ललितपुर १६ र हस्तकला महासंघ मिलेर पाटनदरबार क्षेत्रमा मेला


ललितपुर।

ललितपुर महानगरपालिका– १६ वडा कार्यालयले नेपाल हस्तकला महासंघसंग मिलेर बुधबार कला तथा सांस्कृतिक मेला आयोजना गरेको छ ।


वडा कार्यालयले हस्तकला प्रवद्र्धन गर्न वर्षेनी लाखौं बजेट रकम छुट्याएर विभिन्न मेला, उत्सव आयोजना गर्दै आएकोमा यस पटक महासंघसंग सहकार्य गरेर सो मेला आयोजना गरेको हो।आईतबारसम्म चल्ने सो मेलाको वडा कार्यालयले ८ लाख बजेट विनियोजित गरेको वडाअध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभयो।

मेलाको एक समारोहकाबीच बागमती प्रदेश उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री विन्दु श्रेष्ठले शुभारम्भ गर्नुभयो।
सो अवसरमा मन्त्री श्रेष्ठले नेपाली मौलिक हस्तकलाका सामग्री प्रवद्र्धन गर्न सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
समारोहमा नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्यले हस्तकलाका सामग्री बनाउने र व्यवसाय गर्ने अर्को पुस्ता नरहनेमा चिन्ता व्यक्त गर्दै हस्तकलामा पुस्ता हस्तान्तरणको आवश्यकता रहेको बताउनुभयो। अध्यक्ष शाक्यले अबका दिनमा हस्तकला व्यवसायलाई आर्थिक उन्नतीसँग जोड्नुपर्ने बेला आएको बताउँदै विदेश पलायन हुने युवालाई रोक्न हस्तकला व्यवसायलाई युवाको पेशा बनाउनुपर्नेमा जोड दिनुभयो।

महोत्सवका अवधिभर पाटन दरबार स्क्वायर क्षेत्र र पाटन संग्रहालय परिसरमा हस्तकला प्रदर्शनी गरिएका छन् । त्यसका साथै महोत्सवमा ललितपुर–१६ को हस्तकला प्रवद्र्धन समितिबाट बुद्ध धर्म अनुसार दश कर्ममा प्रयोग हुने गरगहना, जातीय पोशाक प्रदर्शनी हुने छ भने सोही वडाको सांस्कृतिक समितिबाट शास्त्रीय संगीत, चर्या नृत्य, अष्टमात्रिका नाच, कार्तिक नाच, लोकनृत्य तथा नेवारी धाः बाजा, दमोखिँ बाजा र नेपाल भाषाका लोकगीत प्रस्तुत गरिने कार्यक्रम छ ।

महोत्सवका क्रममा महासंघले कोरियास्थित आईएमएसीओको सहकार्यमा आयोजना गर्न लागेको मुखौटा प्रदर्शनी गर्दैछ । उक्त प्रदर्शनीमा नेपालका ६० ओटा र दक्षिण कोरियाका ४० ओटासहित १०० हस्तनिर्मित मुखौटा प्रदर्शन हुनेछन् ।