गत संस्करणको अन्तिम टोली अहिले विजेता


काठमाडौं ।

गत सिजनमा सातमध्ये एक खेल मात्रै जितेको थियो लुम्बिनी लायन्सले । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका कप्तान रोहित पौडेलको नेतृत्वमा रहे पनि गत सिजनमा निकै निरस खेल देखाएको थियो । यस सिजनमा पनि लगातार चार खेलको नतिजाले लुम्बिनी कमजोर नै हुने सबैको आँकलन थियो । जसमा, एक जित र तीन लगातार हार सामेल थिए ।

तर, पाँचौं खेलमा पोखरा एभेन्जर्सलाई हराएपछि भने लुम्बिनीले हार बेहोर्नु परेन । यो लय फाइनलसम्म पनि कायम राख्दा अहिले टोली च्याीम्पयन बनिसकेको छ । च्याम्पियन बन्न लुम्बिनीले दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिम रोयल्स जस्तो सन्तुलित टोलीसँग प्रतिस्पर्धा ग¥यो । तर, यो ठूलो चुनौतीलाई पनि ६ विकेटले आरामका साथ पन्छायो र रोहितको टोली च्याम्पियन बन्न सफल भयो ।

लुम्बिनीले शुरुआतदेखि नै घातक बलिङ गर्दै सुदूरपश्चिमको ब्याटिङ तहसनहस बनाइदिएको थियो । त्यसमाथि लुम्बिनीका कप्तान रोहित पौडेले ह्याट्रिक गर्दा त सुदूरले १ सय रन नाघ्न नसक्ने निश्चित भइसकेको थियो ।
ओपनर ईशान पाण्डेले सर्वाधिक ३३ रन बनाउनाले नै ८५ रन टोलीको स्कोरकार्डमा अंकित भएको थियो । अन्यथा टोलीको स्कोर अझ कम हुने नै देखिएको थियो । उनले संघर्ष गरेर टोलीलाई उकास्न खोजेका थिए । तर, अर्को इन्डबाट दरो साथ नपाउँदा उनी आठौं विकेटको रुपमा आउट भए ।

लुम्बिनीका बलरमा रोहित, शेर मल्ल र ट्रम्पलमेनले ३÷३ विकेट लिए भने तिलक भण्डारीले १ विकेट लिएका थिए । जसमा ट्रम्पलमेनको बलिङ निकै किफायती रह्यो । उनले ३ विकेट लिन २.१ ओभरमा ३ रन खर्चेका थिए । उनले पहिलो ओभरमा विनोद भण्डारी (०) र यसपछि दुई विकेट पछि लिएका थिए ।

जवाफमा लुम्बिनीले ९ ओभरमा ४ विकेट गुमाएर ८६ रनको लक्ष्य पार गरेको थियो । जसमा, ओपनर दिनेश अधिकारीले सर्वाधिक ४२ रन जोडे भने डीआर्सी शर्टले १४ रन र कप्तान रोहितले १६ रन बनाएका थिए । निकोलास डिकवेल्ला भने ११ रनमा र दिलीप नाथ १ रनमा नटआउट रहे ।
सुदूरको बलिङमा हेमन्त धामीले २ विकेट लिए भने दीपेन्द्र र अविनाश बोहराले १÷१ विकेट लिएका थिए । योसँगैं अविनाशको यस एनपीएलमा १७ विकेटसंख्या भएको छ ।

पुरस्कार संक्षेपमा
–विजेता लुम्बिनी लायन्स १ करोड १० लाख नगद पुरस्कार प्राप्त गरेको छ ।
–उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख नगद पुरस्कार प्राप्त गरेको छ ।
–तेस्रो स्थानमा रहेको विराटनगर किंग्सले २५ लाख र चौथो स्थानमा रहेको काठमाडौं गोर्खाजले १५ लाख नगद पुरस्कार प्राप्त गरेका छन् ।

–लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल घोषित भए । उनले कार पाएका छन् । उनले यस सिजनमा नेपाली ब्याटरमा सर्वाधिक २ सय ७६ रन बनाए । साथै उनले १० विकेट पनि हासिल गरेका हुन् । यो कार पुरस्कार नेपाली उत्कृष्ट खेलाडीलाई दिने प्रावधान रहेको छ ।
–लुम्बिनीकै शेर मल्ल उदीयमान खेलाडीमा उत्कृष्ट घोषित भए । उनले बाइक प्राप्त गरेका छन् ।

प्रदर्शन संक्षेपमा
–प्रतियोगिताभरि सर्वाधिक रन पोखरा एभेन्जर्सका एडाम रोसिंगटनले एक शतकसहित ३ सय २३ रन बनाएका हुन् ।
–प्रतियोगिताभरि सर्वाधिक विकेट लिनेमा तीन खेलाडीले शीर्ष स्थान साझेदारी गरे । जसमा, विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने, सुदूरपश्चिमका अविनाश बोहरा र लुम्बिनीका शेर मल्लले समान १७ विकेट लिएका हुन् ।
–प्रतियोगिता र फाइनलका उत्कृष्ट खेलाडी लुम्बिनीका रुबेन ट्रम्पलमेन घोषित भए । उनले प्रतियोगिताभरि १५ विकेट लिँदैं ६५ रन बनाएका हुन् ।
–प्रतियोगितामा लुम्बिनीले लगातार तीन खेल हारेर त्यसपछि लगातार ६ खेल जितेर उपाधिसमेत हासिल गर्न सफल भयो ।