काठमाडौँमा प्रहरीमाथि कुटपिट र लुटपाटः दुई जना पक्राउ


काठमाडौँ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय (KV-CIO) अन्तर्गत PCCB जनसेवा टोलीमाथि कुटपिट र लुटपाट गरेको आरोपमा दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। गत भदौ २४ गते काठमाडौँ महानगरपालिका–२४ स्थित विशालबजार क्षेत्रमा भएको प्रदर्शनका क्रममा प्रहरीलाई घेराबन्दी गरी कुटपिट तथा साथमा रहेको धनमाल लुटिएको घटना अब अनुसन्धानको दायरामा पुगेको छ।

कार्यालयका अनुसार फरार अभियुक्तको खोजी तथा स्रोत सूचनाका आधारमा ४१ वर्षीय निरज चित्रकार र ४० वर्षीय राज कुमार क्षेत्री काठमाडौँ महानगरपालिका–२०, काष्ठमाण्डप मरुटोलबाट मंगलबार पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ।

अनुसन्धानका क्रममा पक्राउ परेका निरज चित्रकारमाथि यसअघि पनि ज्यान मार्ने उद्योग मुद्दा दर्ता भइसकेको प्रहरीले जनाएको छ। प्रहरी वृत्त जनसेवामा दर्ता भएको सो मुद्दा अझै प्रक्रियामा रहेको बताइएको छ।

प्रहरीका अनुसार भिड–व्यवस्थापनका क्रममा सरकारी कर्मचारूमाथि आक्रमण गर्नु, कुटपिट गर्नु र धनमाल लुटपाट गर्नु गम्भीर अपराधका रूपमा लिइन्छ। सो घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचानका लागि थप अनुसन्धान जारी रहेको बताइएको छ।

प्रहरीले सार्वजनिक सुरक्षामा आक्रमण हुने घटना दोहोरिन नदिन कडाइका साथ नियन्त्रण र कानूनी कारबाही अघि बढाइने जनाएको छ।