एनपीएलमा जनकपुर बोल्ट्सको महत्वपूर्ण जीत, चितवन राइनोज ६ विकेटले पराजित


काठमाडौँ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा जनकपुर बोल्ट्सले महत्वपूर्ण जित दर्ता गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको पहिलो खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै लगातार हारको श्रृङ्खला तोडेको हो।

लगातार चार खेलमा पराजित हुँदै दवाबमा रहेको जनकपुरले पाँचौँ खेलमा उत्कृष्ट प्रदर्शन गर्दै १७.४ ओभरमा ४ विकेटको क्षतिमा १७७ रनको लक्ष्य पूरा गरेको थियो। यस जितसँगै लिग चरणमा टिकिरहने आशा भने केही कायम भएको छ।

तर, जनकपुरका लागि प्लेअफ यात्रा अझै कठिन छ। बाँकी दुवै खेल जिते पनि शीर्ष–४ मा पुग्न चितवन राइनोज र लुम्बिनी लायन्सले आफ्नो बाँकी खेलमा पराजित हुनुपर्नेछ।

यता चितवन राइनोजको प्लेअफ समीकरण थप जटिल बनेको छ। पाँच खेलमध्ये तीन खेल गुमाइसकेको चितवनलाई अब बाँकी दुई खेल अनिवार्य जित निकाल्नुपर्ने दबाब परेको छ।