
सिन्धुली ।
सिन्धुलीको फिक्कल गाउँपालिका–१ महादेवडाँडाका किसानहरु पछिल्लो समय किवी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । पहिलेदेखि मकै, आलु, तरकारीजस्ता परम्परागत बालीमा निर्भर कृषक अहिले किवी खेतीबाट मनग्य आम्दानी गर्न सफल भएका छन् ।
स्थानीय बासिन्दाहरू परम्परागत बालीभन्दा राम्रो उत्पादन र आम्दानी प्राप्त हुन थालेपछि किवी खेतीतर्फ आकर्षित हुन थालेका हुन् । कृषकहरूका अनुसार केही वर्षअघिदेखि परीक्षणका रूपमा लगाइएको किवी बगैँचाले अहिले व्यावसायिक रूप लिन थालेको छ । उच्च पहाडी भेगमा पर्ने भएकाले यहाँको चिसो मौसम किवी खेतीका लागि अत्यन्त अनुकूल मानिएको छ ।
फिक्कल गाउँपालिका–१ महादेवडाँडा, नगदहका कृष्ण काफ्लेले २०७२ सालमा करिव एक सय बोटबाट किवी खेती शुरु गर्नुभएको थियो । अहिले उहाँको ४ बिघा जमिनमा रहेको बगैँचामा ६÷७ सय बढी किवीका बोटहरु रहेका छन् । दुई दाजुभाइ मिलेर गरिएको खेतीबाट एक सिजनमा १० टनभन्दा बढी किवी उत्पादन हुने गरेको कृषक काफ्लेले बताउनुभयो । कृषक काफ्लेका अनुसार किवी खेतीबाट वार्षिक १५ लाख बढी आम्दानी लिँदै आउनुभएको छ । ‘अहिले केजीको २ सयले विक्री हुँदै आएको छ । १० टन उत्पादन हुँदा झन्डै १५÷२० लाख रुपियाँ आम्दानी लिन्छौँ । आम्दानी भएको अधिकांश पैसा यहीँ लगानी गर्छौं । अहिले झन्डै एक करोड बराबरको लगानी भइसकेको छ’, काफ्लेले भन्नुभयो ।
उहाँ मात्रै होइन, किवी खेतीबाट लाखौं रुपियाँ कमाउने महादेवडाँडामा धेरै कृषकहरु भेटिन्छन् । ५० बोटबाट शुरु गर्नुभएका महादेवडाँडा, माझखर्क गाउँका हिमाल बुढाथोकीको बगैँचामा अहिले ४ सय ५० बढी किवीका बोटहरु रहेका छन् । उहाँले यो वर्ष झन्डै १५ क्वीन्टल किवी उत्पादन गर्नुभएको छ । उत्पादन भएको किवी सिन्धुली जिल्लाकै बजारमा बिक्री हुने गरेको उहाँले बताउनुभयो ।
महादेवडाँडाकै रामकुमार कार्कीले ४५ रोपनीमा किवी खेती गर्नुभएको छ । किवी खेतीबाट उहाँले पनि मनग्य आम्दानी गर्दै आउनुभएको छ । अरु बालीभन्दा किवी खेतीबाट धेरै गुणा बढी आम्दानी हुने उहाँले सुनाउनुभयो ।
राम्रो उत्पादन हुने भएपछि महादेवडाँडालाई किवी पकेट क्षेत्र बनाइएको छ । फिक्कल गाउँपालिका, प्रदेश सरकार लगायतले किवी खेती विस्तार र व्यवसायीकरण गर्नका लागि विभिन्न योजना र कार्यक्रम सञ्चालन गरेका छन् । फिक्कल गाउँपालिका वडा नम्बर १ कार्यालयका अनुसार यस वडाका एक सय बढी किसानहरुले किवी खेती गर्दै आएका छन् ।











प्रतिक्रिया