काठमाडौं।
सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्ससँग गत सिजनको फाइनलमा बेहोरेको हारको बदला लिएको छ । शनिबार त्रिवि रंगशालामा भएको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ६ विकेटले हराएको हो । यो लगातार पाँचौं जितसँगैं सुदूर प्लेअफमा पुग्ने पहिलो टोली बन्यो ।
च्याम्पियन जनकपुरको लागि भने लगातार चौथो हारले प्लेअफमा पुग्ने संभावना लगभग समाप्त भइसकेको छ । जनकपुरले बाँकी तीन खेलमै जितेपनि प्लेअफमा पुग्ने स्थितिमा हुने छैन । तर, गणितीय हिसाबमा भने केही संभावना बचेको छ । जनकपुरले बाँकी तीन खेल क्रमशः चितवन, लुम्बिनी र कर्णालीसँग खेल्नेछ ।
१ सय ४६ रनको लक्ष्य
पहिले ब्याटिङ गरेको जनकपुरले १ सय ४६ रनको लक्ष्य दिएको थियो । जनकपुरका लागि आदित्य महताले ५० रन बनाए भने जान निकोल लफ्टी इटनले ३९ रनको इनिङ खेले । अन्यले खासै खेल्न सकेनन् । सुदूरका बलरमा अविनाश बोहराले सर्वाधिक ४ विकेट लिए भने स्कट कुजेलेनले ३ विकेट प्राप्त गरेका थिए ।
जवाफमा सुदूरले शुरुआत तीन ओभरमै २ विकेट गुमाएको थियो । माज सदाकत र सञ्जय कृष्णामूर्तिले विकेट लिएर सुदूरलाई दवावमा राखेका थिए । तर, विनोद भण्डारी र इशान पाण्डेले ९३ रनसम्म पु¥याए । टोलीलाई सहज स्थितिमा राखेर विनोद ४२ रनमा आउट भएका थिए ।
यसपछि ३३ बलमा हाफ सेन्चुरी पूरा गरेका इशान ५६ रनमा पभेलियन फर्के । उनले १६ औं ओभरमा आदित्यको तीन बलमा चौका प्रहार गरे भने चौथो बलमा उनी आउट भएका थिए । उनको स्थानमा आएका हरमित सिंहले ललित राजवंशीको एकै ओभरमा तीन छक्का प्रहार गरेर सुदूरको जित सुनिश्चित पारे । उनी २५ल रनमा नटआउट रहे भने दीपेन्द्र १० रनमा नटआउट रहे ।
लुम्बिनीको प्लेअफ संभावना
दोस्रो जितका साथै लुम्बिनी लायन्सले जारी एनपीएल–२ को प्लेअफको संभावनालाई जिवितै राखेको छ । शनिबार त्रिवि रंगशालामा भएको खेलमा लुम्बिनीले पोखरा एभेन्जर्सलाई ३ विकेटले हराएको हो ।
१ सय ५१ रनको चुनौती लुम्बिनीले १९.४ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको थियो । यो लुम्बिनीको चार खेलमा दोस्रो जित हो भने पोखराको त्यति नै खेलमा तेस्रो हार हो ।
पोखराका विपिन खत्रीले लुम्बिनीका ओपनर सुमित महर्जनलाई र डासी सर्टको विकेट लिएर टोलीका लागि राम्रो शुरुआत गराएका थिए । तर, लुम्बिनीका कप्तान रोहित पौडेल र निरोसन डिकवेलाले तेस्रो विकेटको लागि ५४ रनको साझेदारी गरे ।
निरोसन २२ बलमा ३७ रन जोडेर म्याट टेलरको बलमा आउट भएपछि यो जिततिर अग्रसर गराइरहेको जोडी टुट्यो । यसपछि दीलिप नाथ आउट भए भने पाँचौं विकेटको रूपमा कप्तान रोहित आउट हुन पुगे ।
१५ औं ओभरको पहिलो बलमा आउट भएका रोहितले ४० रन जोडेका थिए । यतिबेलासम्म लुम्बिनीको १ सय रन बनिसकेको थियो । पोखराका लागि सागर ढकालले रोहितको रूपमा महत्वपूर्ण विकेट लिएपछि लुम्बिनी दवावमा आयो । यहाँबाट पोखराको जित हुने संभावना बढेको थियो ।
तर, गुलबद्दीन नयाब र सन्दीप जोराले स्कोर १ सय २७ सम्म पु¥याए । गुलबद्दीन १७ रन जोडेर आउट भएका थिए । रुवेनलाई जिम्मी निशामले आउट गर्दासम्म लुम्बिनीको स्कोर १ सय ४१ मा पुगिसकेको थियो ।
यतिबेला लुम्बिनीले जित्न २ ओभरमा १० रन बनाउनु पर्ने समीकरण बनेको थियो भने पोखराको लागि रन किफायती वा विकेट लिनु पर्ने थियो । तर, सन्दीप जोराले २५ रनमा नटआउट रहँदैं लुम्बिनीको जित सुनिश्चित पारे । पोखराले सन्दीपलाई नियन्त्रणमा राख्न नसक्दा नै जारी प्रतियोगितामा तेस्रो हार बेहोर्नु परेको थियो ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको पोखराले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५० रन जोड्यो । टोलीका लागि जिम्मी निशामले नटआउट रहँदैं ५१ रन बनाए भने एडाम रोसिङटनले ८१ रन जोडेका थिए । टोलीका लागि यी दुई जना ब्याटरले मात्रै दोहोरो अंकमा रन बनाउन सकेका थिए ।











प्रतिक्रिया