एनपएिल २ को फाइनल पुग्न लुम्बिनीले विराटनगरको सामना गर्ने


काठमाडौं।

नेपाल प्रिमियर लिगअन्तर्गत् इलिमेनाटर खेल जित्दै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा खेल्ने पक्का गरेको छ ।
बुधबार त्रिवि रंगशालामा भएको खेलमा लुम्बिनीले काठमाडौं गोर्खाजलाई ४ विकेटले हराएको हो । यो नतिजापछि काठमाडौं प्रतियोगिताबाट बाहिरियो भने लुम्बिनीले फाइनलमा पुग्न विराटनगर किंग्सविरुद्ध खेल्नेछ ।

विराटनगर र लुम्बिनीबीचको खेलको विजेता टोलीले शनिबार हुने फाइनलमा सुदूरपश्चिम रोयल्ससँग खेल्ने तय गर्नेछ । यसअघि सुदूरले विराटनगरलाई हराएको थियो ।

लुम्बिनीको लगातार चौथो जित

प्रतियोगिताको पहिलो खेलमा जित हासिल गरेको लुम्बिनीले त्यसपछि लगातार तीन खेल हार्दा प्रतियोगिताबाटै बाहिरिने संभावनामा परेको थियो । तर, यसपछि तीन खेलमा लगातार जितेर प्लेअफमा स्थान बनाएको रोहितको टोलीले प्लेअफमा काठमाडौंलाई पनि हराउन सफल भयो । योसँगैं लु्म्बिनीले लगातार चौथो जित हासिल गरेको हो ।

पहिले ब्याटिङ गरेको काठमाडौंका ब्याटरहरूले लुम्बिनीका बलरविरुद्ध खुलेर खेल्नै सकेनन् । कोही ब्याटर पनि क्रिजमा लामो समयसम्म टिकेनन् । टोलीका लागि चार जना ब्याटरले मात्रै दोहोरो अंकमा रन बनाए । अन्यको उल्लेखनीय योगदान हुन नसक्दा काठमाडौं १९.१ ओभरमा १ सय ११ रनमै समेटिएको थियो ।
काठमाडौंका लागि सन्तोष यादवले सर्वाधिक २३ रनको योगदान दिएका थिए । जोन सिम्पसन र मोहमद आदिल आलमले समान १८ रन जोडे भने भिम सार्कीले १४ रन बनाएका थिए ।

काठमाडौंको ब्याटिङ ध्वस्त बनाउन लुम्बिनीका बलरमा कप्तान रोहित पौडेल र शेर मल्लले ३–३ विकेट लिए । यस्तै, रुबेन ट्रम्पलम्यानले २ तथा अभिषेस गौतमले १ विकेट लिए । एक जना ब्याटर रनआउट भएका थिए ।
लुम्बिनीका लायन्स अन्तिममा धर्मरायो

काठमाडौंले १ सय १२ रनको सामान्य चुनौती दिएपनि लुम्बिनीले त्यसलाई पाउन १८ ओभरसम्म संघर्ष गर्नु परेको थियो । लुम्बिनीले १२ ओभरसम्म ३ विकेट गुमाएर ६७ रन बनाएको थियो । चौथो विकेटका लागि २९ रनको साझेदारी भयो ।

जब सन्दीप जोरा पभेलियन फर्के त्यसपछि भने लुम्बिनीको ब्याटिङ धर्मराउन पुगेको थियो । १७ औं ओभरमा २ विकेट र १८ औं ओभरमा १ विकेट गुमाएको लुम्बिनीले अन्ततः खेल १७.४ ओभरमा जितेको थियो । टोलीका लागि डार्सी शर्टले सर्वाधिक ३३ रन बनाए भने सन्दीप जोराले २३ रनको योगदान दिए । यस्तै, रोहितले १८ रन बनाए । काठमाडौंका लागि सन्तोष यादवले सर्वाधिक २ विकेट लिएका थिए ।