गाईघाट र बाक्सेका क्यान्टिन तथा होटलहरूको अनुगमन

470
Shares

उदयपुर ।

उदयपुरको सदरमुकाम गाईघाटमा जिल्ला प्रशासन कार्यालय उदयपुर, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय उदयपुर र त्रियुगा नगरपालिकाको संयुक्त अनुगमन टोलीले त्रियुगा नगरपालिका क्षेत्रमा सञ्चालित विभिन्न क्यान्टिन तथा होटलहरूको अनुगमन गरेको छ ।

खाद्य वस्तुको गुणस्तर तथा सरसफाइमा सुधार ल्याउने उद्देश्यले गरिएको यस अनुगमनमा गाईघाट र बाक्सेस्थित विद्यालयहरू, जिल्ला अस्पताल र सरकारी कार्यालयहरूका क्यान्टिन र होटलहरूलाई विशेष निगरानीमा राखिएको थियो।

संयुक्त अनुगमन टोलीले भेटिएका कैफियतहरूलाई तत्काल सुधार गर्न सम्बन्धित क्यान्टिन र होटल सञ्चालकहरूलाई कडा निर्देशन दिएको खाद्य कार्यालयका सूचना अधिकारी प्रेम अर्यालले जानकारी दिनु भयो।खाद्य स्वच्छता ऐन तथा नियमावलीअनुसार सरसफाइको मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने।म्याद गुज्रिएका कुनै पनि खाद्य वस्तु तत्काल नष्ट गरी गुणस्तरयुक्त सामग्री मात्र बिक्री गर्नुपर्ने।

खाद्य वस्तुको भण्डारण, प्रशोधन र बिक्री वितरणमा स्वच्छ वातावरण कायम गर्नुपर्ने।जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिले उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्ने छुट कसैलाई नभएको भन्दै निर्देशन पालना नगर्नेलाई कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएका छन्।

भविष्यमा पनि यस्ता संयुक्त र आकस्मिक अनुगमनहरूलाई निरन्तरता दिने र खाद्य वस्तुको गुणस्तरमाथि नियमित निगरानी राखिने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले जनाएको छ ।