एनपीएल २ मा पहिलो ह्याट्रिक काठमाडौं र विराटनगर प्लेअफमा


काठमाडौं ।

जारी नेपाल प्रिमियर लिग (एनपीएल २) मा पहिलो ह्याट्रिक भएको छ । बिहीबार भएको पहिलो खेलमा काठमाडौं गोर्खाजका साहब आलमले पोखरा एभेन्जर्सविरुद्ध ह्याट्रिक गरेका हुन् । योसँगैं साहब एनपीएल २ मा ह्याट्रिक लिने पहिलो बलर बने ।
साहब आलमले जिततिर अग्रसर भइरहेको पोखराका अन्तिम चार ब्याटरलाई आउट गरेका थिए । उनले घातक बलिङ गरेपछि काठमाडौं गोर्खाजले पोखरालाई १३ रनले हराउन सफल पनि भएको थियो ।

यो जितले काठमाडौं प्लेअफमा पनि पुगेको छ ।काठमाडौं गोर्खाजले १ सय ६६ रनको विजयी लक्ष्य निर्धारण गरेको थियो । जवाफमा पोखराले १९ औं ओभरमा ६ विकेटको क्षतिमा १ सय ४६ रन बनाएको थियो । जसअनुसार टोलीले जित्नको लागि अन्तिम ६ बलमा २० रन बनाउनु थियो ।

रिषि धवन क्रिजमा ५४ रन बनाएर राम्रो खेलिरहेको हुँदा पोखराले जित्ने संभावना रहेको थियो । तर, साहबले उनलाई पहिलो बलमै आउट गरे । यसपछि क्रिजमा आएका विपिन खत्रीलाई पनि पभेलियन फर्काएका उनले तेस्रो बलमा आकाश चन्दलाई आउट गरे । योसँगैं उनको ह्याट्रिक पूरा भएको थियो । त्यसपछि उनले अन्तिम बलमा सागर ढकालको विकेट लिएका थिए ।