काठमाडौँ।
लोककवि राजभाई जकःमिलाई बृहत् जन अभिनन्दनका साथ ‘नेपाः रत्न पदक’ प्रदान गरी सम्मान गरिएको छ । सो अवसरमा उनीद्वारा रचित कीर्तिपुर नगरको पहिचान झल्काउने ऐतिहासिक काव्य सङ्ग्रह ‘किपू देय्या तजिलजि’ को पनि लोकार्पण गरिएको छ ।
“नव प्रतिभालाई प्रोत्साहन, अग्रजलाई सम्मान, हाम्रो कला–संस्कृति नेपालको मौलिक पहिचान” भन्ने नाराका साथ नेपाल कला–संस्कृति उत्थान समाजको आयोजनामा तथा कीर्तिपुर नगरपालिकाको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । विभिन्न संघ–संस्थाको सहभागितामा लोककवि जकःमिलाई जन अभिनन्दन गरिएको हो ।
नेपालभाषा साहित्य क्षेत्रमा दीर्घकालीन र अतुलनीय योगदान पुर्याएको कदरस्वरूप आयोजक संस्था नेपाल कला–संस्कृति उत्थान समाजले पहिलो पटक अभिनन्दित व्यक्तित्वका रूपमा लोककवि जकःमिलाई ‘नेपाः रत्न पदक’बाट सम्मान गरेको हो ।
शनिबार कीर्तिपुरको पांगास्थित कीर्तिपुर सिनेप्लेक्स हलमा समाजका अध्यक्ष विजयलाल डंगोलको संयोजकत्वमा आयोजित कार्यक्रममा पांगा दोबाटोबाट बाजागाजासहित जन अभिनन्दन र्याली निकालिएको थियो । र्याली शहर परिक्रमा गर्दै कार्यक्रमस्थलमा पुगेर समापन गरिएको हो ।

कार्यक्रममा कीर्तिपुर नगरपालिकाका नगर प्रमुख कृष्णमान डंगोल प्रमुख अतिथि रहेका थिए भने बागमती प्रदेश सांसद तथा पूर्वमन्त्री पुकार महर्जन र कीर्तिपुर नगरपालिकाकी उप–प्रमुख शुभलक्ष्मी शाक्य सुनिता विशेष अतिथिका रूपमा सहभागी भएका थिए ।
कार्यक्रममा लोककवि जकःमिद्वारा रचित गीत–संगीत मदनकृष्ण श्रेष्ठ (ख्यालिजुजु), पवित्र कसाः, संगीता शाक्य, सतीश महर्जन, रिता महर्जन, मथुरा महर्जन, कृष्णमान डंगोल, दीपा महर्जन र रत्नशोभा महर्जनले प्रस्तुत गरेका थिए । साथै उनकै रचना ‘सिंह र खरायो’ लोकभाकामा आधारित ओपेरा काठमाडौंको जैसीदेगःस्थित श्री कुमारी माध्यमिक विद्यालयको टोलीले प्रस्तुत गरेको थियो ।
कार्यक्रममा विभिन्न दाफा तथा सांस्कृतिक खलःहरूको सांगीतिक प्रस्तुति समेत रहेको थियो । कीर्तिपुरको तालतन्त्र दाफा मुना खलःले लोककवि जकःमिको जीवन र योगदानमा आधारित गीत–संगीत प्रस्तुत गरेको थियो ।
लोककवि राजभाई जकःमिको वृहत् जन अभिनन्दन कार्यक्रममा नेपाल कला–संस्कृति उत्थान समाजसँगै हलिं नेवाः दबू नेपाः च्याप्टर, नेवाः देय् दबू कीर्तिपुर नगर समिति, ज्यापु महागुथि कीर्तिपुर नगर समिति, तालतन्त्र दाफा मुना खलः, मन्दः फल्चा अमल्सि खलः, पवित्र कुटी विहार पांगा, क्रोध कला फाउण्डेशन ललितपुरलगायत विभिन्न संघसंस्थाले सामूहिक रूपमा अभिनन्दन गरेका थिए । कीर्तिपुर नगरपालिकाले समेत लोककवि जकःमिलाई विशेष सम्मान प्रदान गरेको थियो ।











प्रतिक्रिया