काठमाडौं ।
तीन विधामा प्रतिस्पर्धामा हुने भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको १९औं संस्करण शुक्रबारदेखि सुरु हुने भएको छ ।
भ्याली पब्लिक हाई स्कुलको आयोजनामा बुढानीलकण्ठ नगरपालिका–८ स्थित भंगालमा शुक्रबारदेखि मंसिर २९ गतेसम्म प्रतियोगिता हुन लागेको हो । बिहीबार आयोजित एक कार्यक्रममा भ्याली पब्लिकका संस्थापक तथा प्रिन्सिपल कृष्णप्रसाद अधिकारीले प्रतियोगिताका बारेमा जानकारी दिए ।
उक्त प्रतियोगितामा सिनियर ब्वाइज, सिनियर गल्र्स र जुनियर ब्वाइज गरी तीन विधामा प्रतिस्पर्धा हुने भ्याली पब्लिकले जनाएको छ । सिनियर ब्वाइजमा २९ तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान २७ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
उक्त प्रतियोगिता लिग कम नकआउटको आधारमा हुनेछ । तीन विधामा नै कुल आठ समूहमा विभाजन गरिएको खेलकुद इन्चार्ज पूर्ण न्यौपानेले जानकारी दिए । तीनै विधामा शीर्ष तीन स्थान प्राप्त गर्ने टोलीले क्रमशः २० हजार, १० हजार र पाँच हजार रुपैयाँका साथ ट्रफी पनि पाउनेछन् ।
प्रतियोगिताका मस्ट भ्यालुएबल प्लेअर, बेस्ट थ्री पोइन्टर र सर्वाधिक स्कोरकर्ताले शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने विद्यालयले जनाएको छ । सिनियर ब्वाइज र सिनियर गल्र्समा क्रमश ः ग्रिनल्यान्ड र भ्याली पब्लिक हाई स्कुल डिफेन्डिङ च्याम्पियन हुन् । जुनियर ब्वाइजको उपाधि भने त्रिज्योतिले जितेको थियो ।











प्रतिक्रिया