उग्रवादी संगठनको नाममा आतंक

गृहप्रशासनद्वारा व्यापक खोजी, दुईजना पक्राउ


काठमाडौ ।

एक्सट्रिमिस्ट (उग्रवादी) समूह नेपालका नाममा विगत केही दिनदेखि मुलुकमा आतंक मच्चाउने काम गरिएको छ । यो समूहले संवैधानिक अंगका प्रमुखलगायत मुलुकका १० जना उच्च पदस्थहरूलाई १० दिनभित्र राजीनामा नदिए ज्यान मार्ने धम्की दिएपछि आतंक सिर्जना भएको हो ।

साथै यो समूहले आफ्ना तीनवटा मागहरू रहेको भन्दै एउटा पत्रमार्फत आफ्ना तीन माग सार्वजनिक गरेको छ । जसअनुसार सुशीला कार्की नेतृत्वको सरकार हटाउने, त्यसपछि अर्को सरकार गठन गर्ने र हिन्दु राज्य कि गणतन्त्र भन्नेबारेमा जनमत संग्रह गर्नुपर्ने माग उग्रवादी समूहले राखेको छ ।

उग्रवादी समूहले २२ अक्टोबर २०२५ मा एउटा पत्रमार्फत वर्तमान सरकार हटाएर नयाँ सरकार बनाउनुपर्ने माग राखेको थियो । त्यसपछि सोही समूहले २९ नोभेम्बरमा फेरि अर्को पत्र पठाउँदै संवैधानिक निकायका प्रमुखलगायत उच्च पदस्थहरूलाई १० दिनभित्र राजीनामा नदिए ज्यानै मार्ने धम्की दिएको छ । त्यो उग्रवादी समूहले उच्च पदस्थहरूलाई पत्र नै पठाएर ज्यान मार्ने धम्की दिएपछि सरकारको शान्ति सुरक्षामा चुनौती थपिएको छ । मुलुकमा सुशासन स्थापना गर्न हरपल सक्रिय रहँदै आएको संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत अन्य उच्च निकायका पदाधिकारीहरूमाथि ज्यान मार्ने धम्की दिएर सो उग्रवादी समूहले सुशासनको गति रोक्न खोजेको स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार वर्षौंदेखि भ्रष्टाचारमा लिप्त रहँदै आएका केही व्यक्तिहरूले सो उग्रवादी समूहको प्रयोग गरी अख्तियारलाई धम्काउन खोजेको र भ्रष्टाचार मुद्दा अघि बढाउन रोक्न खोजेको हुन सक्छ । साथै अख्तियारले मुलुकलाई नै खोक्रो बनाउने गरी भ्रष्टाचारमा संलग्न केही ठूला माछाविरुद्ध यसअघि पनि भ्रष्टाचार मुद्दा दायर गरिसकेको र अहिले पनि त्यस्ता केही ठूला माछाहरूलाई भ्रष्टाचार मुद्दा दायर गर्ने गृहकार्यलाई तीव्रता दिएपछि त्यस्ता भ्रष्ट व्यक्तिहरूकै योजनामा अख्तियारलाई धम्काउँदै मनोबल कमजोर पार्न खोजिएको बताइएको छ । यद्यपि, अख्तियार भने आफ्नो अनुसन्धानमा निरन्तर जुट्दै र ठूला भ्रष्टाचारीविरुद्ध मुद्दा दायर गर्ने क्रममा अघि बढिरहेको छ ।

सोही क्रममा अख्तियारले बिहीबारमात्रै कालिन्चोकस्थित हेलिपोर्ट निर्माणमा झन्डै १४ करोड अनियमितता गरेको आरोपमा नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलगायत ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि भ्रष्टाचारीहरू झनै तिलमिलाउन थालेका छन् । केही भ्रष्टाचारीहरूकै योजनाअनुसार उग्रवादी समूह बनाएर संवैधानिक निकायका पदाधिकारीहरूलाई मानसिक रूपमा कमजोर बनाउने प्रपञ्च रचिएको हुन सक्ने गृह मन्त्रालयका अधिकारीहरूको अनुमान छ ।

यसले गर्दा गृह प्रशासनको समेत टाउको दुखाइ भइरहेको छ । सो उग्रवादी संगठनका अध्यक्ष प्रकाश पाठकले केही दिनअघि मात्रै एउटा भिडियो सार्वजनिक गर्दै संवैधानिक निकायका पदाधिकारीलाई तत्काल राजीनामा नदिए ज्यान मार्ने धम्की दिनुभएको छ । उहाँले सो भिडियो कहाँ बसेर बनाएको हो भन्नेमा सुरक्षा निकायसमेत अनविज्ञ देखिएको छ ।

यद्यपि, प्रहरीले भने सो उग्रवादी संगठनमा आवद्ध भएर मुलुकमा आतंक मच्चाउन उद्यत रहेको आरोपमा २ जनालाई पक्राउ गरेको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका एक अधिकारीका अनुसार उग्रवादी समूहको अध्यक्षका रूपमा रहेका र धम्कीसहितको भिडियो सार्वजनिक गर्ने प्रकाश पाठक भन्ने व्यक्ति फिलिपिन्समा रहेको हुन सक्ने अनुमान सुरक्षा अधिकारीहरूले गरेका छन् । ‘फिलिपिन्समा रहेका भनिएका उनी पछिल्ला दिनमा भारतमा आएको हुन सक्ने अनुमान छ’ –गृह मन्त्रालयका एक अधिकारीले नेपाल समाचारपत्रसँग भने ।

उग्रवादी संगठनले त्यसरी धम्की दिएपछि संवैधानिक निकायका उच्च पदस्थहरू र अन्य पदस्थहरूले आतंक र भयको महसुस गर्नुपरेको छ । ‘यस्ता खालका उग्रवादीहरूलाई समयमा नै पक्राउ नगर्ने हो भने भोलि जसलाई पनि यस्ता आतंकले समस्या पार्न सक्छ, यस्ता प्रवृत्तिले मुलुकको शान्ति सुरक्षा र अमनचयनलाई खलल पार्न सक्छ र २१ फागुनको निर्वाचनलाई नै अवरुद्ध गराउन सक्छ’ –एक उच्च अधिकारीले नेपाल समाचारपत्रसँग भने ।

उच्च पदस्थहरूलाई त्यसरी धम्की दिएको सूचना सार्वजनिक भएपछि गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेख्दै यस विषयलाई उच्च प्राथमिकतामा राखी छिटोभन्दा छिटो छानबिन गरी दोषीलाई पक्राउ गर्न र कानुनी कारबाही थाल्न निर्देशन दिएको छ ।