काठमाडौं ।
दशरथ रंगशालामा यसै साता सुरु हुने साफ महिला क्लब च्याम्पियनसिपको टिकट खल्तीले विक्री गर्ने भएको छ ।
प्रतियोगिता मंसिर १९ गतेदेखि हुनेछ । दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्नेछन् । नेपालबाट एपीएफ फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछ । यस्तै, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको खेलहरू सिंगल राउण्ड रोविनका आधारमा हुनेछ ।े विजेताले १० हजार अमेरिकी डलर र उपविजेताले ५ हजार अमेरिकी डलर तथा बाँकी तीन टोलीले समान २ हजार अमरिकी डलर प्राप्त गर्नेछन् ।
सहभागी टिमलाई प्रशिक्षणको लागि च्यासलस्थित च्यासल रंगशाला र भद्रकालीस्थित नेपाली सेनाको खेल मैदानमा व्यवस्था गरिएको छ । प्रतियोगिताको लागि एन्फाले दुई खालको टिकटदर कायम गरेको छ । साधारणतर्फ ३ सय र भीआईपीतर्फ ५ सयको टिकट मूल्य राखिएको छ । टिकट खल्ती एपमार्फत खरिद गर्न सकिनेछ ।
प्रतियोगिताको लागि अनुमानित बजेट ३ करोड ७७ लाख ७७ हजार ९० रुपैयाँ रहेको छ । प्रतियोगिताको पहिलो खेल डिसेम्बर ५ मा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट लेडिज एफसीबीच हुनेछ । साँझ घरेलु टोली एपीएफ क्लबले नसरिन स्पोट्र्स एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ ।











प्रतिक्रिया