सुनकोशीमा बेलीब्रिज लगाउन सहमती

470
Shares

उदयपुर ।

खोटाङ र उदयपुर जिल्लालाई जोड्ने सुनकोशी नदीस्थित बङ्सिलाघाटमा अस्थायी बेलिब्रिज जडान गर्न नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले स्वीकृति दिएको छ ।


नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ चौदण्डीगढीको सीमानामा पर्ने सुनकोशीस्थित बङ्सिलाघाटमा अस्थायी बेलिब्रिज जडान गर्न स्वीकृती दिएको हो ।

लामो समयदेखि झोलुङ्गे पुलमार्फत आवतजावत गर्दै आएका दक्षिणी क्षेत्रका स्थानीय बासिन्दा बङ्लिाघाटमा अस्थायी बेलिब्रिज जडान हुने भएपछि हर्षित भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्यूरो सदस्य एवम् खोटाङ जिल्लाका पूर्वसांसद विशाल भट्टराईको प्रयासमा अस्थायी बेलिब्रिज जडानको पहल थालिएको हो ।

अस्थायी बेलिब्रिज जडानका लागि खोटाङका बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिका तथा उदयपुरको चौदण्डीगढी नगरपालिकाका जनप्रतिनिधिबीच आइतबार छलफल भएको छ । एमाले नेता भट्टराईको उपस्थितिमा जनप्रतिनिधिहरुबीच भएको भेलाले बेलिब्रिज जडानकाका लागि तत्काल बेलिब्रिजका समान बङ्सिलाघाट ल्याउन मन्त्रालयसँग अनुमति माग गर्ने निर्णयमा मन्त्रालयले सहमति जनाएको छ ।

यसअघि खोटाङबाट पूर्वी शहर जोड्ने सुनकोशी नदीकै फोक्सिङटारमा जडान गरिएको अस्थायी बेलिब्रिज समान बङ्सिलाघाटमा राख्ने तयारी शुरु गरिएको नेता भट्टराईले जानकारी दिनुभयो । “बङ्सिलाघाटमा अस्थायी बेलिब्रिज जडान गर्ने अनुमति दिए पनि त्यसमा लाग्ने आवश्यक रकम सङ्घीय सरकारले विनियोजन गरेको छैन । तीन पालिकाले ब्यहोरेर भएपनि नदीमा पानीको बहाव कम भएपछि बङ्सिलाघाटमा अस्थायी बेलिब्रिज जडान गर्नेगरी छलफल भएको छ”, उहाँले भन्नुभयो, “अस्थायी बेलिब्रिज जोड्न र निकाल्न करिब रु एक करोड १५ लाख खर्च हुने अनुमान गरिएको छ । बङ्सिलाघाटमा जडान गर्ने तयारी गरिएको अस्थायी बेलिब्रिज लगाउन आवश्यक पर्ने आर्थिक जोहोका लागि पुनः अर्को बैठक बस्ने निर्णय गरेको छ ।”