बालापनमा स्कुल पढ्ने बेला आदिकवि भानुभक्त आचार्यद्वारा रचिएको घाँसी कविता घोकिन्थ्यो । त्यस बेला खासै कविताको अर्थ प्रस्ट्याउनतिर भने लागिएन । जब जीवनका हरेक पाइलाहरु अघि बढ्दै गए, आखिर आदिकवि भानुभक्तले देशकै माटोमा केही गर्नुपर्छ भन्ने बडो मार्मिक सन्देशमूलक कविता पस्केका रहेछन् भन्ने भान अहिले हुन्छ । सृजनशील जीवन बनाउन, युवा उद्यमी बन्न घाँसी कविता अहिले पनि नेपाली युवाका लागि प्रेरणाको स्रोत बनिरहेको छ ।
यसै सन्दर्भमा उद्येमशीलता बढाउन र भ्रष्टाचारमा शून्य सहनशीलताको सवालमा कामना न्यूज पब्लिकेसन्सले विगत वर्षजस्तै यस वर्ष पनि आफ्नो ४२औं वार्षिक उत्सवको सन्दर्भ पारेर विशेषांक प्रकाशित गर्न लागेकोमा खुशी लागेको छ । विषयवस्तु पनि समय सान्दर्भिक छ– नेपाल किन बनेन ? यस पब्लिकेसन्सका तत्कालीन प्रधान सम्पादक स्व. पुष्करलाल श्रेष्ठले लेख्नुभएको आफ्नो पुस्तकको नाम नै ‘देश किन बनेन ?’ राखेर २०७५ मंसिर १४ गतेका दिन प्रकाशन भएको थियो । सात वर्षपछि अहिले पनि यो पुस्तकको सान्दर्भिकता उत्तिकै छ । अग्रज पत्रकार एवं राजनीतिक विश्लेषक स्व. श्रेष्ठले उक्त पुस्तकमा देश नबन्नाको कारण देशको अर्थतन्त्र, अस्थिर राजनीति, समाज संरचना प्रवृत्तिबाट ग्रसित छ भन्ने बुझाउँछ । राजनीतिक अस्थिरता र दूरदर्शी नेतृत्व संकटले देशले आर्थिक क्रान्ति ल्याउन सकेको छैन ।
राजनीतिक, आर्थिक असमानताको विद्रोहस्वरुप पछिल्लो उपज गत भदौ २३–२४ गतेको २७ घण्टे जेनजी आन्दोललाई ज्वलन्त उदहरणका रुपमा लिन सकिन्छ । यसको कारण अविरल सत्ता परिवर्तन, दलीय गुटको प्रकाष्ठा, स्वार्थको राजनीतिमा आधारित नेतृत्वले दीर्घकालीन विकास नीतिहरु लागू हुन दिन्नन् । यस्तो राजनीतिक अस्थिरता र नीतिगत निरन्तरताको कमीले देश अगाडि बढ्न सकेन । यो तर्क नेपालका जियोपोलिटिक्स र प्रचलित विश्लेषणहसँग मेल खान्छ ।
सारमा भन्नुपर्दा जुन देश नीतिगत हैन, नेतागत चल्छ, राज्यका ऐन–कानुनलाई निस्तेज पारिन्छ, शासकहरु भ्रष्टाचारमा लिप्त हुन्छन् । विडम्बना ! अनि सुनौलो भविष्य बोकेका युवाहरु विदेशिन्छन् । देशमा तमाम सम्भावना भएर पनि शासकीय नीतिगत व्यवस्था अब्बल नहुँदा हजारौं–लाखौं युवा आँसु पुछ्दै विदेशिन बाध्य हुन्छन् ।
केन्द्रीय तथ्यांक ब्युरोका (सीबीएस) तथ्यांक स्रोतका अनुसार हालसम्म १६ देखि ४० वर्ष उमेर समूहका युवायुवतीहरु ४२.५६ प्रतिशत पुगेको देखिन्छ । त्यसमा राष्ट्रिय जनगणना २०७८ अनुसार २१ लाख ९० हजार ५ सय ९२ जनाभन्दा बढी युवाहरु विदेशमा बस्छन् । यो नेपालको कुल जनसंख्याको ठूलो हिस्सा हो । युवा भनेको देशको ऊर्जाशील जनशक्ती हो । युवाहरुको विदेश पलायनले देशको आर्थिक, सामाजिक र राजनीतिक अवस्थामा नराम्रो असर पारेको देखिन्छ ।
सुन्दर समृद्ध देश निर्माण गर्ने बेला युवाहरु विदेशिनु मुलुकको लागि राम्रो होइन । प्राकृतिकरुपमा अत्यन्त सुन्दर, देशको माटो र हावापानीअनुसारको पर्याप्त सम्भावना छन् । संस्कार, संस्कृति र परम्परा अपरम्पार छन् । सुन्दर देशको सपना चटक्क बिर्सेर खाडी, कतार, मलेसियाको ४० डिग्री बढीको तापक्रममा तड्पिनु ती युवाहरुको रहर हैन, विवशता हो । रेमिट्यान्समा रमाउने शासकको दूरदृष्टि नहुँदा महिनामा ६५ हजार बढी युवा विदेशिन बाध्य छन् । गरिखाने ऊर्जाशील समयमा शारीरिक स्वस्थताको प्रमाणपत्र बोकेर पलायन हुन्छन् । शारीरिक अस्वस्थता देखिनेबित्तिकै लुरुलुरु घर फर्किनुपर्छ । स्वदेशमै उद्योगधन्दा भए ती सबै युवाहरु देशमै पौरख बजार्थे । विडम्बना, गरिखाने युवा पलायनसँगै देशमा भ्रष्टाचारको जालो पनि दिन–प्र्रतिदिन जेलिँदै गएको छ ।
यहाँ नयाँ–नयाँ उद्योग सञ्चालन गर्नुको साटो भएका उद्योग कलकारखाना पनि तहसनहस छन् । जुन देशका नागरिक उद्यमी हुन्छन्, त्यो देश कहिल्यै परनिर्भता हुँदैन र नागरिक पनि अधिक स्वतन्त्र र स्वावलम्बी बन्छन् । तर विडम्बना, हाम्रो देशमा ठीक उल्टो भएको छ । हाम्रा पौरखी उद्यमी हातपाखुरासँगै हाम्रो श्रम र सीप विदेशमा पुगेको छ । यहाँको माटो दिन–प्रतिदिन रुखो बन्दै गएको छ । हजारौं प्रकृतिजिन्य वनपैदावर जंगलमा कुहिएर खेर गएका छन् । जीवन बचाउने जडीबुटी खुइलिएको छ । केमिकल, विषादीयुक्त औषधिको बजार बढेको छ ।
तथापि भौतिक संरचनागतरुपमा हेर्दा गाउँको विकास भने नभएको हैन । उदाहरणका लागि देशकै ७७ औं स्थानमा पर्ने बाजुराका ९ वटै पालिकामा सडक सञ्जाल पुगेको छ । प्रायः घरमा बिजुली छ । सञ्चार व्यक्ति–व्यक्तिको हातमा पुगेको छ । विद्यालय, क्याम्पसहरु प्रायः गाउँमा छन् । तर पढ्ने विद्यार्थी अभावले स्कुल, क्याम्पस बन्द गर्ने अवस्था आएको छ । पहिले गाउँमा मान्छे थिए, आधुनिक विकास थिएन । अहिले गाउँमा विकास पुगेको छ, मान्छेविना गाउँ रित्तिएका छन् । भौतिक संरचनागत विकासले मात्र विकासको परिभाषा उपयुक्त देखिएन । आखिर विकास अचेत माटोका लागि हैन, विकास ती कर्मशील नागरिकका लागि हो । ती पौरखी हातहरुको समूहका लागि हो । वैदेशिक रोजगारको मोह रोक्नका लागि विकास हो । गुड्ने बाटो, आवाज सुनाउने टेलिफोन र पढ्ने ठूला–ठूला भवन भएर मात्र विकासको अर्थले परिभाषित गर्देन रहेछ भन्ने साबित हुन्छ । विकास त्यो हो, त्यहीँको माटो फलाएर आफ्नो उत्पादनलाई विश्वबजारसमक्ष पु¥याउन सक्ने तागत राख्ने देशको दूरदर्शी नीति हो ।
हाम्रा बाउबाजे पहिले मुग्लान जान्थे, छ महिनामा फर्केर आउँथे, घरपरिवार सम्हाल्थे । गाउँमै स्कुल, पाटीपौवा बनाउँथे, राम्रो खेती गर्थे । अहिले त युवाहरु थातथलो छोडेर खाडीमुलुक हुँदै युरोप, अस्ट्रेलिया पुगेका छन् । फर्किने सम्भवाना क्षण बन्दै गएको छ । गाउँमा मलामी पाउन गाह्रो छ । विदेशिएको जनशक्तिलाई स्वदेश फर्काउने राज्यको ठोस नीति छैन । बरु ‘तिमीहरु विदेश जाऊ, रेमिट्यान्स पठाऊ र हामीलाई बचाऊ’ भनेर राज्यसंयन्त्र लागेपछि कहाँबाट देश बन्छ ?
भ्रष्टाचारका सन्दर्भमा भन्ने हो भने, नेपालमा भ्रष्टाचार दीर्घकालीन समस्या बनेको छ । भ्रष्टाचारले विकास, साधन–स्रोत, सार्वजनिक सेवा परियोजना, रोजगारी र अवसरमा सीधा प्रभाव पार्ने गरेको छ । समाजमा पादर्शिता कमजोर हुनु, राज्यका निकायहरुको कमजोर व्यवस्थापन हुनु र युवाहरुमा निराशा बढ्नु, यी सबैका बीच भ्रष्टाचार उन्मूलनको मुख्य शक्ति युवाशक्ति नै हो । तसर्थ युवालाई जागरुक, जिम्मेवार र उद्यमशील बनाउनु भनेको भ्रष्टाचारविरुद्ध सबैभन्दा बलियो अभियान चलाउनु हो ।
अब युवा उद्यमशीलता, भ्रष्टाचारमुक्त समाज र समग्र विकासबीचको सम्बन्धका लागि आवश्यक उपाय तथा सम्भावनाहरुबारे चर्चा गरौं । आर्थिक स्वतन्त्रता नै भ्रष्टाचारविरुद्धको शक्ति बनाउनुपर्छ । उद्यमी युवा आर्थिकरुपमा सक्षम हुन्छन् । आर्थिक शक्ति भएका युवालाई कसैले सजिलै झुकाउन सक्दैन । उनीहरुमा आत्मविश्वास हुन्छ । अधिकारका बारेमा बोल्छन् र गलत देखे त्यहीँबाट विरोध गर्दछन् । त्यस्ता उद्यमशील युवाले रोजगारी सृजना गर्छन् । जब युवाले नै व्यवसाय खोल्छन्, उनीहरुले अन्य युवालाई रोजगारी दिन्छन् । रोजगारी सृजना भएपछि घुस माग्ने संस्कार घट्छ, विदेशिनुको बाध्यता घट्छ । सामाजिक आर्थिक र राजनीतिक असन्तुलन कम हुन्छ । त्यसैले भनिन्छ, पारदर्शी व्यावसायिक संस्कारले समाजलाई स्वच्छ बनाउँछ । उद्यमशीलता भनेको हिसाबकिताब पारदर्शी पार्ने, युवाले समयपालन हुने सेवामा इमान देखाउने, ग्राहकप्रति उत्तरदायित्व बहन गर्ने हो, जसले गर्दा भ्रष्टाचारविरुद्धका मूल्य–मान्यता स्थापित गर्न सकिन्छ ।
जब युवा व्यावसायिक बन्छन्, उनीहरु गलत प्राणालीलार्ई चुनौती दिन सक्छन्, नीति निर्माणमा आवाज उठाउन सक्छन् र समाजलाई सही दिशा दिन मद्दत गर्छन् ।
त्यसैले भ्रष्टाचारमुक्त समाजका लागि युवा उद्यमशीलता अनिवार्य छ । युवा उद्यमशील बन्न सके राज्यमाथिको निर्भरता कम हुन्छ । रोजगारीका लागि राज्य वा पार्टीमा निर्भर हुनुपर्ने बाध्यता कम भएपछि राजनीतिक भ्रष्टाचार पनि घट्छ । सामाजिक उत्तरदायित्व बढ्छ । उद्यमी युवाले समाजमा प्रतिष्ठा, योगदान र सहयोगको भावना देखाउँछन् । यस्तो भावना भएको समाजमा भ्रष्टाचार टिक्दैन । तसर्थ युवालाई उद्यमशील बनाउन आवश्यक पाँच मुख्य आधारहरु राज्यले तय गरिदिनुपर्छ । सर्वप्रथम दक्ष नागरिक बनाउन सीप र विकास अपरिहार्य छ । दोस्रो, लगानी र कर्जामा युवाहरुको सहज पहुँच बनाउनुपर्छ ।
तेस्रो, मार्गदर्शन (म्यान्ट्रोसिप) जस्तै सफल उद्यमी, विशेषज्ञ र स्थानीय नेतृत्वले युवालाई निर्देशन दिनुपर्छ । केमा लगानी गर्ने र कसरी व्यवसाय चलाउने ? भन्नेमा अनभिज्ञ युवाले व्यवसाय चलाउन सक्दैनन् । तसर्थ उनीहरुलाई उत्प्रेरित गराउन आवश्यक छ । चौथोमा, बजारसँग जोड्ने संरचना हुनुपर्छ । पछिल्लो समयमा विश्वबजारले हाम्रो जस्तो अल्पविकसित मुलुकको बजार प्रतिस्थापन गरेको अवस्था छ । आलु–प्याजसम्म पनि विदेशी बजारको आउने, यता हाम्रो अर्गानिक आलु–प्याजले बजार नपाउँदा कुहिएर खोलामा बगाउनुपर्ने स्थिति छ । अहिलेको समस्या र चुनौती भनेकै बजारको हो । त्यसैले राज्यले स्थानीय उत्पादनको बजार सुनिश्चित गर्न जरुरी छ । जस्तै– अनलाईन बिक्री, सहकारीमार्फत वस्तु संकलन, शहरसँग जोडिएको बजारको खोजी, उत्पादनको ब्रान्डिङ आदि पर्छन् ।
पाँचौं अर्थात् अन्त्यमा युवालाई भ्रष्टाचार गरेर बाँच्न सिकाउने हैन, पौरख खियाएर उद्यमी बनी आफू बाँच्ने र अरुलाई बचाउनतर्फ प्रेरित गर्न आवश्यक छ । यसका लागि भ्रष्टाचारविरोधी सचेतना फैलाउनुपर्छ । युवालाई सुशासन, पारदर्शिता, सेवा प्रवाह, नागरिक अधिकार र घुसविरुद्ध कानुनी अवस्थाबारे जानकारी दिन आवश्यक छ । सचेत उद्यमी युवाले नै भ्रष्टाचारको जरो उखेल्न सक्छन् । उद्यमी बनांै, आत्मबल र सम्मानका साथ बाँचौं ।











प्रतिक्रिया