बंगलादेश र अर्जेन्टिनाले बराबरी खेले


ढाका, (एजेन्सी)

बंगलादेशमा जारी ‘ल्याटिन–बंगाल च्याम्पियन्स कप’ फुटबल प्रतियोगितामा अर्जेन्टिनी क्लबको युवा टोली आयोजक राष्ट्र बंगलादेशको यू–२० राष्ट्रिय टोलीसँग पराजित हुनबाट मुस्किलले जोगिएको छ ।

सोमवार राति ढाकास्थित राष्ट्रिय स्टेडियममा भएको प्रतियोगिताको रोमाञ्चक तथा प्रतिस्पर्धात्मक दोस्रो खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो । दुवै टोलीले पहिलो हाफमा नै १–१ गोल गरेका थिए । खेलको चौथो मिनेटमा बंगलादेशका लागि मासुद रानाले गोल गरे भने अर्जेन्टिनाका लागि अनामले जवाफी गोल फर्काएका थिए । तनावपूर्ण खेलको दोस्रो हाफमा भने दुवै टोलीका खेलाडीहरूबीच ठूलो झडप भएको थियो । जसका कारण दुवै टोलीका एक–एक खेलाडीले रातो कार्ड पाएका थिए ।

डिसेम्बर ५ देखि ११ सम्म चल्ने ल्याटिन–बंगाल च्याम्पियन्स कप २०२५ एक अन्तर्राष्ट्रिय युवा फुटबल प्रतियोगिता हो जसको नारा ‘जहाँ जादु हुन्छ’ (व्हेर द म्याजिक ह्यापेन्स) रहेको छ । बंगलादेश फुटबल महासंघले एएफ बक्सिङ प्रमोसन इन्टरनेशनल लिमिटेडसँगको सहकार्यमा आयोजना गरेको यो प्रतियोगिताले ल्याटिन अमेरिकी फुटबलको उत्कृष्टतालाई बंगलादेशको बढ्दो फुटबल संस्कृतिसँग जोड्दै युवा खेलाडीलाई अन्तर्राष्ट्रिय अवसर दिनु यसको मुख्य उद्देश्य हो । यो प्रतियोगिता त्रि–राष्ट्रिय स्वरूपमा साधारण राउन्ड–रोबिन ढाँचामा सञ्चालित छ ।

यसमा बंगलादेशको यू–२० राष्ट्रिय टोली आयोजकका रूपमा रहेको छ भने अर्जेन्टिनाबाट एट्लेटिको चार्लोन एफसी यू–२० र ब्राजिलबाट साओ बर्नान्डो एफसी यू–२० क्लबका युवा टोलीहरू पाहुना टोलीका रूपमा सहभागी छन् । यद्यपि, यी क्लबहरूले क्लबको जर्सीको सट्टा राष्ट्रिय जर्सी लगाएर खेलिरहेकाले उनीहरू राष्ट्रिय टोली जस्ता देखिन्छन् । तर, वास्तवमा यी क्लबका युवा टोलीहरू हुन् । यी टोलीहरूबाट बंगलादेशी खेलाडीहरूले ल्याटिन अमेरिकी शैलीको आक्रामक र प्राविधिक फुटबल सिक्ने अपेक्षा गरिएको छ ।