लुम्बिनीको प्लेअफ बुकिङ: जनकपुर पराजित, चितवन–पोखरा पनि दौडबाट बाहिर


काठमाडौँ।

नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको प्लेअफ समीकरण अन्तिम रूपमा टुंगिएको छ। शुक्रबार जनकपुरलाई चार विकेटले पराजित गर्दै लुम्बिनी प्लेअफमा प्रवेश गर्ने चौथो टिम बनेको हो। यसअघि सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र विराटनगर किंग्स प्लेअफमा स्थान सुरक्षित गरिसकेका थिए।

कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ६ विकेट गुमाउँदै १३२ रन बनायो। १३३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९ ओभर एक बलमै ६ विकेटको क्षतिमा १३६ रन जोड्दै प्लेअफ बुक गर्यो।

लुम्बिनीको जितमा कप्तान रोहित पौडेलले ३४ रनको महत्वपूर्ण खेल खेले। डार्सी सटले ३०, जेजे स्मितले २१ र निरोशन डिकवेलाले १७ रनका योगदान दिए। जनकपुरका लागि संगीत कुरेले तीन र मयन यादवले दुई विकेट लिए।

पहिले ब्याटिङ गरेको जनकपुरका संगीत कुरे नटआउट ४५ रनमा रोकिए। मयन यादवले २७, आशिफ शेखले २० र सञ्जय कृष्णमूर्तिले १४ रन बनाए।

जनकपुरलाई सस्तैमा रोक्ने क्रममा लुम्बिनीका रोहित पौडेल र शेर मल्लले दुई–दुई विकेट लिए। रुबेन ट्रम्पपेलम्यान र जेजे स्मिथले एक–एक विकेट हात पारे।

सात खेलबाट आठ अंक जोडेको लुम्बिनी एनपिएल प्लेअफको अन्तिम टिम बनेको हो।