुने र त्यसले राष्ट्रलाई बलियो बनाउने समेत बताइन्।

प्रधानमन्त्री कार्कीले भनिन्,‘भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा युवाहरुले सुशासन र समृद्धिको प्रमुख मुद्दा उठाएको यहाँहरु सबैलाई विदितै छ । राजनीतिक र आर्थिक अवसरहरुमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्ने जेन–जीको माग पनि समावेशी विकास र समन्यायको आकांक्षाको अभिव्यक्ति हो ।

सबै वर्ग र समुदायको समान पहुँच र सहभागितामा भएको विकास नै दिगो बन्न सक्दछ । यसले राष्ट्रलाई बलियो बनाउँदछ । यस दिशामा प्रतिष्ठानले थप प्रभावकारी भूमिका खेल्न सकोस् ।’ 

प्रधानमन्त्री कार्कीले सबै जाति, भाषा र संस्कृतिका समुदायको हीत हुनेगरी अघि बढ्न पनि सम्बन्धित पक्षलाई सचेत पनि गराइन् ।