इलाम।
इलामको इलाम नगरपालिका–९ भञ्ज्याङ गोलाईस्थित मेची राजमार्गमा आज दिउँसो भएको सवारी दुर्घटनामा दुई युवाको ज्यान गएको छ । झापाबाट इलामतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ४१०१ नम्बरको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ४८९९ नम्बरको स्कुटर आपसमा ठोक्किँदा स्कुटरमा सवार दुईजना गम्भीर घाइते भएका थिए । दुर्घटनामा इलाम नगरपालिका–९ गोलबस्तीका २६ वर्षीय डेविट थापा र माईजोगमाई गाउँपालिका–१ नयाँबजार घर भई हाल इलाम नगरपालिका ७ बस्ने १८ वर्षीय छेवाङ शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
मगरको पेटमा गम्भीर चोट लागेको थियो भने शेर्पाको टाउको र खुट्टामा गम्भीर चोट लागेको थियो । दुवै जनालाई स्थानीयको सहयोगमा तत्काल जिल्ला अस्पताल इलाम ल्याइएको थियो । तर, उपचारका क्रममा दुवैको मृत्यु भएको अस्पतालले जनाएको छ । घटनापछि ट्रक चालक इलाम नगरपालिका–५ बिब्ल्याटेका २५ वर्षीय राम प्रसाद श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।











प्रतिक्रिया