काठमाडौं ।
विश्वव्यापी स्वास्थ्य कभरेज युनिभर्सल हेल्थ कभरेज (यूएचसी) ले सार्वजनिक स्वास्थ्यमा आमूल परिवर्तनको सिद्धान्त प्रतिनिधित्व गर्ने र स्वास्थ्य नीतिमा समताको गहिरो प्रतिबद्धता व्यक्त गर्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ । डिसेम्बर १२ मा मनाइने विश्वव्यापी स्वास्थ्य कभरेज दिवसका अवसरमा डब्ल्यूएचओ दक्षिण–पूर्वी एसियाकी प्रभारी अधिकृत डा. क्याथरिना बोहेमले आर्थिक सुरक्षाबिनाको स्वास्थ्य पहुँच अधुरो हुने स्पष्ट पार्नुभएको छ ।
यूएचसी दिवस सन् २०१२ मा संयुक्त राष्ट्रसंघले सर्वसम्मत रूपमा विश्वव्यापी स्वास्थ्य कभरेजलाई अनुमोदन गरेको स्मरणमा मनाइँदै आएको हो । यस अवसरमा जारी सन्देशमा डा. बोहेमले सबै नागरिकले आर्थिक कठिनाइको सामना नगरी आवश्यक स्वास्थ्य सेवा पाउने सुनिश्चितता नै यूएचसीको मूल उद्देश्य रहेको उल्लेख गर्नुभएको छ ।
यस वर्षको यूएचसी दिवसको नारा ‘असफल स्वास्थ्य लागत ? हामी यसबाट थकित छौं !’ले स्वास्थ्य खर्चका कारण आम नागरिकले भोग्नुपरेको पीडा र असन्तुष्टि झल्काउने उहाँको भनाइ छ । उपचार खर्चका कारण मानिसहरूले हेरचाहमा ढिलाइ गर्नुपर्ने वा औषधि किन्नु कि खाना किन्नु भन्ने कठिन निर्णय लिनुपर्ने अवस्था स्वास्थ्य प्रणालीको असफलता भएको उहाँले बताउनुभयो । यस्ता अवस्थाले सामाजिक असमानता झनै गहिरो बनाउने र दिगो विकास लक्ष्य हासिल गर्न अवरोध सिर्जना गर्ने डब्ल्यूएचओको निष्कर्ष छ ।
डब्ल्यूएचओका अनुसार दक्षिण–पूर्वी एशिया क्षेत्रमा पछिल्ला वर्षहरूमा स्वास्थ्य कभरेजमा केही प्रगति देखिएको छ । सन् २०१० देखि २०२३ सम्म यस क्षेत्रको यूएचसी सेवा कभरेज सूचकांक ५३ बाट बढेर ६८ पुगेको छ । देशअनुसार यो सूचकांक ४६ देखि ८२ सम्म रहेको छ । यस्तै, घरायसी आम्दानीको ४० प्रतिशतभन्दा बढी स्वास्थ्यमा खर्च गर्नुपर्ने देखिएको डब्ल्यूएचओले उल्लेख गरेको छ । जनसंख्याको आधारमा सन् २०१० मा ३८.४ प्रतिशत रहेकोमा सन् २०२२ मा घटेर ३०.९ प्रतिशतमा झरेको तथ्यांक डब्ल्यूएचओले सार्वजनिक गरेको छ ।
तर, यो प्रगति २०३० सम्मका विश्वव्यापी यूएचसी लक्ष्य हासिल गर्न पर्याप्त नरहेको डब्ल्यूएचओको ठहर छ । तथ्यांकअनुसार ठूलो स्वास्थ्य खर्चका कारण गरिबीमा नपरे पनि आर्थिक कठिनाइ झेल्नुपर्ने जनसंख्या सन् २०१० मा ६.७ प्रतिशतबाट बढेर सन् २०२२ मा ८.६ प्रतिशत पुगेको छ । विशेषगरी गरिब, ग्रामीण र बहुपुस्तीय परिवारहरू औषधि र बाहिरी बिरामी सेवामा हुने उच्च खर्चका कारण बढी प्रभावित भएको देखिन्छ ।
डा. बोहेमले औषधि र खानाबीच छनोट गर्न बाध्य हुने वा एउटै गम्भीर रोगका कारण जीवनभरको सम्पत्ति गुम्ने अवस्था स्वास्थ्यभन्दा बाहिरको गम्भीर सामाजिक र आर्थिक संकट भएको उल्लेख गर्नुभयो । यस्तो अवस्थाले समानता, विकास र मानवीय मर्यादामै प्रश्न उठाउने डब्ल्यूएचओको भनाइ छ ।
यूएचसी दिवसका अवसरमा डब्ल्यूएचओले दक्षिण–पूर्वी एसियाली मुलुकहरूलाई स्वास्थ्य कभरेजमा तीव्र प्रगति गर्न पाँच प्रमुख क्षेत्रमा ध्यान दिन आग्रह गरेको छ । तीमध्ये कर–आधारित र अनिवार्य पूर्वभुक्तानी प्रणालीमार्फत सार्वजनिक वित्तपोषण सुदृढ बनाउने, प्राथमिक स्वास्थ्य सेवामा लगानी बढाउने, आवश्यक औषधि र निदानको निरन्तर उपलब्धता सुनिश्चित गर्ने तथा दक्ष स्वास्थ्य जनशक्ति विकास गर्ने प्रमुख छन् ।
यसैगरी, दीर्घकालीन हेरचाह र आपत्कालीन सेवासहित किफायती लाभ प्याकेजको सुनिश्चितता, प्रमाणमा आधारित प्राथमिकता निर्धारण, स्वास्थ्य प्रविधि मूल्याङ्कनको संस्थागत विकास, गरिब तथा जोखिममा परेकालाई लक्षित अनुदान र सामाजिक सुरक्षा कार्यक्रम विस्तार गर्न डब्ल्यूएचओले सुझाव दिएको छ । डिजिटल प्रविधि, एआई र नवप्रवर्तनको प्रयोगमार्फत स्वास्थ्य सेवाको समानता र दक्षता बढाउन पनि डब्ल्यूएचओले जोड दिएको छ ।
डब्ल्यूएचओले स्पष्ट पारेको छ कि गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच मात्र पर्याप्त होइन, आर्थिक विनाशबाट सुरक्षा नै विश्वव्यापी स्वास्थ्य कभरेजको पूर्णता हो । यूएचसी दिवसले सरकार र सरोकारवालालाई वित्तीय सुरक्षाका लागि साहसी र निर्णायक कदम चाल्न पुनः प्रतिबद्ध गराउने अपेक्षा डब्ल्यूएचओले गरेको छ ।











प्रतिक्रिया