रसुवा । नौकुण्ड गाउँपालिका वडा नं. १ मा पर्ने जुरेढुंगा एकपटक पुग्नै पर्ने ठाउँ रहेको छ । समुद्र सतहबाट २९८० मिटर उचाइमा अवस्थित यो ठाउँको पुछारमा सिप्पुङ (सिपाङ) खर्क रहेको छ । यहाँ पदार्पण गरिसकेपछि नौकुण्डका बस्तीहरू थाङ्दोर, लाङ्बु, यार्सा, आरूखर्क, लाच्र्याङटार, फाम्चेत, पा¥याङ, चिलाउने गाउँ, पाटीखर्क, भञ्ज्याङडाँडा, सरमथली, सातधारे हिमाल र नुवाकोटका बोहोरे, कटुञ्जेदेखि ककनी, चिसापानीलगायतका बस्ती र डाँडाकाँडा हेर्न सकिन्छ । जुरेढुंगाको तलतिर रहेका बस्तीहरू हेर्दा लाग्छ कि हेलिकोप्टरबाट हेरिहरेको छु ।
लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रहेको यस जुरेढुंगाको वरपर पनि थुप्रै खर्क र आकर्षक स्थलहरू छन् । चैत्र–वैशाखको समयमा यहाँ विभिन्न किसिमका लालीगुँरासहरू फुल्ने गर्दछन्, जुन दृश्यले यहाँ आउने सबैलाई मोहित बनाउँछ । रसुवा–नुवाकोट तथा काठमाडौंदेखि नै बिदाको समय मिलाएर यहाँको यात्रा सजिलै तय गर्न सकिनेछ । यहाँ लोपोन्मुख रेडपाण्डा (रातोहाब्रे) को यहाँ बासस्थान रहेको छ । ठूला–ठूला गुराँस, खस्रु, गोब्रेसल्लाका रुखखरु यहाँ रहेका छन् । त्यसैले यहाँ आउँदा जंगलको मनोरम आनन्द पनि लिन सकिन्छ ।
सिप्पा अर्थात् सिप्पुङलाई भू–उपग्रहको एक अंशको रुपमा बुझ्ने गरिन्छ । जुरेढुंगाभन्दा दक्षिण–पूर्वतर्फ लाङ्बु गाउँको सिरानमा अवस्थित बिजिली (बिजुली) ढुंगा र निर्कुभूमेसँग जोडिएको एक धार्मिक कथन रहेकोले यहाँको भ्रमणलाई धार्मिक भ्रमणका रुपमा पनि लिन सकिन्छ ।
जुरेढुंगालगायत बिजिली ढुंगाबाट समेत परापूर्वकालमा विवाह, व्रतबन्ध आदि शुभकार्यका लागि आवश्यक भाँडाकुँडा पाइने गरेको किंवदन्ती रहेको छ । भाँडाकुँडा प्रयोग गरेपश्चात् सफा गरेर एकदिनमै त्यहाँ पु¥याइदिनुपर्नेमा भोलिपल्ट पु¥याइदिएकोले सिप्पा देवता रिसाएर पछिल्लो समयमा त्यहाँबाट भाँडाकुँडा आउन छोडेको स्थानीयको भनाइ छ ।
जुरेढुंगा वरपरका मुख्य आकर्षण ः
यस स्थानको वरपर ३२ भन्दा बढी प्रजातिका लालीगुराँसका रुखहरु पाइन्छ । त्यसैले यहाँबाट ठूला–ठूला गुराँस, खस्रु, गोब्रेसल्लाहरूको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । यसका सागै विभिन्न जंगली जनावर र चराहरु पनि यहाँ अवलोकन गर्न सकिन्छ ।
अर्को मुख्य कुरा, यहाँको तामाङ भेषभूषा र संस्कृति उत्तिकै महत्वपूर्ण मानिन्छ । मनोरम बस्तीहरूको दृश्यावलोकनले मन नै बहलाउँछ । सूर्योदय र सूर्यास्तको दृश्यावलोकन झनै मनमोहक हुन्छ । चौंरी एवं भेडाका लागि खर्कहरू, पिकनिक स्पटहरू, कृषि तथा तरकारी फार्महरूको समेत दृश्यावलोकन गर्न सकिन्छ । यी यहाँको आय–आर्जनको माध्यम पनि बनेका छन् ।
कसरी पुग्ने त जुरेढुंगा ?
जुरेढुंगामा विभिन्न ठाउँबाट फरक–फरक स्थान भएर पुग्न सकिन्छ । पासाङल्हामु राजमार्गको गोम्बोडाँडा– स्याउबारीबाट गैरीनागी, भूमेस्थान, लोकिल, सानोआले, दिलिङ हुँदै यहाँ पुग्न सकिन्छ । त्यस्तै पासाङल्हामु राजमार्गको कालिकास्थान, घुम्तीबाट जीवजिबे, ज्याङलाङ, आहालडाँडा, गैरीनागी, भूमेस्थान, लोकिल, सानोआले, दिलिङ हुँदै पनि पुग्न सकिन्छ । यता नुवाकोटको विदुरबाट नुवाकोट दरबार, चोकदे, लच्याङ, सरमथली, पा¥च्याङ, लाङ्बु (बिजिली जोङ) भएर पनि जुरेडाँडामा पुग्न सकिन्छ । यसका अलावा बेत्रावतीबाट नौकुण्ड गापा, पाच्र्याङ पुगेर समेत यस स्थानमा जान सकिन्छ । आ–आफ्नो सुविधा र इच्छाअनुसार बाटो तय गरी जान सकिन्छ ।











प्रतिक्रिया