काठमाडौं ।
दुबईमा जारी आईबीए विश्व बक्सिंग च्याम्पियनशिपमा नेपालका बक्सरद्वय चन्द्रबहादुर थापा र लालप्रसाद उप्रेती क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
प्रतियोगिता अन्तर्गत मंगलवार भएको पुरुष ५१-५४ केजी (वेन्टम वेट) तौल समूहको अन्तिम १६ को भिडन्तमा थापाले विश्व वरीयताको छैटौं स्थान प्राप्त अर्मेनिया मुक्केबाज डेभिट एगोर्यानलाई स्प्लिट डिसिजनको आधारमा ४-० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेका हुन । यसअघि चन्द्रले इन्डोनेसियाका मासिहोर योसुए होलीलाई ५-० ले हराएर अन्तिम १६ मा प्रवेश पाएका थिए । यो जितसँगै नेपाली बक्सिंग इतिहासमा पहिलोपटक नेपालका दुईजना मुक्केबाज विश्व बक्सिंग च्याम्पियनशिप जस्तो विश्वस्तरको प्रतियोगिताको अन्तिम आठमा प्रवेश गर्न सफल भएका छन् ।
यसअघि सोमबार राति भएको अन्तिम १६ अन्तर्गत पुरुष ईलाइट ४६-४८ तौल समूहको भिडन्तमा अर्का नेपाली बक्सर लालप्रसाद उप्रेतीले पनि माल्दोभाका बक्सर पोरोमबाक मिहाइलाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएका हुन । त्यसअघि लालप्रसादले राउन्ड अफ ३२ मा इथियोपियाका अलेमु अबेललाई हराएका थिए । अब क्वार्टरफाइनलमा लालप्रसादले जुसुपोभ तेमिर्टासलाई चुनौती प्रस्तुत गर्ने नेपाली टोलीका प्रशिक्षक दीपक महर्जनले जानकारी गराएका छन् ।
नेपालका पाँच बक्सर यस प्रतियोगितामा सहभागी छन् । यो च्याम्पियनसिप अहिलेसम्मको सर्वाधिक पुरस्कार राशिको प्रतिस्पर्धा हो । शीर्ष तीन स्थान प्राप्त गर्ने बक्सरले क्रमशः तीन लाख, एक लाख ५० हजार र ७५ हजार अमेरिकी डलर नगद पुरस्कार पाउनेछन् ।











प्रतिक्रिया