हामीले धेरैपल्ट प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र पाएका छौँ तर त्यसको उपलब्धि भनेको नेताका लागि इमोसन र जनताका लागि टेन्सन एवं डिप्रेसन भएको छ । युवाहरु पोखिएरै खाडी जाँदै गर्दा नयाँ पुस्ताले लोकतन्त्रको असन्तोषलाई यो साल मुखरित गरेको छ, भदौमा । तर हातमा आयो नथिङ भइरहेको छ । जेन्जी आन्दोलन तुहिएका संसारका घटनाहरु धेरै छन्, उल्टै आन्दोलनकारीहरुलाई खेद्ने कर्म भइरहेका उदाहरण विश्वमै धेरै छ । हामीकहाँ संविधान उही, राष्ट्रिय सभा जीवित, सबै संयन्त्र उही, राजनीतिक लगायतका सबै संरचना उही तर सडकबाट प्रधानमन्त्री फरक आएको अवस्था छ । हेलिकोप्टर मगाएर ज्यान जोगाउनेहरुको अहंकार र हुंकार बढ्दै छ, उस्तै छ । भदौको आन्दोलनको छानबिन आयोग के गर्दै छ ? थाहा छैन, अढाइ महिनासम्म घटना घटाउनेहरुलाई सोध्नसम्म सकेको छैन, झारा टराइको प्रतिवेदन पुस्तकालयका लागि आउने जस्तो आभास भएको छ । सेनाले हामी त यसमा होइनौँ भनेको छ, प्रहरी छैनन् रे संलग्न । नेताजीहरुलाई त यो लोकतन्त्र बोनस नै हो, छुन सक्ने कुरै भएन । नेपाली आमाको सिउँदो धोइयो, सिंहदरबार खरानी भयो, संरचनाहरु ध्वस्त भए, कलिला मान्छे शहीद भए, बस् आन्दोलनको उपलब्धि यही देखिएको छ अहिलेसम्म र त भन्नुपरेको छ राजनीतिकर्मीहरुका लागि लोकतन्त्र आलिशान, इमोसन, करप्सन, उच्चासन जे–जे भने पनि जनताका लागि भने अवसान, टेन्सन र डिप्रेसन ।
गतिलो लोभतन्त्रले निर्मलाहरुलाई न्याय दिएन । मंसिरको १५ दिन लैंगिक हिंसाविरुद्धको अभियानको दिन हो, अहिले । लोकतन्त्रले छरपस्ट एजेन्डा ल्यायो, पढेर भ्याइएन तर एजेन्डाको कार्यान्वयनतिर लागेन र भाग्यो आपैmँ, जब बालुवाटारदेखि शीतलनिवास र सिंहदरबार जल्न थाल्यो, दुई दिनको प्रेडिक्सन गर्न नसक्ने राज्य संयन्त्रहरु बोकेर देश लुछ्दै बसिरहेको थियो सिंहदरबार र बालुवाटार । विगत पाँच वर्षको मात्र कुरा गर्दा पनि यसले उब्जाएको व्यापारघाटा, चामलको आयात, ऋण र युवा निर्यातको आँकडा डरमर्दो छ । भटमासको कच्चा तेल आयात गरेर सुविधाको निर्यातबापत अंक बढाएको देखाउने हाम्रो लोकतन्त्रले पूँजीगत खर्च असारे, डोजरे गरेको छ । चालू पूँजीमा नाम कमाएको छ, बेरुजुमा अब्बल छ । स्थानीय तहमा जनशक्ति पठाउन सकेको छैन, मनपरि खर्च त्यहीँ बढी छ । संघीय निजामती ऐन नल्याई कुलिङ पिरियडको होमवर्क दिएर आपैmँ बिदा भएको छ । शिक्षा र स्वास्थ्य क्षेत्र कतै राम्रो देखिएको छैन । बिमामा साह्रै ठूलो हल्ला गरेको, दूधको भुक्तानी, उखुको भुक्तानी नदिएको, रासायनिक मल आपूर्ति गर्न नसकेको र शान्ति सुरक्षा चुनौतीपूर्ण रहेको विगतको तीतो अनुभव छ नेपालीहरुसँग । लैंगिक हिंसा अन्त्य गर्ने घोषणा गरेको तर अन्य दिवस र घोषणाका जस्तै उधारो कुरा धेरै छ र पछिल्लो पाँच वर्षमा हत्या, हिंसा, बलात्कार, बाल यौनशोषण, महिला हिंसा, बहुविवाह, जबर्जस्ती करणी, मानव बेचबिखनका घटनाहरु प्रहरीमा दर्ता भएकै करिव ७ सय बढी घटनाहरु छन् । पछिल्लो समय रोल्पाका राजु, कपिलवस्तुका हफिजुल्लाह, दाङका कुमारहरु प्रतिनिधि पात्रहरु मात्र हुन्, जसले महिलाप्रति अन्याय गरे, आफ्ना परिवारमा वा प्रेमिकामा । भट्टामा मान्छे जलाउनेलाई म संरक्षण दिन्छु भने, कति हिम्मत ठूलो ।
यौन हिंसा, महिलाप्रतिको विभेद कम भएन, बढेको छ । आव २०७७।०७८ पछि मात्रै पनि यस्ता १२ हजार बढीका जबर्जस्ती करणीका समेत मुद्दा छन्, बोक्सी घोषित पनि कम छैनन्, घरेलु हिंसा कति धेरै छन् । राजनीतिक नेतृत्व आफ्नै पृष्ठभूमि सफा नभएकाले पनि सामाजिक संरचना सफा पार्न सकेन उसले । नैतिकता र चोखो समाज निर्माणका लागि नेतृत्व नै पहिले चोखो हुन जरुरी छ । मुहान सफा नभएसम्म धाराको पानी सफा हुन्न । रगतको आहाललाई अग्रगमन सम्झनुपर्ने हाम्रो समाजको मान्यता रह्यो । दलहरुको हुंकार र चेतावनीलाई नै प्रणव गायत्री मन्त्र मानिदिनुपर्ने, सशस्त्र आक्रमणलाई लोकतन्त्र भनिदिनुपर्ने छाडा भोकतन्त्र र लोभतन्त्रलाई नै इमानदार र सुशासन भनिदिनुपर्ने र सबैतिर ह्वीप जारी भइरहने प्रणालीलाई हामीले जनताको लागि आएको सबल, सक्षम र युगान्तकारी गणतन्त्र भनिदिनुपर्ने अवस्था नै पछिल्लो हाम्रो उपलब्धि हुन गयो । अन्ततः यो लोकतन्त्रले केन्द्रीय प्रशासन सिंहदरबारको आफ्नो सान र इमान, इतिहास कायम राख्न सकेन । कमसे कम नढलेको भए त हुन्थ्यो नि ! इतिहासको एकमात्र विरासत । वरिपरिको नक्सा त तत्काल खोजिएको थिएन तर सिंहदरबारको सान पनि यसै लोकतन्त्रले खाइदिएको होइन र ?
लोकतन्त्रले धान बाली घटायो, गाईवस्तु कुल्चनुपर्ने खेतबारीमा विदेशी इन्धनको मेसिन कुदाएर आली–कान्ला मात्रै सिध्याएन, रोपार, लाठे, हली, बाउसेहरुलाई खाडीतिर धकेल्यो र यसलाई उन्नत अर्थतन्त्रको विप्रेषण भन्दै देश संसारमै अब्बलरुपमा चिनियो । धेरै युवा खाडीबाट बाकस बन्दीमै फर्किए । नाना, छाना, खाना आपूर्ति त लोकतन्त्रको जनता ढाँट्ने मेलोमेसो मात्रै भयो । भन्ने सुशासन तर दिने दुःशासन र कुशासन । राजन्ीितिकर्मीका लागि सधैँ दशैँ अनि अरुका लागि सधैँ बसाइँ र एक चिहान भइरह्यो । भूकम्प, कोरोना, बाढी, पहिरो, नाकाबन्दी, डिंगुले थलिएका नेपालीमाथि अर्को वज्र प्रहार पर्न गयो, ७२ जना बढी केटाकेटी निमोठेर खायो लोकतन्त्रले । भोको बाघजसरी आएको यो लोकतन्त्र १२बुँदेको उपज थियो, अब त्यसको गन्ध बाँकी भएजस्तो लाग्दैन र त्यसका संवाहकहरुको बसाइँ सराइ भइसकेको छ । पुरानो संस्था र धर्मलाई खोपामा थन्क्याएको यो लोभतन्त्रले व्यास पीठको पण्डित भनेन, गाईको आन्द्रा पनि भनेन, शिक्षक, सिडियो, प्रहरी, सेना, स्वास्थ्यकर्मी वा वकिल, न्यायमूर्ति केही भनेन, ढाल्नसम्म ढाल्यो र पछि आपैmँ ढल्यो रुख ढलेभैmँ । भाद्रको आँधीबेहरी ‘न भूतो न भविष्यति’ कसैले कल्पनै गरेको थिएन । राजदरबार अकल्पनीय काण्ड भनियो, त्योभन्दा ठूलो थियो यो दिउँसोकै, सबै मरेतुल्य थिए, हेलिकोप्टरको तुइनको सहारा लिँदै थिए, भैँसेपाटीमा असुरक्षित हुँदा हेडक्वाटर सोहोरिएकाहरुका कारण नक्साल हेडक्वाटरसमेत असुरक्षित देखिन्थ्यो । भाटभटेनीहरुलाई राजनीतिमा ल्याइएकाले यी पनि यसैमा परे । व्यापारिक घरानियाहरु अरु पनि परे र ठूला भन्नेहरुका निजी आवासहरु पनि कुनै बाँकी रहेनन् । छानबिन त हुन्छ तर कारबाही हुँदैन । पहिले पनि यस्तै भएको थियो, छयालीसतिरदेखिकै निरन्तरता ।
नेपालको सन्दर्भमा नेता भनेको जनतालाई न यता न उता बनाउने हो । नेताले केवल चुनाव हेर्छ तर राजनेताले देश हेर्छ, जनता हेर्छ, देश र जनताको भविष्य हेर्छ । सात सालदेखि यहाँ उत्पन्न नेताहरुले जनताको उठिबास गराए, देश त जलाए नै, आर्थिक विषम परिवेशमा धकेले, मान्छे सिध्याए, अहिले नाम बदल्न लागेका छन् । रामशाहपथमा संसद् पुनर्वहाली गर्नुपर्छ भन्छन्, उसै दिन बहादुरभवनतिर गएर चुनावमा लड्छौँ भनिरहेका छन् । बाँचेको संसद्लाई आफू भए कोमामा पु¥याउने र अरुले विघटन गरे बिउँताउनुपर्छ भन्दै वकालत गर्छन् । दुई चरित्र मात्रै होइन, देश बहुध्रुवमा गएजस्तै हाम्रा देश सञ्चालकहरुको बहुजिव्रो, दुवै हातले खान्छन् यी । भन्छन् सुशासन, दिन्छन् कुशासन र भ्रष्टाचारको पहाड । देश पहाडी छ, पहाड र हिमाल सिँगारे हुन्थ्यो, भ्युटावर सिँगार्छन् र नचल्ने विमानस्थलहरु बनाउँछन्, कमिसन मोहले जो जससँग पनि रात विरात भेटघाट गर्छन् । राजनेतामा भिजन आवश्यक हुन्छ, मिसन पनि, स्रोत र साधन देशहितमा प्रयोग हुनुपर्छ तर हाम्रा राजनीतिकर्मीहरु व्यक्ति र परिवार हितमा काम गर्छन् र समावेशी कोटामा आफ्नै परिवारलाई समावेश गराउँछन् । सिंगापुरका लि क्वान, अमेरिकाका लिंकन, ओबामाहरु, चीनका सि जिन पिङ, मलेसियाका महाथिर, भारतका गान्धी, मोदीहरुको आदर्शलाई चिन्दैनन् यी । तिनले देशलाई के गरे, के गर्दै छन् यादै हुन्न । विकासोन्मुखको स्तरमा जाँदा सुविधा छुट होला, यिनलाई डर छ । समानताको वकाललत गर्दै पक्षपात गर्छन् । हाम्रा नेताहरुले गणेशमानलाई बिर्से, बीपी, केपीहरु पनि । पुष्पलाल, मदनहरुको विरासत बिर्से । महेन्द्रको १० बर्से राज्यकालको प्रगतिलाई धूलो बनाए । आफ्ना गुरुहरु नचिन्ने कार्यकर्ताहरुको भीड छ यहाँ । यसो भनौँ, नागरिकभन्दा दलका कार्यकर्ता छन् बढी, दलको दासता नस्वीकारी बस्नै नसक्ने, सत्ताबाहिर हुँदा बालुवाको माछा सम्झने र दुई कार्यकाल राष्ट्रपति भएका ओबामा कम्पनीमा काम गर्न जान्छन्, यहाँ भने दलमै फर्कन्छन् । डेनमार्ककी प्रधानमन्त्री साइकल चढ्छिन्, यहाँ प्राडो, पजेरो, हेलीहरु, चुसक, शोषक र सामन्ती हुन् हामा नेताहरु । कर कति छ अहिले, प्रयोग कहाँ भयो त ?
मार्ग महिनामा नेपाली आँगनमा धानको भारी हुन्थ्यो पहिले, जहिले यी दलहरुले देश जिम्मा लिएका थिएनन्, अहिले धानको होइन ऋणको भारी छ । र, अधिक करको मारमा जनता डिप्रेसनमा पुगेका छन् । मासिक रु. ५ मा ३ तलामाथि पानी जान्थ्यो, खानेपानी पहिले नियमित, अहिले कोटामा छ, हप्तामा केही समय, बिल कति आउँछ, जनताको हालत खराब छ, सफा त आउँदैन पानी । ट्राफिक जाम हे¥यो भने दिनभरिमा सानो एक काम पनि भ्याइँदैन । अधिक चिट काटेर सवारीहरुलाई हैरानी गरेकाले प्रहरीप्रति आम सर्वसाधारणको हेर्ने दृष्टि सकारात्मक छैन, पैसा ज्यादा असुल्नु परेकाले । दलहरुले शोषण गरेका छन् र जनताको, जनताका लागि, जनताकै हो शासन प्रणाली भन्ने लिंकनको प्रजातन्त्रको व्याख्यालाई गलत साबित गर्दै हाम्रो देशमा राजनीतिकर्मीहरुले लोकतन्त्र दलको, दलका लागि र दलले चलाउने तानाशाही प्रणाली भन्ने मान्यता स्थापित गरेका छन् । बुलेट अधिनस्थ ब्यालोट कति समय चलाउने हुन् दलहरुले र त वाकदिक भई जनता धकेलिएका छन्, विदेश र विप्रेषणको भारी देशले बोकिरहेको छ ।











प्रतिक्रिया