शंकर पोखरेल : विचारलाई–व्यवहारमा रुपान्तरण गर्ने नेतृत्व

5.45k
Shares

शंकर पोखरेल विचारलाई नीतिमा र नीतिलाई कार्यान्वयनमा रूपान्तरण गर्नसक्ने दुर्लभ नेता हुनुहुन्छ । बहुदलीय जनवादको व्यवहारिक अभ्यास, विचार स्पष्टता, विवाद व्यवस्थापन र परिणाममुखी सङ्गठन निर्माणमा उहाँको क्षमता अद्वितीय छ ।

किशोर दृष्टिमा शंकर पोखरेल

शंकर पोखरेललाई मैले पहिलो पटक २०४८ सालमा, दिपेन्द्र सभागृह पोखराको भीडभाडमा देखेको थिएँ । अनेरास्ववियुको एघारौँ राष्ट्रिय महाधिवेशन चलिरहेको थियो । महाधिवेशनको बन्द–शत्रमा उत्साहित र नयाँ माहौलमा प्रवेश गरेको १७ वर्षे प्रतिनिधि थिएँ म—सायद सबैभन्दा कान्छो प्रतिनिधिमा पर्थेँ ।

सभा हलको बीचतिर मेरो नजर पुग्दा, पातलो शरीर र अग्लो कदका शंकर पोखरेल मञ्चमा उभिनुभएको थियो । म उहाँको शारीरिक बनावट र सादगीपूर्ण उपस्थितिबाट मात्र आकर्षित भएँ तर केही क्षणमै त्यो आकर्षण व्यक्तित्व भन्दा उहाँको आवाज र ऊर्जातिर गहिरिँदै गएँ म । राजनीतिक प्रतिवेदन वाचन गर्न उहाँले माइक समात्नासाथ हल एकाएक तर्सिएको जस्तो भयो । तीक्ष्ण, स्पष्ट र कमान्डिङ आवाज—जसले हलको हरेक कुनालाई भरिदियो । अनुभवी नेताको जस्तै दृढता, तर युवाहरूका भावनासँग नजिकको भाषा—दुवै मिसिएको त्यो प्रस्तुतिमा मैले एक प्रकारको “ऊर्जा“ महसुस गरेँ ।

१७ वर्षको उमेरमा राजनीतिक जटिलता कति बुझ्थेँ र ? धेरै हुँदैन तर मञ्चमा उभिएको त्यो व्यक्तिले प्रतिनिधिहरूको मन बुझेर बोलिरहेको अनुभूति भने सबले पाएका थिए । उहाँका वाक्यहरू बीच–बीचमा सभाहल तालीले गुञ्जिन्थ्यो । म पनि भीडसँगै ताली बजाउँथेँ—तर किन ? कुन बिन्दुमा ? त्यो थाहा नहुने तर एक कुरा पक्का थियो, ती तालीहरू उहाँप्रति बढ्दो विश्वास र आकर्षणका प्रतिबिम्व थिए ।

त्यो दिनको त्यो क्षण, एउटा किशोर प्रतिनिधिका आँखामा शंकर पोखरेल केवल मञ्चमा उभिएका नेता मात्र नभई उहाँ उर्जा, दृढता र सम्भावनाको एउटा नयाँ फ्रेममा बसेको पात्र बन्नु भयो ।

हल थाम्ने अदृश्य कमाण्ड

बन्दशत्र चलिरहेको थियो । प्रतिनिधिहरू बेलाबेला होहल्ला गर्थे, हात उठाएर विरोध जनाउँथे, बैठकको कार्यसूची अघि बढाउन खोज्ने सञ्चालक बारम्बार “हल्ला नगर्नुस्, आ–आफ्नो ठाउँमा बस्नुस्” भनेर अनुरोध गरिरहन्थे तर ती आग्रहहरू क्षणभरमै ध्वनिमा हराउँथे, हल फेरि उस्तै आवाजले गुञ्जिन्थ्यो । यही बीच, एक क्षण यस्तो आउँथ्यो—सञ्चालकले माइक शंकर पोखरेलतिर बढाइदिने ।

उहाँले माइक समात्नासाथ हलको आरोह–अवरोह एकाएक न्यून हुँदै जान्थ्यो । केही प्रतिनिधि अझै फुसफुसाउन खोजे पनि, केही वाक्य बोलेपछि हल आश्चर्यजनक रूपमा शान्त हुन्थ्यो । त्यो बेला, १७ वर्षका आँखा–कानले मैले त्यो “शान्त हुने विज्ञान” बुझ्न सकिनँ ।

किन शंकर पोखरेल बोल्दा होहल्ला पानीमा ढुङ्गा खसेजस्तो एकाएक थामिन्थ्यो ? किन प्रतिनिधिहरू उहाँको दुई–चार वाक्य सुन्न मात्र होइन, समर्थन गर्न तयार हुन्थे ? ती उत्तरहरू उमेरसँगै परिपक्व हुँदै गए । आज बुझ्न सकिन्छ—नेतृत्वको क्षमता, तार्किक ढङ्गले कुरा राख्ने कौशल र प्रतिनिधिहरूको मनमा रहेको विश्वास—यिनै संयोजनले हललाई शान्त बनाउँथ्यो ।

तीन दशकपछि पनि उही सरलता, उही दृढता

३२ वर्ष बिते । राजनीति बदलियो । समय बद्लियो । पद बदलिए—तर शंकर पोखरेलको मूल स्वभाव भने उही रहेछ । कम बोल्ने, कामलाई प्राथमिकता दिने, दृढ इच्छाशक्तिले भरिएको व्यक्तित्व ।

धेरैलाई सुरुमा उहाँ केही गम्भीर र दूरीमा रहेजस्तो लाग्न सक्छ । कतिपयले झट्ट हेर्दा “घमण्डी त होइन ?” भन्ने भ्रम पाल्न सक्छन् तर एकपटक संवाद सुरु भयो भने त्यो सबै भ्रम पानीझैँ बगेर जान्छ ।

कम बोल्नु उहाँको घमण्ड होइन—त्यो उहाँको स्वभाव, व्यक्तित्वको धरातल हो । उहाँ न सुखमा मातिने नेता हुन्, न दुःखमा आत्तिने । राजनीतिक यात्राभर एकनासको स्थिरता—यही उहाँको पहिचानजस्तै लाग्छ ।

अखिल आन्दोलनदेखि सरकारसम्मको यात्रा

शंकर पोखरेलको राजनीतिक यात्रा सहज थियो भन्न मिल्दैन तर निरन्तर र उद्देश्यपूर्ण अवश्य थियो ।
विद्यार्थी राजनीति हुँदै अघि बढ्दा भारत (प्रवास) मै बसेर विद्यार्थी आन्दोलनमा सक्रिय हुनु—त्यसले उहाँलाई विचारको कठोरता मात्र होइन, जिम्मेवारीको गहिराइ पनि सिकाएको देखिन्छ ।

नेपाल फर्किएपछि त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति बन्नु, त्यसपछि अखिल (अनेरास्ववियु) को अध्यक्षतासम्मको नेतृत्व—उहाँको राजनीतिक धरातल यही बलियो बन्दै गयो । त्यसपछि पार्टीको केन्द्रीय सदस्य, सचिव हुँदै महासचिव ।

३२ वर्षे युवावस्थामा प्रतिनिधि सभा सदस्य, संविधान सभा सदस्य अनि सञ्चारमन्त्री, लुम्बिनी प्रदेशको संस्थापक मुख्यमन्त्री । तीन दशक बिते । यस बिचमा पद बदलिँदै गए तर उहाँको कार्यशैली उही, उस्तै—शान्त, धैर्यशील अनि परिणाममुखी ।

जनतासँग ‘नेतृत्वको आत्मा’ जोड्न लागेको अभियान

दशौं महाधिवेशनबाट महासचिवमा सर्वसम्मत निर्वाचित भएसँगै पार्टीलाई जीवन्त बनाउन उहाँले अगाडि सारेका कार्यक्रमले प्रमाणित गरिदिए–शंकर पोखरेलसँग क्षमताको खानी छ । मिशन–ग्रासरुटदेखि जरा अभियान, सङ्कल्प यात्रादेखि हुलाकी राजमार्ग केन्द्रीत यात्रासम्मका कार्यक्रमले पार्टीलाई जनतासँग जोड्ने प्रयास मात्र गरेन, पार्टीको वास्तविक स्थिति भुइँस्तरमै बुझेपछि सुधार सम्भव हुन्छ भन्ने विश्वासको प्रतिरूप थियो ।

स्थानीय तह, भुइँस्तरका प्रतिनिधि, साधारण कार्यकर्ता—सबैसँग प्रत्यक्ष संवाद गर्दै उहाँले पार्टीभित्रको वास्तविक मनोमास्थिति सुन्ने र बुझ्ने काम गर्नुभयो । यो शैली वर्तमान राजनीतिमा दुर्लभजस्तै छ—कसैले नेतृत्व उपस्थिति देखाउन भीड तयार गर्छन् तर उहाँ भीडमा गएर जनताको आवाज सुन्छन् ।

३२ वर्षअघिको त्यो बन्द–शत्रका दृश्यहरू, हलमा भइरहने होहल्ला र माइक समात्नेबित्तिकै शान्त पारिदिने आवाज–आज ती सबै स्मृतिहरू फिर्ता आउँदा एक कुरा स्पष्ट हुन्छ–शंकर पोखरेलको नेतृत्व ‘दबाब’ होइन, ‘विश्वास’ बाट जन्मिएको हो । बाल्य–उमेरका आँखाले नबुझेको कुरा आज प्रस्ट देखिँदै जान्छ–उहाँका शब्दभन्दा धेरै बोल्छ–उहाँको कार्यशैली, धैर्यता, सरलता अनि निरन्तरता ।

शंकर पोखरेलको बौद्धिक क्षमताले पार्टीभित्रका शीर्ष नेताहरूलाई सधैँ प्रभावित पारेको देखिन्छ । पुराना नेताहरू आज पनि सम्झन्छन्–डकमेन्ट तयार गर्ने जटिल र जिम्मेवारीपूर्ण कामहरूमा अक्सर पोखरेललाई नै जिम्मा दिइन्थ्यो । तत्कालीन महासचिव मदन भण्डारी स्वयं पनि उहाँप्रति उच्च सम्मान व्यक्त गर्नुहुन्थ्यो भन्ने कुरा सुन्न सकिन्छ । अनेकौं नेताहरूका कथनमा एउटै भाव दोहोरिन्छ–“मदन दाइले नै शंकर पोखरेललाई एमालेको भावी महासचिवको हैसियतले हेर्नुभएको थियो ।”

कम उमेरमै देखिएको बौद्धिक पकड, विश्लेषणात्मक सोच र तर्कलाई स्पष्ट रूपमा प्रस्तुत गर्ने क्षमता–यी सबैले पार्टीका जेष्ठ नेताहरूलाई अचम्मित तुल्याइदिने गर्थे । २०५१ सालमा एमाले नेतृत्वको अल्पमत सरकारबाट प्रस्तुत गरिएको ‘नौ बुँदे कार्यक्रम’–जसले सरकारको नीति–दिशालाई परिभाषित ग¥यो, त्यसको मूल परिकल्पनाकारहरूमध्ये शंकर पोखरेल पनि एक हुनुहुन्थ्यो । राजनीतिक अनुभवीहरूले भन्छन्, “उमेरले युवा तर सोचले परिपक्व”, त्यो समय नै उहाँको बुद्धिमत्ता र दूरदृष्टिको पहिलो ठूला प्रमाण थियो ।

आजको अस्थिर र असन्तुलित लाग्ने राष्ट्रिय राजनीतिमा पनि देशलाई सही दिशातिर डो¥याउन सक्ने क्षमतामा शंकर पोखरेल अब्बल देखा पर्नुहुन्छ । निर्णय क्षमता, परिस्थितिको बुझाइ र दीर्घदृष्टिले राजनीति हेर्ने दृष्टिकोण, यी कारणले उहाँको नेतृत्व अहिले पनि आवश्यक जस्तो लाग्छ । शक्तिमा हुँदा न मातिने र शक्ति बाहिर हुँदा न आत्तिने उहाँको स्वभाव राजनीतिक संस्कारको एउटा सशक्त उदाहरण हो । पदीय उतारचढावले उहाँको कार्य–शैली कहिल्यै बदलिएको देखिँदैन; चाहे जिम्मेवारीका केन्द्रमा हुनुहोस् वा त्यसबाट बाहिर–उहाँ निरन्तर, एकनास र परिणाममुखी ढङ्गले काम गर्नेतिरै उन्मुख रहनुभयो ।

काममा विश्वास गर्ने भएकाले उहाँ कार्यकर्तामाथि पनि त्यही अपेक्षा राख्नुहुन्छ–काम गर्ने, जिम्मेवारी पूरा गर्ने र परिणाम देखाउने । यही दृढताका कारण कतिपयले उहाँलाई “कडा” भन्लान्, तर त्यस कडाइभित्र कुनै व्यक्तिगत पूर्वाग्रह वा गुटगत स्वार्थ छैन । बरु जिम्मेवारीप्रति उत्तरदायित्व र संगठनलाई बलियो बनाउने चाहना मात्रै छ । काम नगर्ने, बहाना बनाउने वा जिम्मेवारीबाट पन्छिन खोज्नेहरूले मात्र उहाँलाई आरोप लगाउन सक्छन् तर ती आरोपभन्दा धेरै बलियो प्रमाण उहाँको निरन्तरता, निष्पक्षता र संगठनप्रतिको समर्पण हो ।

विचार निर्माणदेखि कार्यान्वयनसम्म : पोखरेल नेतृत्व–गहिराइ

शंकर पोखरेल त्यस्ता नेता हुनुहुन्छ, जो विचारलाई केवल कागजका पानामा सीमित राख्नुहुन्न । उहाँ ती विचारलाई नीति बनाउनुहुन्छ र नीतिलाई कार्यान्वयन गर्नुहुन्छ । आजको नेपाली राजनीतिमा यस्ता नेताहरू दुर्लभ छन् । जनताको बहुदलीय जनवादलाई व्यवहारमा रूपान्तरित गर्दै अघि बढ्नुपर्ने कुरा उहाँका कैयौँ लेख, विश्लेषण र नीतिगत संरचनामा स्पष्टसँग देखिन्छ । यही विचारधारात्मक जगमा उभिएर पोखरेलले पार्टीभित्र विचार स्पष्टता स्थापित गर्ने, विवाद व्यवस्थापन गर्ने र संगठनलाई परिणाममुखी दिशातर्फ डो¥याउने अद्वितीय क्षमता प्रदर्शन गर्दै आएका छन् ।

मैले यसअघि पनि उल्लेख गरिसकेको छु–उहाँ राजनीतिक अशान्तिका कठोर क्षणहरूमा समेत संयमित निर्णय गर्नुपर्ने मान्यता राख्नुहुन्छ । सुखले नमात्तिने, दुःखले नआत्तिने, दवाव, आलोचना र चुनौतीका बीच पनि मानसिक परिपक्वता कायम राख्ने नेतृत्व—यही कारणले शंकर पोखरेललाई चिनिन्छ । उहाँको सोच भावनात्मक भन्दा पनि वैज्ञानिक छ, तथ्य र तर्कमा आधारित विश्लेषण गर्ने शैलीले नै लुम्बिनी प्रदेशमा सुशासनको एक उल्लेखनीय मोडेल निर्माण गर्न सफल बनायो ।

लुम्बिनी प्रदेशको शासनकाल अझै ताजै छ–सतप्रतिशत पूँजीगत खर्च, शून्य अनियमितता, आर्थिक पारदर्शिता र प्रशासनिक संयन्त्रको सुव्यवस्थित सञ्चालन । जब देशका अन्य प्रदेशहरू पूँजीगत खर्चमै पछि परिरहेका थिए, त्यही बेला सीमित स्रोतसाधनका बीच लुम्बिनीलाई ‘नमुना प्रदेश’ बनाउने उपलब्धि आफैमा एक गहिरो राजनीतिक–प्रशासनिक क्षमता हो । यिनै कारणले, भविष्यमा उहाँले राजकीय जिम्मेवारी सम्हाल्दा देशको विकास गति लिने कुरामा कुनै द्विविधा रहँदैन ।

शंकर पोखरेल नेपाली राजनीतिमा ‘त्रिकोणीय समझ’ राख्ने दुर्लभ नेतामध्ये पर्नुहुन्छ–विचार, संगठन र सरकार–यी तीनै तहलाई एकैधारमा बाँधेर अघि बढ्नसक्ने क्षमता । यही कारण आम जनतामा उहाँप्रति आशा छ कि नेपाललाई सही बाटोमा डो¥याएर समुन्नतिको दिशातर्फ अघि बढाउन सक्ने नेतामा उहाँ अग्रपंक्तिमा उभिनुहुन्छ । शक्ति सङ्कलनमा होइन, संरचना निर्माणमा विश्वास राख्ने भएकाले उहाँ राजनीतिक संवादमा कम शब्द खर्च गर्नुहुन्छ तर प्रयोग भएका ती थोरै शब्द अत्यन्त प्रभावकारी हुन्छन् ।

महासचिवमा निर्वाचित भएसँगै उहाँले युवालाई प्रशिक्षण, अनुशासन र नैतिकताद्वारा नेतृत्व–क्षमतामा उभ्याउनुपर्ने मान्यताअनुसार पार्टीभित्र विभिन्न अभियान सञ्चालन गर्नुभयो । सङ्घीयता, विकास, प्रशासनिक संरचना र राष्ट्रिय राजनीतिक दिशाबारे गहिरो दृष्टि राख्नसक्ने नेता पोखरेल अहिले मुलुकले भोगिरहेको जटिल परिस्थितिलाई सहजतर्फ मोड्न सक्षम हुनुहुन्छ । यिनै कारण, यिनै अनुभव र यिनै दृष्टिकोणका आधारमा–देशले उहाँजस्ता परिपक्व, दूरदर्शी र कार्यदक्ष नेतृत्वबाट टाढा रहनु हुँदैन ।

उज्यालो नेपालको यात्रामा भूमिका

नेपालको ऊर्जा यात्रामा शंकर पोखरेलले छोएको प्रभाव आज पनि स्मरणीय छ । लगानी अभावमा ठप्प जस्तै बनेको अपर तामाकोशी जलविद्युत आयोजना उहाँ सञ्चारमन्त्री रहेकै बेला पुनः गतिमा फर्कियो । स्रोत सुनिश्चितताका लागि नेपाल टेलिकमलाई ऋण प्रवाह र शेयर लगानी गराउने निर्णय–दृष्टिले ४५६ मेगावाट क्षमताको यो राष्ट्रिय गौरवको आयोजना अघि बढ्यो । २०६७ सालमा सुरु गरिएको निर्माण २०७८ मा सम्पन्न भएपछि नेपाल विद्युत उत्पादनमा आत्मनिर्भर बन्ने दिशातर्फ कदम टेकेको थियो–यसलाई लोडसेडिङ अन्त्यको मूल मोड मानिन्छ ।

सञ्चार क्षेत्रको क्रान्तिमा पनि पोखरेलको भूमिका उतिकै प्रखर देखिन्छ । इन्टरनेट सेवा शहरका सुगम क्षेत्रमा मात्र सीमित भएका बेला उहाँकै अगुवाइमा त्यो सेवा हिमाली र पहाडी जिल्लासम्म पुगेको हो । मनाङ जस्तै दुर्गम भूभागमा आफै पुगेर उहाँले इन्टरनेट सेवाको उद्घाटन गर्नुभएको दृश्य स्थानीयका लागि मात्र होइन, सम्पूर्ण देशका लागि एउटा सन्देश थियो–राज्यको पहुँच टाढासम्म पुग्न सक्छ, यदि नेतृत्वको दृष्टि टाढासम्म पुगेको छ भने ।

उहाँको कार्यकालमा सञ्चार माध्यमहरूबीच गरेको धेरैबाटो पारेका निर्णयहरू पनि छुटाउन सकिँदैन । पत्रपत्रिकाले मात्र पाउँदै आएको लोककल्याणकारी विज्ञापन एफएम रेडियोले पनि पाउने व्यवस्था उहाँले नै लागू गरिदिनुभयो । मातृभाषामा निर्माण हुने नेपाली चलचित्रले राजस्व तिर्नु नपर्ने व्यवस्था, रेडियो नेपाल र नेपाल टेलिभिजनका रिले स्टेशन विस्तार र जातीय छुवाछुत तथा किसान आन्दोलनका अभियन्ता–भगत सर्वजित र गुमराह थारुको सम्मानमा जारी गरिएका हुलाक टिकट–यी सबै निर्णयहरूले उहाँको नेतृत्वको संवेदनशील र जनमुखी पक्ष उजागर गर्छन् ।

त्यस्तै, गोरखापत्रलाई विविध भाषामा सामग्री प्रकाशन गराएर समावेशीकरणतर्फ उन्मुख गराउने काम र एफएम रेडियोको नविकरण प्रक्रिया जिल्ला हुलाकमै सम्पन्न गर्न सकिने व्यवस्था—यी कदमहरूले केन्द्रमा मात्रै सीमित सेवा संरचनालाई स्थानीय तहसम्म पु¥याउने अभियानलाई बलियो बनाए । नविकरणका लागि काठमाडौँ धान्नुपर्ने झन्झट अन्त्य भएपछि देशभरका साना–ठूला एफएमहरू सशक्त बने ।

यस्ता कैयौँ निर्णय र कार्यान्वयनका कारण आज पनि शंकर पोखरेललाई सम्झनेहरू थुप्रै छन् । उहाँको नेतृत्वका वर्षहरूले केवल कागजी नीति होइन, व्यवहारमै परिवर्तन ल्याउने निर्णयहरूले चिनिन्छन्–यसैले “उज्यालो नेपालको यात्रा” भन्ने कथामा उहाँको नाम एक अविच्छिन्न अध्यायझैँ अङ्कित छ ।