नेपाली साहित्यका कविता विधाका धेरै र उत्कृष्ट कृति रचना गरेर नेपाली साहित्यका महाकविको उपाधि पाएका आशुकवित्व क्षमताका लक्ष्मीप्रसाद देवकोटाले केवल कविता विधामा मात्र होइन कि अन्य विविध गद्य विधामा पनि उत्कृष्ट साहित्य सिर्जना गरेका छ् । उनले आधा दर्जनभन्दा अधिक महाकाव्यको रचना गरे भने उत्कृष्ट खण्डकाव्य पनि सिर्जना गरे । उनले रचना गरेको मुनामदन नामको खण्डकाव्य नेपाली जनताले अहिले पनि अधिक मन पराएर पढ्ने गरेको खण्डकाव्य हो । उनले रचना गरेका निबन्धहरू पनि नेपाली साहित्यको ढुकुटीमा भरिन पुगेका छन् ।
उनका निबन्धमा पनि कवितामा जस्तै केही मात्रमा लय मिलेको हुन्छ भन्ने मान्यता राखिएको पाइन्छ । दाडिमको रूखनेर र लक्ष्मी निबन्ध सङ्ग्रहमा उनका निबन्धहरू सङ्ग्रहित रहेका छन् । तिनमा सङ्ग्रह भएका निबन्धहरूमा सबैजसो निबन्ध उत्कृष्टै भए पनि भलादमी, हाइहाइ अङ्गे्रजी, पहाडी जीवन आदि निबन्धहरू पाठकले मन पराएर पढिने निबन्ध हुन् । अर्को मन पर्दो निबन्ध पाँचवटा चाहिने कुरा पनि हो ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेका पाँचवटा चाहिने कुरा के–के होलान् ? भनेर सबै पाठकलाई खुल्दुली लाग्न सक्छ । ती पाँच कुरामात्र किन चाहिने भए ? र अरु सारा कुरा कसरी नचाहिने भए ? भन्ने प्रश्नसमेत खडा हुनसक्छ । तर तिनै पाँचवटा कुराले अरू सारा विषयवस्तुको काम पूरा गर्ने भएकोले यी पाँचलाई चाहिने कुराका रूपमा लिएका हुन सक्छन् । उनको निबन्धका अनुसार ईश्वर, आत्मा, स्वर्ग, नरक र धर्म यी पाँच चाहिने कुरा भए ।
आजको भौतिक बाहुल्यताको युगमा ईश्वरको सत्ता स्वीकार गर्ने मान्छेको सङ्ख्या दैनिकरुपमा घट्दै गएको छ । त्यसो भएकोले निबन्धकार देवकोटाले ईश्वरको सत्तालाई ज्यादै मार्मिकरुपमा स्वीकार गरेर प्रमाणित गर्न खोजेका छन् । ईश्वर मान्छेका चर्मचक्षुले देख्न सक्ने विषय नभएकोले उसको सत्तालाई सहज भावले स्वीकार नगर्नु पनि स्वाभाविकै हो । तर निबन्धकारका अनुसार ईश्वर नभएको भए त संसार शून्य नै हुने थियो भन्दै हाम्रो सामाजिक व्यवहार जस्तो भए पनि, आदर्शरुपमा जे बोलिए पनि ईश्वरलाई कम्तीमा उनी छन्को विश्वासमा अडेसो लागेर बाँचेका छौँ, त्यसैले ईश्वरको सत्तालाई स्वीकार नगरेर धर नै पाइन्न भन्न खोजेका छन् । हुन पनि उनको यो भनाइ आफैँमा सत्य छ ।
यदि ईश्वर नभएको भए वा कुनै चैतन्यले भरिएको सत्ता नभएको भए यो ब्रह्माण्ड आ–आफ्नै लयमा लय मिलाएर गतिमान हुने थिएन, हिमालमा हिउँ पर्ने थिएन, हिमाल बनिने थिएन । हिमाल नभएपछि हिउँ पर्ने सवाल आउँदैन भन्ने विश्वास र अडानका साथ ईश्वरको सत्तालाई वा अस्तित्वलाई स्वीकार गर्न बाध्य बनाएका छन् । कुनै पनि सफल निबन्धकारले रचना गरेको निबन्धले हरेक पाठकलाई आफ्नो अडान जबरजस्तरुपमा परिवर्तन गर्न बाध्य गराउँछ । त्यसै गरेर देवकोटाको यस निबन्धले जस्तै नास्तिक मानवले पनि ईश्वरको अस्तित्वलाई निःसर्त मान्नै पर्ने कुरा अथवा तत्कालै नमाने पनि बेग्लै शिराबाट सोच्न बाध्य बनाइदिएको छ ।
भगवान् वा ईश्वर हरेक धूलोको कणकणमा हुन्छन् भनेर, आजको वैज्ञानिक युगको प्रविधिले खोजेर, अणुलाई हजार परमाणुमा परिणत गरेर खोज्दा पनि ईश्वर भेटिएको छैन । तैपनि ईश्वरको अस्तित्वलाई स्वीकार गर्न बाध्य हुनै पर्छ भनेर ईश्वरलाई पाँचमध्येको एउटा चाहिने कुराको रुपमा राखेका छन् । हुन पनि हो । ईश्वरको डर वा भय नभएको भए त यो संसार यतिको बस्नलायकको र सुन्दर हुने पनि थिएन होला । संसार जड नभएर चेतन छ । चेतन संसारको अभिभावक वा सञ्चालक भनेको जड हुनै सक्दैन । यदि चेतन छैन भन्ने लाग्छ भने लाखौँ थरीका वनस्पति, जीव कसरी हुर्कन्छन्, चन्द्रमा, पृथ्वी गतिमान छन् । अझ हाम्रो शास्त्रले त सूर्यलाई पनि गतिमान ताराको रुपमा लिएको छ । गतिमान हुनु नै सचेतनाको द्योतक हो । त्यसैले चेतनरुपमा ईश्वर रहेको छ । होइन भने दुःख परेको बेला ईश्वर सम्झाउने हाम्रो चलन भनेको सत्यको उद्घाटन गरेको हो । ईश्वर मात्र एक सत्य स्वरुपमा छ ।
दोस्रो चाहिने कुरो भनेको आत्मा हो । आत्मा भन्नाले हाम्रो शरीरलाई चैतन्य गराउने तत्व हो । प्राणीभित्र आत्मा नहुँदो हो त उसको सोचाइको छाल कहाँबाट आउँदो होला त ? आत्माकै कारणले मानव र पशुले अरु कसैलाई माया गर्ने अधिकारको उपयोग गर्न पायो । आत्माले नै अन्तरको वेदनालाई बाहिर प्रकट गर्न सिकायो । भौतिक शरीर मरेर बिलाए पनि आत्मा कहिल्यै मारिँदैन, पोलिँदैन अर्थात् यो अजरामर छ भन्ने मानिएको छ ।
मानव आत्मा स्वर्गको चाहना राख्छ अनि नरकको घृणा गर्नुका साथै नरकदेखि डराउँछ पनि । यसले परम ईश्वरको मुहान वा स्रोतबाट शक्ति हासिल गरेर काम गर्दछ । यदि आत्माले पाप कर्म गरेको भए नरक (दानव लोक) र धर्मका कर्म गरेको रहेछ भने मोक्ष भएर स्वर्ग अर्थात् देवलोक जान्छ । आत्मा ईश्वर नसम्झेर संसार त्याग गर्न सक्दैन । त्यसैले आत्मा र ईश्वरका बीचमा एउटा तादात्म्यता रहेको पाइन्छ । आत्माका लागि पाप भनेको ईश्वरका आवाजको विरोध र धर्म भनेको ईश्वरका आवाजको समर्थन हो । यदि आत्मा अजरामर नहुने भएको भए प्राणीको शरीरसँगै आत्मा पनि मरेर जाने हुनाले अरु प्राणी जन्मने सम्भावना रहने थिएन ।
तेस्रो चाहिने कुरा भनेको स्वर्ग हो । स्वर्ग भनेको कहिल्यै दुःखकष्ट नहुने स्थान हो भनेर सङ्केत गरिन्छ । स्वर्गमा केवल देवताको बास हुन्छ, देवता भनेको सत्यको प्रतिरुप हो । हामीलाई कुनै दुःख परेको वा कुनै आपतविपत परेको बेला ईश्वर पुकार्ने र सहयोग माग्ने चलन छ । चाहे कल्पना गरिएको ठाउँ किन नहोस् अरु बेला नभए पनि मर्ने बेलामा जतिसुकै नास्तिक भनिएको मानिसले पनि केही मात्रमा स्वर्गको सुखको भोग गर्न पाउने आशा राखेकै हुन्छ ।
जुनसुकै धर्म धारण गरेको भनिएको मान्छे किन नहोस् उसको स्वर्ग सुखको गहिरो इच्छा रहेकै कारणले गर्दा त्यो सुख भोग गर्नका लागि अनेक थरीका उपक्रम गर्न उद्यत् हुन्छ । त्यसैले स्वर्ग भन्ने कुरा केवल काल्पनिक खेलाँचीको विषय होइन र हुन पनि सक्दैन भन्ने देखिन्छ । निबन्धकार देवकोटाले यस कुरालाई प्रमाणित गर्नको लागि झन्डै एक दर्जन बलिया तर्कहरु निबन्धमा उभ्याएका छन् । जसले यो लोकमा बाँच्दै गरेका बेला आफ्नो आत्मालाई सकेसम्म निर्मल बनाउन सकेको हुन्छ ऊ मात्रै स्वर्ग (देवताको घर) मा देवताकै पाश्र्वगण भएर आनन्दले रहन पाउँछ ।
पाँचवटा चाहिने कुरामध्येको चौथो चाहिने कुरा नरक हो । नरक भनेको अतिशय दुःख र कष्टको उत्पीडन भोग्नुपर्ने ठाउँ हो । जसले पृथ्वीतलमा रहुन्जेल आत्मालाई शुद्ध बनाउन सकेको थियो, ऊ सजिलै स्वर्ग जान पाउँछ भने जसले आफ्नो आत्मालाई कहिल्यै शुद्ध बनाउन नसकेर अशुद्ध नै बनाइरह्यो ऊ दुःख र पीडा अर्थात् नरकको भोग गर्न जान बाध्य हुनुपर्छ । काल्पनिक नरक किन नहोस्, मान्छेले मर्ने बेलातिरको समयमा मनको अन्तरकुन्तरमा नरकमा दुःख भोग्नुपर्ला कि भन्ने भय थोर–बहुत जति भए पनि राखेकै हुन्छ । स्वर्ग हुन्छ भनेर विश्वास गरिसकिएको हो भने नरक पनि हुन्छ भनेर विश्वास गर्न कर लाग्छ ।
पाँचवटा चाहिने कुरामा धर्म पाँचौँ चाहिने कुरा हो । धर्म भनेको धारण गर्नुलाई भनिन्छ । जसले मानव जातिको कल्याण र विश्वको सत्यता धारण गर्न सक्छ त्यसैलाई धर्म भनिन्छ । कुनै धर्म कोही जातिलाई बताएथे भने कुनै धर्म विकासको क्रममा कोही साधुसन्तबाट पनि मिल्न सक्छ । तथापि शुरुको अवस्थामा भने स्वयं ईश्वरको वाणी नभई कुनै पनि धर्म निस्कँदैन । जसको शुद्ध आत्मा छ उसलाई दिव्य जादुले छुन्छ र ऊ मुखरित हुन पुग्छ । यो सब कुरा कुनै जातिको कहिल्यै अन्त नहुने कल्याण, सुखभोग र अन्तमा देह त्यागपछि स्वर्ग जानको लागि हो । कोही आधुनिक वैज्ञानिकहरूले यो कुरा सुनेर नपत्याउँदै ओठ लेप्य्राउने गर्छन् । तर तिनलाई असत्य धेरैबेर मानसमा टिक्न सक्दैन तर सत्य वर्षौँ टिक्न सक्छ, ईश्वर, स्वर्ग, नर्क आदि कुरा पनि केवल काल्पनिक नभएर साश्वत सत्य भएकाले कुनै न कुनै रुपमा मानसमा झल्केर उज्यालो नबनाई छोड्दैन ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाले पाँचवटा चाहिने कुरा शीर्षकको निबन्धमा मानव समाजभित्रका आडम्बर र बोके्रपनको भौतिकवादलाई मृत्यु शैयामा पछारेर अध्यात्मवादी विचार अनि कार्यशैली अनुशरण गर्ने सन्देश यस निबन्धअन्तर्गत प्रस्टरूपमा राख्न सकेका छन् । यी पाँच कुराको डर वा हेक्का नराखेर वा ईश्वरको सर्वसत्तालाई बेवास्ता गरेर, नरकको भय नराखेर वा नपत्याएर अनेक थरीका पाखण्डी कर्ममा रत हुन थालेको आजको मानवजगत् अन्गन्ती फसादका भुमरीमा फस्दै पतनको बाटोतिर हिँड्न र अरुलाई पनि सोही बाटो हिँडाउन उद्यत् भइरहेको छ ।
जसका कारण मानवले सोचेभन्दा धेरै परका, दैवी वा प्राकृतिक प्रकोप अनि मानवीय कारक बनेका अनेक प्रपञ्चरुपी प्रकोपले आजका मानिसको जीवन निकै जटिल र अस्तव्यस्त बन्न पुगेको छ । संसारमा शान्ति स्थापनाको आह्वान गर्दै गोप्यरुपमा अणुबम अधिक मात्रामा उत्पादन हुँदा छन् वा गरिँदा छन् । एक राष्ट्रले अर्को राष्ट्रले गरेका भौतिक उन्नतिका क्रमलाई अनेक तरिकाले प्रतिबन्ध लगाउने षड्यन्त्र रचना गरिरहेका छन् । आजको मानवलाई न स्वर्गको चाहना छ, न त नरक–पीडाको चिन्ता छ । उसको चिन्ताको एउटै विषय भनेको कसरी धेरै धन जम्मा गरेर थुपार्ने अनि भौतिक सम्पन्नताको धाक लगाउँदै अरुलाई बोक्रे प्रभावमा पार्ने भन्ने हो । त्यसकारण ऊ सत्य बचन सुन्न र आत्मसमीक्षा गर्न तयार नै हुँदैन । त्यसैले देवकोटाका ‘पाँचवटा चाहिने कुरा’ हामी सबैलाई चाहिने हुन् ।











प्रतिक्रिया