मानिसले जीवनमा बुझ्नुपर्ने कुराहरू धेरै छन् । यसमध्ये पनि जीवनलाई बुझ्नु सबैभन्दा पहिलो आवश्यकता हो । तपाईँको जीवनको सबैभन्दा पहिलो प्राथमिकता के हो ?
एउटा दृष्टान्त छ । एकजना मानिस गइरहेका रहेछन् । उनी असल मान्छे थिए । अरुको ख्याल राख्थे । उनले बाटोमा एउटा निकै चम्किलो वस्तुलाई देख्छन् । उनले त्यो चीजलाई हातमा लिन्छन् । त्यसपछि यसो विचार गर्छन्, ‘यो काँचको टुक्रा रहेछ । यसले कसैलाई पनि नघोचोस् । त्यसैले म अब यसलाई यतै छेउतिर फ्याँकिदिन्छु ।’ उनले त्यस चीजलाई बाटोबाट टिपेर छेउतिर फ्याँकिदिन्छन् ।
अर्का व्यक्ति पनि त्यसै गरी आउँछन् । उनी पनि त्यही बाटो हुँदै गइरहेका हुन्छन् । उनले पनि जमिनमा एउटा काँचको टुक्रो भेट्छन् । उनले त्यसलाई टिप्छन् । त्यसलाई राम्ररी नियाल्छन् अनि त्यसलाई देखेपश्चात् उनको मुहारमा एउटा मधुर मुस्कान छाउँछ । उनले त्यो चम्किलो टुक्रोलाई आफ्नो गोजीमा हाल्छन् अनि त्यहाँबाट घरतिर लाग्छन् ।
दुवै जनाले राम्रो काम गरे । यद्यपि एकजनाले फ्याँकिदिए भने अर्काले आफ्नो गोजीमा राखे ! काँचको टुक्रालाई देखेर दुवै जनाले उस्तै प्रतिक्रिया जनाएका थिए । यद्यपि यी दुईजनाका बीचमा के अन्तर छ ? आफ्नो घरमा पुगेपछि पहिलो व्यक्तिलाई उनकी श्रीमतीले ‘आजको दिन कस्तो भयो’ भनेर सोध्दा उनी भन्छन्– ‘ठीकै भयो ! म गाउँ गएँ त्यसपछि फर्केर आएँ । खासै नयाँ कुरा केही भएन ।’ दोस्रो व्यक्तिलाई पनि घर पुगेपछि उनकी श्रीमतीले ‘आजको दिन कस्तो भयो ?’ भनेर सोध्छिन् । उनी भन्छन्, ‘आजको दिन एकदमै भाग्यशाली दिन हो ! मेरो त भाग्य खुल्यो ! म बाटोमा हिँडिरहेको थिएँ । मैले एउटा काँचको टुक्रो चम्किरहेको देखेँ । जसै मैले त्यस काँचको टुक्रोलाई टिपेको मात्रै के थिएँ, मलाई महसुस भइहाल्यो । त्यो चीज त काँचको टुक्रो नभएर हीरा पो रहेछ ।’
पहिलो व्यक्तिलाई पनि त्यो हीरा त प्राप्त भएकै थियो । तथापि, उनले त्यसलाई पहिचान गर्न सकेका थिएनन् । पहिचान गर्न नसकेका कारण उनका लागि त्यो चीज केवल काँचको टुक्रो मात्रै थियो । उनले त राम्रै सोचेर कसैलाई पनि खुट्टामा नबिझोस् भन्ने हेतुले त्यसलाई त्यहाँबाट टिपेर फालिदिएका हुन् । दोस्रो व्यक्तिले पनि त्यस्तै गरे तर उनलाई त्यो साधारण चीज होइन भन्ने कुराका बारेमा ज्ञान थियो । यो चीजको मूल्य थाहा थियो । यसले मेरो कायापलट गर्न सक्छ भन्ने हेक्का थियो ।
ती यात्रु तपाईँ नै हुनुहुन्छ । अहिले तपाईँ पहिलोवाला पहिचान नभएको यात्रु हुनुहुन्छ । तथापि, मेरो चाहना के छ भने, यो यात्रामा जानुअघि नै तपाईँमा यसबारे ज्ञान हुनुपर्छ । फलतः तपाईँले हीरालाई चिन्न सक्नुहोस्, किनभने तपाईँले त्यो मूल्यवान् चीज प्राप्त गर्नुभयो भने त्यसलाई फ्याँक्नु नपरोस् । तपाईँको जीवनमा सबैभन्दा मूल्यवान् चीज के हो ? यो श्वास आउनु–जानु नै तपाईँको जीवनमा सबैभन्दा मूल्यवान् कुरा हो ।
यसको ज्ञान नभएका कारण तपाईँले यसलाई फ्याँकिरहनुभएको छ ।तपाईँलाई यो श्वासको क्षमतासम्बन्धी ज्ञान छैन । यसकारण तपाईँ आफूले आफूलाई भाग्यमानी ठान्न सक्नुहुन्न । तपाईँले यो श्वासको क्षमताका बारेमा थाहा पाएपछि तपाईँको यो संसार पनि बदलिनेछ । यो श्वासको आउने जाने क्रम रहेसम्म मृत्यु पनि तपाईँका सामु देखा पर्न सक्दैन । तपाईँले कुनै चीजको चिन्ता गर्नुपर्ने आवश्यकता नै छैन । यो श्वास आइरहेसम्म तपाईँ अवश्य पनि जीवित रहनुहुन्छ । यो श्वासलाई नबिर्सनुहोस् । यो सृष्टिकर्ताको आशीर्वाद हो ।
तपाईँलाई जीवन जिउने मौका प्राप्त भएको छ । सबैभन्दा पहिलो प्रश्न के उठ्छ भने, तपाईँ को हुनुहुन्छ ? मानिसको जिन्दगीलाई हेर्ने हो भने सबै मानिसले हरेक दिन आफ्नो समस्याबाट उम्कने कार्य गरिरहेका हुन्छन् । मानिसले बिहान उठ्नासाथ आफ्ना समस्याका बारेमा चिन्ता गर्छ । भगवान्को चिन्तन गर्ने विषय पनि पछिको कुरा भयो । ‘यस्तो गर्नु छ, त्यस्तो गर्नु छ’ भन्ने चिन्ता हुन्छ । कसैको घरमा विवाह हुन लागेको भए धूमधामसँग तयारी हुन्छ । ‘त्यो ठीक भएन, त्यो राम्रो भएन । त्यो भएन, यो भएन ।’ ध्यान कता जान्छ ? तिनै समस्याहरूको समाधान गर्नतिर जान्छ । परीक्षा शुरु भयो भने बालबालिका र विशेषतः आमाबुबाहरूको ध्यान कतातिर मोडिन्छ ? परीक्षामा गएर कसरी पास हुने हो ? के हुने हो ?
यी समस्या कहाँबाट आए ? यस प्रश्नका पनि दुईवटा उत्तर हुन सक्छन् । एउटा त ‘भगवान्ले समस्यालाई बनाए ।’ धेरैले भगवान्ले नै समस्या बनाएका हुन् भनेर उनलाई दोषी ठह¥याउँछन् । के यो संसारमा देखिएका समस्या भगवान्ले नै बनाएका हुन् या मानिसले बनाएको हो ? कमसेकम एक सेकेन्ड भए पनि विचार गर्नुहोस् । यी समस्यालाई मानिसले बनाएका हुन् भने यिनको समाधान खोज्न कहाँ जाने ? मानिसहरूकहाँ नै जाने हो । भगवान्कहाँ जाने त होइन । यो दुनियाँले त भगवान्को अरू केही कामै छैन जस्तो गरी ‘हे भगवान् !’ भनेर जपिरहन्छ । उनैले कानुन बनाएका हुन् । उनैले कानुनलाई तोड्छन् र ! यदि मानिसले आफूले आफूलाई बुझ्दैन भने उसले यी कुराहरूलाई पनि बुझ्न सक्दैन ।
तपाईँलाई म एउटा प्रश्न सोध्न चाहन्छु, ‘तपाईँले आफ्नो जीवनमा के सिक्नुभयो ? अहिलेसम्म तपाईँले आफ्नो समय बिताउनुभयो । तपाईँले यसबाट के सिक्नुभयो ? कुन कुराका बारेमा ज्ञान हासिल गर्नुभयो ? कुन कुरालाई बुझ्नुभयो ? आफूलाई बुझ्नुभयो ? तपाईँले यस कुरालाई पूर्णरूपमा नबुझीकन तपाईँको जीवनमा कसरी आनन्द आउँछ ? हामीले आधुनिक साधन भनेर मानेका चीजहरूप्रति हामीलाई घमण्ड पनि छ, यी कुराहरू त छन् पनि र छैनन् पनि । यसबारेमा सन्त–महात्माले पहिला नै ‘यो माया हो’ भनेर भनिसकेका थिए । प्रविधि त छ । सबैथोक छ । तथापि, यसमा को फसिरहेको छ ? जाँतो घुमिरहेको छ, घुम्न दिनुहोस् ! प्रश्न त यसमा को पिसिइरहेको छ भन्ने मात्रै न हो । कतै तपाईँ नै पिसिइरहनुभएको त छैन ? जाँतोलाई रोक्नुको के अर्थ भयो र ! जाँतो घुमोस् या नघुमोस्, यस कुरासँग तपाईँको के सम्बन्ध छ र ? तपाईँको सम्बन्ध त केवल त्यस कुरासँग छ, तपाईँ त्यो जाँतोमा पिसिइरहनुभएको छ या छैन ?
तपाईँलाई तपाईँको जिन्दगी कस्तो लाग्छ ? ‘कहिले राम्रो लाग्छ, कहिले राम्रो लाग्दैन । कहिले ठीक लाग्छ, कहिले ठीक लाग्दैन ।’ हैन र ? म त तपाईँको भेट तपाईँसँगै गराइदिन सक्छु । फलतः तपाईँले यो जीवन जिउने अवसर पाउनुभएको कुरालाई बुझ्न सक्नुहोस् । अरू कुराका लागि होइन । केवल यो जीवन जिउने अवसर प्राप्त भएको हो । तपाईँ जीवित रहनुन्जेलसम्म तपाईँले के गर्न सक्नुहुन्छ ? यदि तपाईँले आफ्नो जीवनमा शान्तिलाई अपनाउनुभयो भने तपाईँको जीवनमा हरियाली छाउनेछ ।
वास्तविक कुरा यही हो । तपाईँले नै यो सम्भावनालाई स्वीकार गर्नुपर्ने हुन्छ । मैले होइन । ‘मलाई जीवन प्राप्त भएको छ । मलाई जीवन जिउने अवसर प्राप्त भएको छ र म यो मौकालाई अपनाउन चाहन्छु । म आफ्नो जीवनमा हलचल नहुने खालको सुखलाई प्राप्त गर्न चाहन्छु ।’ तपाईँले यो सम्भावनालाई स्वीकार गरिसकेपछि यसको अर्थ म यो जीवनलाई यो संसारभन्दा बाहिर रहेर जिउँछु भन्ने पनि होइन । मेरो जीवनमा समस्याहरू आउँदैनन् भन्ने पनि होइन तर मेरो जीवनको धागो कहाँ बाँधिएको छ भन्ने कुरा नै प्रमुख विषय हो ।
केही मानिसहरूको बुझाइमा चङ्गालाई धागो मात्र भए पुग्छ भन्ने छ । मसँग तपाईँका लागि एउटा समाचार छ । चङ्गा धागोले बाँधिएको छ । तपाईँ त्यो चङ्गालाई छोडिदिनुहोस् । चङ्गालाई धागोले बाँधेको हुन्छ तर पनि त्यो चङ्गा उडिरहन्छ । कुरा धागोका बारेमा होइन तर धागो कसका हातमा छ ? एउटा अर्को समाचार छ । मानिसहरूको इच्छा त के छ भने, ‘कसैले मेरो धागोलाई समातून्, किनभने मैले जिम्मेवारी नै वहन गर्नुपर्दैन ।’ सबैजसो जिम्मेवारीसँग डराउँछन् । कसैलाई पनि जिम्मेवारी चाहिएकै छैन । मेरो भनाइको तात्पर्य त चङ्गा पनि तपाईँ नै हुनुहुन्छ अनि धागो पनि तपाईँ नै हुनुहुन्छ र त्यस धागोलाई समात्ने व्यक्ति पनि तपाईँ नै हुनुहन्छ ।
तपाईँ तर्किरहनुभएको समस्यालाई भगवान्ले बनाएका होइनन् । त्यसैले यो खुशीको खबर हो । त्यसलाई मानिसले नै बनाएका हुन् । यसर्थ यो खुशीको खबर हो । किन ? यदि भगवान्ले बनाएका भए त त्यसलाई बदल्न निकै गाह्रो हुन्थ्यो । त्यसलाई मानिसले नै सिर्जना गरेका हुन् । त्यसैले बदल्न सकिन्छ । दोस्रो खुशीको खबर पनि छ । ती अलख पुरुष अविनाशी, ती सृष्टिकर्ता, ती शान्तिका स्रोत कहाँ बसेका छन् ? यदि तपाईँ निर्धन हुनुहुन्छ । तपाईँसँग पैसा नहोला । रेलमा चढ्नका लागि पैसा हुँदैन । हवाईजहाजका लागि पैसा हुँदैन । साइकल आदिका लागि समेत पैसा हुँदैन । तब पनि एउटा खुशीको खबर के हो भने, तपाईँले कतै जानुपर्ने आवश्यकता नै छैन । उनी तपाईँको हृदयमा विराजमान छन् । त्यसकारण यो खुशीको खबर हो । अर्थात् तपाईँ जहाँ पुग्नुहुन्छ, उनी तपाईँकै साथमा जान्छन् । यो साँच्चै गज्जबको कुरा छ । तपाईँ उनीबाट टाढिनै सक्नुहुन्न । अर्कोतिर तपाईँ उनीबाट छुट्नुभएको दिन यो जीवनरूपी रेलमा रहनुहुनेछैन ।
समस्या समाधानको एउटा उपाय त धैर्यता नै हो ! समस्या आउँछन् । यदि आउँछन् भने अवश्य जानेछन् पनि । यदि नआउने हो भने जाने पनि थिएन तर आउँछ, त्यसैले जान्छ नै । तपाईँले यस जीवनमा त्यस चीजलाई बुझेर आफ्नो जीवनलाई सफलीभूत तुल्याउन सक्नुहुन्छ । यो विषय नै सबैभन्दा उत्तम कुरा हो । किनभने, तपाईँसँग यो जीवन छ । यो तपाईँको कमजोरी होइन । यही नै तपाईँको शक्ति हो ! तपाईँभित्र यो श्वासको आवागमन रहेसम्म यो शक्ति तपाईँमै रहिरहन्छ ! यसको आवागमन भइरहेसम्म तपाईँमा ती सृष्टिकर्ताको कृपा पनि भइरहेको हुन्छ । तपाईँ आफूले आफूलाई चिन्नुहोस् ! आफूले आफूलाई पहिचान गर्नुहोस् !
(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलन एवं प्रस्तुतीकरण ः डा. प्रेमराज ढुङ्गेल । थप जानकारीका लागि www.premrawat.com)











प्रतिक्रिया