ओलम्पिक सोलिडेरिटी टेक्निकल कोर्स सम्पन्न

उसु खेलको विकास नयाँ अध्यायको सुरुवात : जीवनराम श्रेष्ठ


काठमाडौं ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँगको सहकार्यमा ५ दिन चलेको ओलम्पिक सोलिडेरिटी राष्ट्रिय उसु प्रशिक्षक टेक्निकल कोर्स सम्पन्न भएको छ । 

अन्तर्राष्ट्रिय उसु जगतको इतिहासमै पहिलो पटक नेपालमा आयोजना भएको सो कोर्स काठमाडौँको  डल्लुस्थित अर्थ क्वीक मेमोरियल मल्टिप्रपोज कभर्डहलमा आइतबारबाट सुरु भएर बिहीबार सकिएको थियो । नेपाल उसु महासंघको आयोजनामा भएको सोलिडेरिटी राष्ट्रिय उसु प्रशिक्षक टेक्निकल कोर्सको उद्घाटन र समापन पूर्वमन्त्री एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले गरेका छन् । 

टेक्निकल कोर्समा सातप्रदेश र विभागीय टिम गरी  ६५ जना प्रशिक्षकहरु सहभागी भएको महासघंंका महासचिव ल्हाकपा छिरिङ लामाले जानकारी दिए । उसुको थाउलु विधाका प्रोफेसर लिन छाउमिन र सान्दाका एइ उईले प्रशिक्षण दिएका छन् ।

बिहीबार रोयल सिंगी होटलमा भएको कोर्सको समापन समारोहमा बोल्दै ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले खेलमा नतिजा कसरी आफ्नो पक्षमा पार्ने र अंक कसरी लिने विषयमा यस्तो कोर्स निकै महत्त्वपूर्ण भएको बताए ।

 सोलिडारिटी कोर्स गर्न विदेश गएर चर्को मूल्य तिर्नुपर्ने झन्झटबाट मुक्ति मिलेको उनले बताए । “यही कोर्स लिन विदेशमा जानुपर्‍यो भने एक जनाले ३-४ लाख जति खर्च गर्नुपर्छ । उनले भने,”नेपालमै यस्ता विदेशका महान् हस्ती एव विज्ञ ल्याएर सिकाइएको छ, यो ठूलो अवसर हो ।” टेक्निकल कोर्स लिइसकेपछि खेलाडीहरुको स्तर बढाउन प्रशिक्षकहरुले महत्त्वपूर्ण भूमिका खेल्ने हुने उनले बताए ।

उसु महासंघका महासचिव लाक्पा छिरिङ लामाले कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय उसु महासंघसँग समन्वय गरी नेपालमा कोर्स आयोजना गर्न सहयोग पुर्याएकोमा धन्यवाद दिए । जिल्ला समन्वय समिती काठमाण्डौंका प्रमुख सन्तोष बुढाथोकीले खेलको विकासका लागि स्थानीय तहले वर्षेनी एक डेढ करोड लगानी गरिरहेको बताउँदै काठमाडौंका ११ वटै पालिकासँग उसु खेल जोडिन आग्रह गरे । 

समापन समारोहमा बोल्दै उसुको थाउलु विधाका प्रोफेसर लिन छाउमिनले राम्रोसँग कोर्स समापन गराउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिइन् । उनले यो सिकाइको मद्दतबाट नेपालमा उसु खेलको विकास मात्र नभएर अन्तर्राष्ट्रिय जगतमा समेत यसले गतिलो प्रभाव पार्ने बताए । 

महासंघका अध्यक्ष वीर बहादुर तामाङले ५ दिने ओलम्पिक सोलिडेरिटी राष्ट्रिय उसु प्रशिक्षक टेक्निकल कोर्सले नेपाली उसु खेलको विकासमा नयाँ अध्याय थपेको बताए ।  

कोटा छुट्टाएपनि अन्तर्राष्ट्रिय उसु महासंघका विज्ञ द्वारा प्रशिक्षण दिईने भएको हुदा कोटा भन्दा बढि प्रशिक्षकहरु सहभागी भएको नेपाल उसु महासघका महासचिव लामाले बताए । ट्रेनिङ कोर्समा भारतबाट थाउलोमा २ जना तथा सान्दामा ४ जना गरी ६ जना प्रशिक्षक सहभागी भएको महासचिव लामाले बताए ।