काठमाडौं।
एसीसी पुरुष यू–१९ प्रिमियर कपको फाइनलमा नेपाल उपपिजेता बनेको छ । सोमबार भएको फाइनल खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले नेपाललाई २७ रनले हराएको हो । यो नेपालको पहिलो हारसमेत थियो । यसअघि अपराजेय हुँदैं नेपाली टोली फाइनलसम्म पुगेको थियो ।
तर, नेपाल भने आगामी यू –१९ को एसिया कपमा भने पुगेको छ । यस प्रतियोगिताका शीर्ष तीन टोलीले आगामी एसिया कप खेल्ने पाउने प्रावधानअनुसार नेपाल त्यसका लागि छनोट भएको हो । साथै विजेता बनेको यूएई र तेस्रोे स्थानमा रहेको मलेसिया पनि आगामी यू–१९ एसिया कपमा छनोट भएका छन् ।
जितको लागि १ सय ४८ रनको चुनौती पछ्याएको नेपाल ३३.२ ओभरमा सबै विकेट गुमाउँदै मात्र १ सय २० रनमा समेटियो । नेपालले १६ रन जोड्दा नै ४ विकेट गुमाएर कमजोर ब्याटिङको नमूना देखाएको थियो । निरज कुमार यादव र निश्चल क्षेत्री १÷१ रन, वंश क्षेत्री ११ रनमा आउट भएका थिए भने दर्श सोनारले रनको खाता खोल्न सकेनन् ।
पाँचौं विकेटको लागि आशिष लुहार र कप्तान अशोक धामीले ४४ रनको साझेदारी गरे । जुन नेपाली ब्याटिङको ठूलो साझेदारी सावित भएको थियो । आशिष २५ रनमा आउट भए । कप्तान धामीले सर्वाधिक ४४ रन जोडे । यस्तै रोशन विश्वकर्माले २५ रन बनाएका थिए । यूएईको बलिङमा युगजय शर्मा र अलि असगर सम्हाले समान ३ तथा उद्दीश सुरी र नुरउल्लाह आयोबीले समान २ विकेट लिएका थिए ।
त्यसअघि अजमानको कारवान ग्राउन्डमा नेपालले टस जितेपनि बलिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरको खेलमा ४५.५ ओभरमा अलआउट हुँदै १ सय ४७ रन जोडेको थियो । नेपालका लागि दयानन्द एक्लैले शुरुआतमै चार विकेट लिएर यूएईलाई कमजोर बनाएका थिए । यतिबेला २० रन मात्रै बनेको थियो ।
यसपछि धामीले विकेट लिएपछि यूएईको स्कोर ४४ थियो । यतिबेलासम्म ५ जना ब्याटर पभेलियन फर्किसकेको अवस्थामा नेपाल हावी बन्न सकेन । बाँकी ५ ब्याटरले १ सय ३ रन बनाए ।
यो रन बन्नु नै नेपालको लागि पछि ब्याटिङमा चुनौती बन्न पुगेको थियो । मुख्यतया यूएईका अहमद खुदादतले नेपाली बलरहरूलाई निकै निरास पारेका थिए । उनले १ सय २६ बल खेल्दै ६ चौकासहित ७१ रनको उत्कृष्ट पारी खेलेका थिए । उनी दयानन्दकै सिकार बनेका थिए ।
नेपाली बलिङमा दयानन्द नायक बने । उनले ६ ओभर बलिङ गर्दै मात्र १७ रन दिएर ६ विकेट लिएका थिए । अपराजितले २ विकेट आफ्नो नाममा लेखाए ।











प्रतिक्रिया