काठमाडौँ।
काठमाडौंस्थित बंगलादेश दूतावासले शनिबार आफ्नो प्राङ्गणमा ‘बंगलादेश फिस फेस्टिवल–२०२५’ भव्य र आकर्षक रूपमा सम्पन्न गरेको छ। कार्यक्रममध्ये विभिन्न देशका राजनैतिक दूत, कूटनीतिज्ञ, नेपाल सरकारका उच्च अधिकारी, व्यवसायी, थिंक–ट्याङ्क, नागरिक समाज प्रतिनिधि, पाँचतारे होटलका व्यवस्थापक तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको दूतावासले जनाएको छ। नेपालका कार्यवाहक परराष्ट्र सचिव कृष्ण प्रसाद ढकाल कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रम नेपाली र बंगलादेशी राष्ट्रगानबाट सुरु भएको थियो। दूतावासका राजदूत मोहम्मद सफीकुर रहमानले स्वागत मन्तव्य राख्दै बंगलादेशको नदी–संस्कृति, जलस्रोत र मत्स्य परम्पराको विशेषता प्रस्तुत गरे। उनले ‘फिस फेस्टिवल’ बंगलादेशका हजारौँ नदी र समुद्री स्रोतले समृद्ध गरेको पाक–परम्पराको अद्वितीय पहिचान रहेको बताए।
प्रमुख अतिथि कार्यवाहक परराष्ट्र सचिव ढकालले नेपाल–बंगलादेशबीचको सांस्कृतिक, आर्थिक, व्यापारिक तथा जन–स्तर सहकार्य विस्तारमा यस्ता पहल महत्वपूर्ण रहेको उल्लेख गरे। उनले मत्स्यपालन, एक्वाकल्चर, ऊर्जा, व्यापार–ट्रान्जिट तथा लगानीका क्षेत्रमा दुवै देशबीच सहकार्य अझ गहिरिँदै गएको बताए।
फेस्टिवलमा बंगलादेशको इनल्यान्ड फिस, मरीन फिस, एक्वाकल्चर उत्पादन तथा क्रस्टेसियनसहित विविध माछा तथा समुद्री परिकारहरूको आकर्षक प्रदर्शनी गरिएको थियो। नेपालमा बढ्दो समुद्री तथा जलज परिकारको मागलाई मध्यनजर गर्दै सम्भावित आयात–निर्यात तथा व्यावसायिक साझेदारीका अवसरहरू पहिचान गर्ने उद्देश्य फेस्टिवलको केन्द्रबिन्दु रहेको दूतावासले जानकारी दिएको छ।
अतिथिहरूले परम्परागत तथा आधुनिक शैलीमा बनेका बंगलादेशी परिकारहरूको स्वाद लिन पाए। बंगलादेशी सेफहरूले प्रस्तुत गरेका “स्मोक्ड हिल्सा (बोनलेस)” र “मस्टर्ड हिल्सा” प्रमुख आकर्षण रहेका थिए। साथै, कातला करि, ग्रिल्ड लोब्स्टर, ग्रिल्ड रेड स्न्यापर, फ्राइड सिल्भर पोम्फ्रेट, श्रिम्प टेम्पुरा, क्याटफिस करि, ‘हेलिकप्टर क्याटफिस’ फ्यूजन डिश, ग्रिल्ड कोरल फिस र टाइगर प्रन करिले बंगलादेशी स्वादलाई झनै जीवन्त बनाएको थियो।
फेस्टिवलअघि २४ नोभेम्बरमा दूतावासले बंगलादेशी मीठोपानी तथा समुद्री माछाको विशेष प्रदर्शनी पनि गरेको थियो, जसमा होटल व्यवसायी तथा निजी क्षेत्रका माछा आयातकर्ताहरूको उल्लेखनीय उपस्थिती र चासो देखिएको थियो।
कार्यक्रमका लागि दूतावास परिसर बंगलादेश पर्यटन बोर्डका रंगीन पोस्टर तथा बंगलादेशको सांस्कृतिक सम्पदा झल्काउने दृश्य सामग्रीले सजाइएको थियो। साथै बंगलादेशको उदार लोकतन्त्र, मानव अधिकार, आपसी भ्रातृत्व तथा जुलाईको ऐतिहासिक जनआन्दोलनलाई प्रतिनिधित्व गर्ने पोस्टरहरू पनि प्रदर्शित गरिएका थिए।
काठमाडौंस्थित बंगलादेश दूतावासले पहिलो पटक आयोजना गरेको यस भव्य ‘फिस फेस्टिवल’ ले बंगलादेशका विविधतायुक्त माछा र समुद्री परिकारलाई अन्तर्राष्ट्रिय समुदायमाझ प्रभावकारी रूपमा प्रस्तुत गर्दै द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पु-याएको दूतावासले जनाएको छ।











प्रतिक्रिया