ग्रीसमा ४४ नेपाली युवालाई बन्धक बनाएर सुन्तला खेतीमा जबरजस्ती श्रम : पाकिस्तानी तस्कर गिरोह पक्राउ


काठमाडौं ।

ग्रीसमा राम्रो तलब र कानुनी रूपमा सुन्तला खेतीमा काम गराउने प्रलोभनमा परेका ४४ नेपाली युवालाई गोदाममा कैद गरी जबरजस्ती श्रम गराएको आरोपमा पाकिस्तानी तस्कर समूहलाई प्रहरीले पक्राउ गरेको छ। ‘ड्यानी’ नामले चिनिने २६ वर्षीय पाकिस्तानी नागरिकले अनलाइनमार्फत नेपालीहरूलाई आकर्षक तलब, आवास र कानुनी कागजातको लोभ देखाएर लाकोनिया, स्काला पुर्याएका थिए।

नियोचोरी पुगेपछि उनीहरूलाई गोदाममै थुनी बाहिर नजान दिने, ट्रक–कारमार्फत खेतमा लैजाने र तलब नदिई सुन्तला टिप्न बाध्य पार्ने गरिएको खुलेको छ। युवाहरूका यात्रा कागजात खोसिएर १,५०० युरो तिर्नुपर्ने धम्की पनि दिइएको थियो।

नोभेम्बर २६ मा मानव बेचबिखनविरुद्धको हटलाइन ११०९ मा परेको सूचनापछि प्रहरीद्वारा गरिएको खोजतलाशमा सबै नेपालीहरू गोदाममै फेला परे। घटनामा ४४ वर्षीय ग्रीक नागरिक संलग्न रहेको पाइएको छ भने दुई ट्रक र एक कार पनि बरामद गरिएको छ। एउटै कारका मालिक २८ वर्षीय पाकिस्तानीबिरुद्ध समेत कानुनी प्रक्रिया अघि बढाइँदैछ।