काठमाडौं।
मुलुककै पुरानो र ऐतिहासिक महत्त्व बोकेको सिद्धार्थ वनस्थली इन्स्टिच्यूट ,बालाजु काठमाडौँले आज आइतबार आयोजना गरेको ‘सिद्धार्थ वनस्थली मेलामा’ विद्यार्थीहरु रमाइरहेका छन् । विद्यालयका विद्यार्थीहरुकै आयोजनामा विद्यालयकै सुन्दर र मनमोहक प्रांगणमा भइरहेको सो मेलामा दर्जनौं स्टलहरु राखिएका छन् ।

विद्यालयले विद्यार्थीहरुलाई अतिरिक्त मनोरञ्जन प्रदान गर्नुका साथै विभिन्न अन्वेषण , सिर्जनात्मक र रचनात्मक कार्यमा सरिक गराउने उद्धेश्यले वर्षेनी यस प्रकारको मेलाको आयोजना गर्दै आइरहेको सिद्धार्थ वनस्थली इन्स्टिच्यूटकी भाइस प्रिन्सिपल सुनिता सिंहले जानकारी दिइन् । ‘यो मेलाको सम्पूर्ण व्यवस्थापन १० कक्षामा पढ्ने विद्यार्थीहरुले नै गरिरहेका छन, विद्यार्थीहरुलाई मनोरञ्जनका साथ साथै आफ्नो भोगाई , सिकाई र अनुभवलाई व्यवहारमा उतार्न सहज होस भनेर उनीहरु मार्फत नै मेलाको सबै व्यवस्थापन गर्ने पद्धतिको विकास गरिएको हो । ’भाइस प्रिन्सिपल सिंहले भनिन् । मेलाको सम्पूर्ण संरक्षकत्व विद्यालयका प्रिन्सिपल रुपक राजवंशीले दिइरहेका छन् ।

सो मेलामा विभिन्न परिकार सहितका दर्जनौं स्टलहरु समावेश छन् । ती स्टलहरुमा विद्यार्थीहरुले विभिन्न स्वादका परिकारहरुको मजा लिइरहेका छन् । यसैगरी विभिन्न खेल खेल्न बनाइएका स्टलहरुमा विद्यार्थीहरु खेल्दै रमाइरहेका छन् । भाइस प्रिन्सिपल सिहका अनुसार विद्यालयमा २०४० सालमा एसएलसी दिएका पूर्व विद्यार्थीहरुको समुहले विभिन्न म्युजिक र थप मनोरञ्जनमुलक कार्यक्रम प्रस्तुत गरिरहेको छ । यसैगरी डक्टर बन्न सफल भएका विद्यालयकै पूर्व विद्यार्थीहरुले मेलामा स्वास्थ्य सेवा समेत प्रदान गरिरहेका छन् । सो मेलामा मनोरञ्जनमूलक मात्रै नभई इन्नोभेटिभ कार्यहरु समेत भइरहेका छन् । जसअनुसार विद्यार्थीहरुले नै ड्रोनको स्टल बनाएका छन् भने एआइको स्टल समेत बनाएर साइन्स प्रोजेक्टका गतिविधि सञ्चालन गरिरहेका छन् । यसैगरी आर्ट ग्यालरी समेत बनाइएको छ ।
विद्यार्थीहरुले यस्तो मनोरञ्जनमुलक र सिर्जनात्मक मेलाले आफूहरुलाई उत्साहित बनाएको र यो कार्य विद्यालय र विद्यार्थीहरुबीचको सम्बन्ध अझै गाढा र प्रगाढ बनाउने सशक्त माध्यम भएको बताएका छन् ।

स्टलहरु व्यवस्थापनका लागि कक्षा १० मा पढ्ने विद्यार्थीहरुको नेतृत्वमा २७ वटा म्यानेजर टिम बनाइएको छ र सोही टिमले नै मेलाको प्रभावकारी व्यवस्थापन गरिरहेको छ । मेलामा आवश्यक टेन्टको व्यवस्थापन पनि यिनै विद्यार्थीहरुले गरिरहेका छन् ।
विद्यालयमा अहिले मेलाको चहलपहल छ भने सयौं विद्यार्थी, शिक्षक र अभिभावकहरुले मेलामा प्रत्यक्ष अवलोकन र सहभागिता जनाइरहेका छन् ।











प्रतिक्रिया