लन्डन, (एजेन्सी)
स्पेनिस फुटबलको महारथी क्लब रियल मेड्रिडले ला लिगा अन्तर्गत आइतबार राति आफ्नै घरेलु मैदान सान्टियागो बेर्नाबेउमा सेल्टा भिगोसँग २–० को अप्रत्यासित हार बेहोरेको छ ।
यो हार रियलका लागि दोहोरो धक्का बन्यो, किनकि यस हप्ता रियलले शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको अंक दूरी घटाउने महत्वपूर्ण अवसर पनि गुमाएको छ । खेल रियलका लागि सुरुदेखि नै चुनौतीपूर्ण बन्यो । खेलको २४औँ मिनेटमा नै डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिएपछि टोलीको रक्षापक्ति कमजोर बन्यो । पहिलो हाफमा किलियन एमबाप्पे र भिनिसियसले गोलका केही अवसर बनाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन् ।
दोस्रो हाफको ४८औँ मिनेटमा सेल्टा भिगोका विलट स्वेडबर्गले बायरान सारागोजाको क्रसलाई गोलमा परिणत गर्दै अग्रता दिलाए । त्यसपछि रियलको समस्या झन् बढ्यो । खेलको ६१औँ र ६२औँ मिनेटमा डिफेन्डर फ्रान गार्सियाले लगातार दुई पहेंलो कार्ड पाउँदै मैदान छाडेपछि रियल १० खेलाडीमा सीमित भयो र अवस्था झनै बिग्रियो । इन्जुरी समयको चौथो मिनेटमा अल्भारो करेरासले रेफ्रीसँग विरोध गर्दा रातो कार्ड पाए र रियल ९ खेलाडीमा सिमित हुन पुग्यो ।
त्यसको एक मिनेटपछि इन्जुरी समयको पाँचौं मिनेटमा इआगो अस्पासले दिएको थ्रुबलमा स्वेडबर्गले आफ्नो दोस्रो व्यक्तिगत गोल गर्दै सेल्टा भिगोलाई २–० को जित दिलाए । यो पराजयसँगै रियल शीर्ष स्थानको बार्सिलोनाभन्दा ४ अंकले पछाडि परेको छ । यस जितले सेल्टा भिगोलाई भने १९ अंकसहित लिग तालिकामा सुधार ल्याउन मद्दत पुगेको छ ।











प्रतिक्रिया