
मण्डला थिएटर नेपालमा अहिले मञ्चन भइरहेको नाटक ‘मिलारेपा’ साधारण नाटक होइन, यो जीवनको गहिरो दर्शन बोकेको आध्यात्मिक यात्रा हो । कलाकार बुद्धि तामाङ र उमेश तामाङको उत्कृष्ट निर्देशनमा मञ्चित यो नाटक २०८२ कार्तिक १८ गतेदेखि मङ्सिर ३१ गतेसम्म निरन्तर प्रदर्शन भइरहेको छ ।
नाटकको मूल उद्देश्य दर्शकलाई केवल मनोरञ्जन दिने होइन, बरु नाटकको माध्यमबाट ‘जीवन, साधना, प्रायश्चित्त र आत्मज्ञान’ जस्ता मानवीय र दार्शनिक सत्यलाई अनुभूत गराउनु हो ।
नाटकको केन्द्रीय पात्र मिलारेपा एक यस्ता व्यक्तित्व हुन्, जसको जीवन अपराध, पीडा र पश्चात्तापबाट शुरू भई साधना, ज्ञान र मोक्षसम्म पुग्छ । उनी तिब्बती बौद्ध परम्पराका महान् योगी हुन्, जसले आफ्ना पापहरूलाई प्रायश्चित्त र साधनाद्वारा पवित्र बनाए । नाटकले मिलारेपाको जीवनमार्फत दर्शकलाई एउटा महान् सन्देश दिन्छ । कसैको जीवन सधैँ अन्धकारमै रहँदैन, गल्ती अन्त्य होइन र आत्मा सधैँ उद्धारयोग्य हुन्छ ।
नाटकले दर्शकलाई भित्रसम्म हल्लाउँछ, किनभने मिलारेपाको जीवन हाम्रो आफ्नै जीवनको प्रतिविम्ब हो, जहाँ अपराधबोध र पीडाको बीचमा पनि पुनर्जन्म र रूपान्तरणको सम्भावना छ । मिलारेपाको कथा केवल व्यक्तिगत संघर्ष होइन, आत्माको पुनर्जागरण हो । उनको कथाले देखाउँछ– ‘संघर्ष, पीडा र पश्चात्ताप’ नै आत्मशुद्धिका माध्यम हुन् । उनी एक साधक बने, जसले संसारिक मोह र पापबाट मुक्त भएर आत्मज्ञानको शिखर छुन सके ।
कलाकारहरूको अभिनय अत्यन्त सजीव, आत्मीय र गहिरो अनुभूतिपूर्ण छ । मिलारेपाको चरित्रमा देखिएको भावनात्मक गहिराइ, पीडाको अभिव्यक्ति र आत्मसाक्षात्कारको रूपान्तरणले दर्शकलाई नजिकबाट छोइदिन्छ । विशेष गरी, मिलारेपाको अपराधबोध र साधनाको दृश्यहरूले दर्शकलाई मौन बनाउँछन्, त्यो मौनता दुःखको होइन, आत्मचिन्तनको मौनता हो ।
पात्रहरूको धार्मिक र सांस्कृतिक पोशाकले तिब्बती जीवनशैली र बौद्ध परम्पराको अद्भुत झल्को दिन्छ । प्रत्येक दृश्यमा रंग, प्रकाश र ध्वनिको संयोजनले आध्यात्मिक वातावरण सिर्जना गरेको छ । बेला–बेलामा देखिने डाकिनीहरूले नाटकमा रहस्यमयता र अध्यात्मिकताको गहिरो अनुभव दिलाउँछन् ।
तर, समीक्षात्मक दृष्टिले हेर्दा केही पक्षमा अझ सुधार गर्न सकिने देखिन्छ । मिलारेपाले कालो जादुद्वारा गरेको विनाशको दृश्य, जहाँ उनले ८० जनाको हत्या गर्छन् र गाउँको बाली नष्ट गर्छन्, यदि अलिक विस्तारमा प्रस्तुत गरिएको भए, त्यो क्षणले दर्शकलाई अझ भावनात्मकरूपमा छुन सक्थ्यो । त्यसै गरी, पृष्ठभूमिमा प्रयोग गरिएका संगीत र धुनहरू कतै–कतै दृश्यसँग पूर्ण तालमेलमा नभएको देखिन्छ, जसले केही क्षणमा भावनाको प्रवाहमा हल्का अवरोध ल्याएको अनुभूति हुन्छ ।
नाटकको संवाद संरचना अत्यन्त सशक्त छ । प्रत्येक वाक्यमा आत्मबोधको ध्वनि छ र दर्शनको गहिरो भाव समाहित छ । संवादहरूले जीवनका गहिरा प्रश्नहरू सोध्छन्, ‘के पापले आत्मालाई सधैँ कलंकित बनाउँछ ?’ ‘के मुक्ति केवल सन्तका लागि मात्र हो ?’ यी प्रश्नहरू नाटकभर गुन्जिरहन्छन् र अन्ततः उत्तर मिल्छ, ‘प्रत्येक आत्मामा मुक्ति सम्भव छ, यदि उसले स्वीकार, पछुतो र साधनाको बाटो रोज्छ भने ।’
यदि संवादमा केही तिब्बती मौलिक शब्दहरूको प्रयोग गरिएको भए, नाटक अझ सांस्कृतिक र भावनात्मकरूपमा समृद्ध बन्न सक्थ्यो । तर, हालको रूपमै पनि भाषाको सन्तुलन, प्रतीकको प्रयोग र संवादको लय अत्यन्त प्रभावशाली छ ।
मिलारेपाको कथा आत्मपरीक्षणको यात्रा हो । बुबाको मृत्युपछि सम्पत्ति हरण, आमाको आँसु र अन्यायको पीडाले उनी कालो जादुमा प्रवेश गर्छन् । तर त्यो विनाशकारी बाटोले उनलाई गहिरो अपराधबोधमा पु¥याउँछ । यही अपराधबोधले उनलाई मुक्ति खोज्न बाध्य बनाउँछ ।
गुरु मार्पा लोचावासँगको भेट उनका जीवनको मोड हो । मार्पाले उनलाई ज्ञानको बाटोमा तुरुन्तै होइन, कठिन परीक्षा र पीडामार्फत अघि बढाउँछन् । उनीबाट विशाल भवन बनाउँछन् र फेरि भत्काउँछन्, ताकि मिलारेपाले अहंकार, क्रोध र आशक्तिबाट पूर्णरूपमा मुक्त हुन सकून् । अन्ततः गुरुबाट तन्त्र र ध्यानको ज्ञान पाएपछि थोपागा ‘मिलारेपा’ बन्छन्– आत्मज्ञानको प्रतीक । गुफामा उनले ११ महिना ध्यान गर्छन् ।
केवल बिच्छू बूटी खाएर जीवनयापन गर्छन् । बरफिलो गुफामा वस्त्रविहीन बस्ने उनको साधनाले शारीरिक सीमालाई मात्र होइन, मानसिक सीमालाई पनि जितेको प्रतीक बनाउँछ । नाटकको अन्त्यमा मिलारेपा जब कैलाश पर्वतमा पुग्छन्, त्यो क्षण प्रतीकात्मकरूपमा अत्यन्त अर्थपूर्ण छ । त्यो केवल भौतिक शिखर होइन, आत्मज्ञानको शिखर हो । उनलाई महसुस हुन्छ– कैलाश सबैका लागि होइन, यो तिनीहरूको लागि हो जसले आत्मा शुद्ध पार्न सकेका छन् । त्यसपछि उनले मानिसहरूलाई सन्देश दिन्छन्– ‘कैलाश बाहिर होइन, त्यो तिमीभित्रै छ ।’ यो सन्देशले नाटकको सम्पूर्ण मर्म उजागर गर्छ– जीवनको अर्थ बाह्य सिद्धिमा होइन, आन्तरिक रूपान्तरणमा छ ।
‘मिलारेपा’ केवल नाटक होइन, यो आत्मजागरणको अनुभव हो । यसले दर्शकलाई मनोरञ्जन मात्र होइन, आत्मसंवादको यात्रा गर्न प्रेरित गर्छ । नाटकले भन्छ, ‘जीवनमा गल्ती गर्नु अपराध होइन, तर त्यस गल्तीलाई नस्वीकार्नु अपराध हो ।’ दर्शक हलबाट निस्कँदा मौन हुन्छन्, तर त्यो मौनता गहिरो हुन्छ, सोच्न, बुझ्न र आफ्नै जीवनलाई पुनर्मूल्याङ्कन गर्न बाध्य पार्ने मौनता । यस नाटकले हामी सबैलाई सम्झाउँछ, ‘प्रत्येक आत्मामा मुक्ति सम्भव छ, यदि त्यसले आफ्नो अन्धकारलाई स्वीकार गर्न र उज्यालोतर्फ अघि बढ्न साहस गर्छ भने ।’ मिलारेपा एउटा प्रेरणा हो, एउटा चेतना हो, जीवनका हरेक पतनपछि पनि पुनरुत्थान सम्भव छ भन्ने आशाको नाटक । मण्डला थिएटरको यो प्रस्तुति नेपाली रंगमञ्चमा एक आध्यात्मिक र सांस्कृतिक सम्पदाको रूपमा सधैँ सम्झिरहिनेछ ।
(लेखक जोशी स्वतन्त्र अनुसन्धानकर्ता हुनुहुन्छ ।)











प्रतिक्रिया