काठमाडौं।
अर्थमन्त्री रामेश्वर खनालले जेन–जी आन्दोलनले उठाएका मुद्दाहरू भ्रष्टाचारविरुद्ध र सुशासनको ग्यारेन्टीसँग जोडिएको बताउँदै निजी क्षेत्रमाथिको आक्रमण अर्थतन्त्रका लागि हानिकारक भएको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले निजी क्षेत्रले निर्माण गरेको संरचना जनताको साझा सम्पत्ति भएको समेत बताउनुभयो । विधि ठिक भएन भने सुधार गर्न सकिन्छ तर सही मान्छेमाथि गलत कदम चालियो भने निरुत्साहित हुनेसमेत अर्थमन्त्रीको भनाइ छ ।
त्यस्तै नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले धितो बिक्रीमार्फत अनैतिक लाभ लिन खोज्नु ‘पार्ट अफ करप्सन’ भएको भन्दै राष्ट्र बैंकले यसलाई गम्भीर रूपमा लिएको बताउनुभयो । गभर्नर पौडेलले मौद्रिक नीतिमा परिमार्जन गरी वित्तीय संस्थालाई नाफा बढाउन सहज बनाइएको भन्दै बैंक तथा वित्तीय संस्थामा थुप्रिएको पैसा लगानीमा लैजानेतर्फ राष्ट्र बैंक केन्द्रित रहेको बताउनुभयो । त्यस्तै लगानी बोर्डका सीईओ सुशील ज्ञवालीले नेपालप्रति विदेशी लगानीकर्ताको चासो निरन्तर बढिरहेको भन्दै १७ सय अर्ब बराबरका प्रोजेक्ट पाइपलाइनमा रहेको जानकारी दिनुभयो । जेन–जी आन्दोलनपछि लगानीको वातावरण सुधारोन्मुख रहेको उहाँको भनाइ छ । कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले एआई प्रविधिको प्रभावले पत्रकारिताका सामग्रीको मूल्य घट्दै गएको भन्दै पत्रकारिता क्षेत्र अनिश्चितताको मोडमा पुगेको र विश्वसनीयतामा चुनौती बढेको उल्लेख गर्नुभयो ।
उक्त कार्यक्रममा निजी क्षेत्रका पदाधिकारीले सरकार र निजी क्षेत्रबीच विश्वास, समन्वय र सहकार्यबिना अर्थतन्त्र उकासिन नसक्ने साझा निष्कर्ष प्रस्तुत गरेका थिए । निजी क्षेत्रले सरकारलाई पुँजीगत खर्च बढाउन, बजेट कार्यान्वयनमा कडाइ अपनाउन, आर्थिक मुद्दालाई राजनीतिक एजेन्डाभन्दा प्राथमिकता दिन सुझावसमेत दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र निजी क्षेत्र एकसाथ नबढे अर्थतन्त्र अघि नबढ्ने धारणा राख्नुभयो । चेम्बर अफ कमर्सका अध्यक्ष कमलेस अग्रवालले निजी क्षेत्र अर्थतन्त्रको ‘मुहान’ भएको उल्लेख गर्दै संरक्षण संवद्र्धनमा जोड दिनुभयो । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले बैंकहरूमा लगानी योग्य रकम स्थिर हुनु अहिलेको सबैभन्दा ठूलो चुनौती रहेको धारणा राख्नुभयो ।
साधारणसभामा तीन जना आर्थिक पत्रकार पुरस्कृत भएका छन् । ‘शारदा–ढुण्डीराज नाफिज आर्थिक पत्रकारिता पुरस्कार २०८२’ रवीन पौडेल, ‘सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार’ कमला भण्डारी र ‘सिबिफिन–नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ अम्बिका शर्माले प्राप्त गरेका छन् । साथै श्रवणकुमार अग्रवाल नाफिज फेलोसिप यम बमले प्राप्त गरे ।











प्रतिक्रिया