६० किलो ‘सुन’ तस्करीमा संलग्न मुख्य नाइके दावा अझै फरार

1.32k
Shares

काभ्रे ।

सुन तस्करीमा संलग्न भई पुर्पक्षका लागि जेलमा रहेका तिब्बती मूलका बेल्जियम नागरिक नेपाली नाम निमा भनिने दावा छिरिङ भागेको तीन महिना पुग्न लाग्दासमेत पक्राउ पर्न सकेका छैनन् । भदौ २३ र २४ गतेको आन्दोलनपछि उनी २०८२ भदौ २५ गते जगन्नाथदेवल जेलबाट भागेका थिए । विभिन्न जेलबाट भागेका ६ हजारभन्दा धेरै कैदी अझै जेल फर्किएका छैनन् ।

दावासहित केही विदेशीले काभ्रे जिल्ला प्रशासन कार्यालयबाट नागरिकता खरिद गरी सुन तस्करी गरिरहेका थिए । सुन तस्करीमा पक्राउ परेपछि गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले नागरिकता खरिद बिक्री र सुन तस्करीमा राजनीतिक संरक्षणमा माथिल्लो तहको संलग्नताको पुष्टि गरेको थियो । तर, पनि उक्त तहमा अनुसन्धान गर्ने क्रम तत्कालीन समयमा हुन सकेन । २०८२ असोज २६ गते प्रकाशन गरेको फरार बन्दीहरूको सूचीमा जगन्नाथदेवल कार्यालयबाट तिब्बतियन मूलका बेल्जियम नागरिक नेपाली नाम निमा तामाङ भनिने दावा छिरिङ फरार देखिएका छन् ।

चीन, रुस, पाकिस्तान, दक्षिण अफ्रिका, भुटान, क्यानाडा, म्यानमार, मलेसिया, बंगलादेश, अमेरिका, सुडान, साउथ अफ्रिका, थाइल्यान्ड, युक्रेन, युगान्डा, जिम्बाबे, बोलोभिया, भेनेजुएला, अफ्रिका, क्यामरुन, ब्राजिल, म्यानमार, बेलायतलगायतका मुलुकका १ सय ८ जना छन् भने छिमेकी देश भारतका मात्रै ५ सय ४० जना छन् ।

२०८० भाद्र १० गते जिल्ला प्रशासन कार्यालय काभ्रेबाट ६ विदेशी नागरिकले फर्जी कागजात तयार गरी नागरिकता र राहदानी लिएको प्रमाणित भएको थियो । दावाले सुनभन्दा पहिला नागरिकता र राहदानीको तस्करी गर्ने गरेको खुलेको छ । नागरिकता बिक्री गर्ने संख्या ३ सय भए पनि अनुसन्धानका क्रममा दर्जनभन्दा धेरै नागरिक सम्र्पकमा आएका छैनन् । काभ्रेबाट नेपालीका नाममा नागरिकता र राहदानी लिएका विदेशी नागरिकहरूमा दावा छिरिङ भनिने निमा तामाङ, पासाङ तामाङ, सोनाम लामा, तेन्जिङ गुरुङ, राम लामा र पछि फेला परेका तेन्जिङ सोनाम तामाङ रहेका छन् । पक्राउ परेका विदेशीहरूको साथबाट बरामद भएका कागजातका आधारमा पछिल्लो पटक तेन्जिङ सोनाम तामाङको नामको नागरिकता र राहदानी फेला परेको सीआईबीले जानकारी दिएको थियो ।

‘चिनियाँ नागरिक ली नेङकाईको साथमा राम लामा र सोनाम लामा नामका दुईवटा राहदानी बरामद भएका थिए’, स्रोतले बतायो– ‘राम र सोनामले एकै दिन काभ्रेबाट २०७८ पुस ८ गते राहदानी लिएका हुन् । उनीहरूले लिएको राहदानी अनुसारको नागरिकता नम्बर भने गृह मन्त्रालयको रेकर्डमा भेटिँदैन ।’ राम लामाको जन्म २०५३ वैशाख १५ गते राखिएको छ । नागरिकता नभएकाले ठेगाना प्रस्ट छैन । १२५८९४५७ नम्बरको राहदानी लिएका रामको नागरिकता नम्बर ३०३०४१–२२५४ हो । यो जिल्लाको अभिलेखमा नक्कली हो । यस्तो खालको नम्बर काभ्रेबाट जारी भएको नागरिकतामा छैन ।

सोनामको राहादानी नम्बर १२५८९४५६ र नागरिकता नम्बर ३०३०४२–२२५४ हो । जन्ममिति २०५३ भदौ ७ राखिएको छ । नागरिकता र राहदानीको नम्बरसँगै छ । उनीहरू दुवै जना नेपाली हैनन् । प्रहरीको रेकर्डमा भने दावा, सोनाम र रामको मात्रै नागरिकता फेला परेको छ । सीआईबीले गरेको अनुसन्धानमा पासाङ, तेन्जिङ र तेन्जिङ सोनाम थपिएका छन् । तेन्जिङको राहदानी नम्बर ११८८०३१ हो । २०२०–२–२४ अर्थात् २०७६ फागुन १२ गते काभ्रेपलाञ्चोक जिल्लाबाट लिएको राहदानीमा २०३९ जेठ २४ गते जन्ममिति राखिएको छ ।

‘सीआईबीले गरिरहेको अनुसन्धानबाट निमा भन्ने दावा तामाङले आफूसहित अन्य ५ जनालाई काभ्रे जिल्लाबाट नागरिकता तथा राहदानी उपलब्ध गराएको खुलेको छ’, स्रोतले भन्यो– ‘केहीलाई नागरिकता र राहदानी दुवै र केहीलाई फर्जी नागरिकताका आधारमा सक्कलै राहदानी दिलाएको गृह मन्त्रालयको रेकर्डमा देखिएको छ ।’ दावाको सेटिङमा राजनीतिक दलका उच्च पदस्थ नेता तथा केही कर्मचारी खुलेर नै सक्रिय भएको पनि सीआईबीले अनुसन्धानमा फेला पारेको थियो । तर, पनि राजनीतिक संरक्षणका आडमा त्यसतर्फ अनुसन्धानको सुई घुम्न पाएन । राहदानीको १५ लाख र नागरिकताको ५ लाख रुपियाँमा बिक्री गरेको स्रोतले बतायो । केही कर्मचारी कारबाहीमा परे । अहिले पनि मुद्दा खेपिरहेका छन् ।

दावाले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका ११ का पेमा तामाङको छोरा बनेर नागरिकता लिएको गृहमन्त्रालयले बनाएको छानबिन टोलीले पुष्टि गरेको थियो । उक्त विषयमा छानबिन गर्न २०८० साउन २२ गते गृह मन्त्रालयको नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव कृष्णबहादुर कटुवालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो । नेपालमा बेल्जियमको नागरिकका रूपमा पर्यटक भिसामा आएको अवस्थामा उनी पक्राउ परेका थिए । उनले नेपाली नागरिकता लिएको पाइएपछि तथ्य पुष्टि गर्न अनुसन्धान टोली गठन गरिएको थियो ।

दावालाई २०८० साउन १३ गते शनिवार राजस्व अनुसन्धान विभागले पक्राउ गरेको थियो । ठमेलको होटल भियानामा छापा मारी उनलाई पक्राउ गरिएको थियो । १७ वर्षअघि पनि उनी पक्राउ परेका थिए । उनले २०७४ पुस २० गते नागकिरता लिएको खुलेको थियो । उनीसहित अन्य केही व्यक्तिले पनि नेपाली नागरिकता लिएको खुलेको छ । केहीसँग भारतीय आधार कार्डसमेत भेटिएको थियो । २०८० साउन ३ गते ब्रेक सुमा राखेर ल्याइएको ६० किलो सात सय १६ ग्राम सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । नेपाल बस्दा दावाको सम्बन्ध र सम्पर्क माओवादी नेता कृष्णबहादुर महरासँग देखिएको थियो । उनले नेपाली युवती रोल्पा घर भएकी अमला रोक्कासँग विवाह गरेको कागजात पेस गरेका थिए ।

दावा फरार हुँदा राजनीतिक संरक्षणको आशंका
सुन तस्करीमा संलग्न तिब्बतियन मुलका बेल्जियम नागरिक नेपाली नाम निमा तामाङ भनिने दावा छिरिङ २०८० साउन १३ गते शनिवार राजस्व अनुसन्धान विभागबाट पक्राउ परेका थिए । भदौ २३ र २४ गतेको आन्दोलनपछि २५ गते जेलबाट भागेका दावा पक्राउ परेका छैनन् तर सुन तस्करीको अभियोगमा उनै दावासँग सम्पर्क देखिएका कृष्णबहादुर महरा भने पक्राउ परेका छन् । उनिसँग अन्य केही नेताहरूको पनि सम्बन्ध देखिएको श्रोतले बतायो ।

नेपाल बस्दा दावाको सम्बन्ध र सम्पर्क माओवादी नेता कृष्णबहादुर महरा र अन्य केही नेतासँग देखिएको थियो । उनले नेपाली युवती रोल्पा घर भएकी अमला रोक्कासँग विवाह गरेको कागजात पेस गरेका थिए । अमलाका श्रीमान् अझै पनि रोल्पामा नै छन् । उनीहरूबीच सम्बन्ध विच्छेद पनि भएको छैन । उनी फरार थिइन् । पछिल्लो समय उनलाई अदालत उपस्थित गराएर धरौटीमा रिहा गरिएको थियो ।

ठमेलको होटल भियानामा छापा मारी दावालाई पक्राउ गरिएको थियो । १९ वर्षअघि पनि उनी पक्राउ परेका थिए । उनले २०७४ पुस २० गते काभ्रेबाट नागकिरता लिएको खुलेको थियो । उनीसहित अन्य केही व्यक्तिले पनि नेपाली नागरिकता लिएको खुलेको छ । केहीसँग भारतीय आधार कार्डसमेत भेटिएको थियो । २०८० साउन ३ गते ब्रेक सुमा राखेर ल्याइएको ६० किलो सात सय १६ ग्राम सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।