काठमाडौँ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार, समानता, समावेशिता र सम्मानलाई सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
अपाङ्गता भएका व्यक्तिहरूको ३४ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा मूल समारोह समितिले बुधबार भृकुटीमण्डप परिसरमा आयोजना गरेको समारोहमा मन्त्री खरेलले सरकारले अपाङ्गतामैत्री नीतिगत र संरचनागत सहकार्य गर्ने विश्वास व्यक्त गरे।
मन्त्री खरेलले अपाङ्गता भएका व्यक्तिहरुको सहयोगी निर्देशिका चाँडै कार्यान्वयनमा ल्याइने विश्वास व्यक्त गरे । उनले भने, “यसअघि राजनीतिक दलका नेताहरुले गर्छु भने गरेनन् । तर, म गर्छु भन्दिन गरिसकेपछि गर्याैं है भनेर भनौंला । हाम्रो देशमा गर्छु भन्ने रोग छ ।”
सञ्चारमन्त्री खरेलले सरकारको तर्फबाट निर्देशिका कार्यान्वयन ल्याउने र कम्तिमा सानो रुपमा भए पनि गम्भीर रुपमा अपाङ्गता भएका नेपाली दाजुभाइ दिदीबहिनीका लागि केही न केही प्रक्रियाको प्रारम्भ गरिने स्पष्ट पारे । मन्त्री खरेलले सामाजिक न्याय, समता, समानता तथा विवेधरहित समाज निर्माण र सामाजिक विभेदहरुको अन्त्य गर्न सरकार प्रतिबद्धतासाथ लाग्ने बताए ।
सञ्चारमन्त्री खरेलले सप्रधानमन्त्री सुशीला कार्कीले पनि दिवसको अवसरमा शुभकामना सन्देशमा पनि सरकार अपाङ्गता भएका व्यक्तिहरुको साथमा रहेको जानकारी गराई सक्नुभएकाले यसलाई अगाडि बढाउने कुरामा सरकारलाई सहयोग पुग्ने बताए । उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई कसरी अपाङ्गमैत्री बनाउन सकिन्छ, नीतिगत र संरचनागत रुपमा कार्यान्वयन गर्न मन्त्रालय सहकार्य गर्न तयार रहेको उल्लेख गरे।
सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री खरेलले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न सम्पूर्ण वातावरण बनिसकेको र सरकार निर्वाचन गराउने प्रक्रियामा अगाडि बढिसकेको बताए । उनले अगाडि भने, “सरकारको ६ महिने अवधिको मुख्य दायित्व फागुन २१ गते निर्वाचन सम्पन्न गर्नुपर्नेछ, निर्वाचन जसरी पनि हुँदैछ, त्यसको सम्पूर्ण वातावरण बनिसकेको छ, सरकार यसमा दृढ छ । निर्वाचनसँगै सुशासन प्रवर्धन र भ्रष्टाचार नियन्त्रणमा सरकार दृढतापूर्वक अगाडि बढेको छ ।”
खुलामञ्चबाट सुरु भएको प्रभातफेरी भृकुटीमण्डपमा आएर सभामा परिणत भएको थियो । प्रभातफेरीमा सङ्घ, प्रदेश र स्थानीय तहका प्रतिनिधि, सरोकार भएका निकाय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्काउटका प्रतिनिधि सहभागी थिए ।











प्रतिक्रिया