बिराटनगर इन्टरनेशनल कलेजको दीक्षान्त समारोह २०२५ सम्पन्न


काठमाडौँ
बिराटनगर इन्टरनेशनल कलेज (बिआइसी) ले आइतबार सोाल्टी वेस्टेन्ड, इटहरीमा आफ्नो वार्षिक दीक्षान्त समारोह–२०२५ भव्य रूपमा सम्पन्न गरेको छ । कलेजले यस वर्षका स्नातक विद्यार्थीको शैक्षिक उपलब्धि, समर्पण र कडा मेहनतलाई सम्मानपूर्वक उद्घोष गर्दै समारोह सम्पन्न गरेको हो ।
यस वर्ष कलेजका ६४ जना विद्यार्थीले स्नातक उपाधि प्राप्त गरेका छन् । तीमध्ये ५४ जना हन्स बिएससी इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट र १० जना बिएससी हन्स इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट मा दीक्षित भएका छन्। कलेजका अनुसार यी विद्यार्थीहरू अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धात्मक करियर यात्रामा अघि बढ्न सक्षम बनेका छन् ।

समारोहमा इनोभेट नेपाल ग्रुप (इन्ज) का संस्थापक एवं अध्यक्ष सुलभ बुढाथोकीले स्नातक बिद्यार्थीलाई बधाई दिँदै परिवर्तनकारी सोच, नेतृत्व क्षमता र सामाजिक जिम्मेवारीसहित अघि बढ्न प्रेरित गर्नुभयो ।

कार्यक्रममा कलेजको शैक्षिक साझेदार युनिभर्सिटी अफ वोल्भरह्याम्पटनका प्रतिनिधिले पनि उपस्थिति जनाउँदै स्नातकको अनुशासन, प्रतिबद्धता र मेहनतको प्रशंसा गरे। उनले विद्यार्थीको शैक्षिक यात्रा कलेज र विश्वविद्यालयबीचको सुदृढ साझेदारीको सफल नतिजा भएको टिप्पणी गर्नुभयो ।

बिराटनगर इन्टरनेशनल कलेजका अध्यक्ष तथा व्यवस्थापन टोलीले स्नातक–२०२५ लाई हार्दिक बधाई दिँदै उनीहरूले नेपालको व्यवस्थापन, उद्यम, आतिथ्य सेवा तथा विश्वव्यापी अवसरहरूको क्षेत्रमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेको छ।