निर्वाचनका लागि एमालेलाई मनाउने प्रयासमा प्रधानमन्त्री

एमालेले भन्यो –‘निष्पक्ष र निर्भयताको कुरामा विश्वस्त छैनौं’


ओलीलाई स्थानहद लगाइएकोमा आपत्ति
यसैको कारण पनि चुनाव हुन नसक्ने एमालेको दाबी

काठमाडौं ।

नेकपा एमालेको गतिविधिका कारण आगामी फागुन २१ को निर्वाचनमा समस्या आउन सक्ने आँकलन गर्नुभएकी प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार एमालेका नेताहरूसँग छलफल गरी निर्वाचनको वातावरण बनाइदिन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले संविधान र राजनीतिलाई सही मार्गमा ल्याउन पनि फागुन २१ को निर्वाचनको विकल्प नरहेको जिकिर गर्दै निर्वाचनमा सहभागी भएर निर्वाचन सफल पारिदिनका लागि आग्रह गर्नुभयो ।

प्रधानमन्त्री कार्कीको आमन्त्रणमा बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदिप ज्ञवाली तथा एमाले केन्द्रीय सदस्य महेश बर्तौलासँग प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभा निर्वाचनमा संस्थागत समर्थन र सहयोगका लागि आग्रह पनि गर्नुभयो ।

प्रधानमन्त्रीसँगको छलफलमा एमाले नेताहरूले निष्पक्ष चुनाव हुने र मतदाताले निर्भयताका साथ मत दिने वातावरण बन्न नसकेको बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । उनीहरूले एमाले अध्यक्ष ओलीलाई स्थानहद लगाइएकोमा आपत्ति जनाउँदै यसैको कारण पनि चुनाव हुन नसक्ने दाबी गरेका थिए । उनीहरूले ओलीमाथि लगाइएको स्थानहद हटाउन प्रम कार्कीसमक्ष आग्रह गरेका थिए ।

छलफलमा सहभागी एमाले केन्द्रीय सदस्य बर्तौलाले सञ्चारकर्मीहरूसँग आफूहरूले चुनावको वातावरण नरहेको निष्कर्ष सुनाएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘सुरक्षाका कारण निर्वाचन हुन सक्ने अवस्था छैन, लुटिएका कैयांै हतियार बाहिरै छन्, हजारौ कैदी बाहिरै छन्, यस्तो अवस्थामा कसरी चुनाव हुन्छ ? प्रधानमन्त्रीज्यूले निर्वाचनसँग जोडेर विषयवस्तु राख्नुभयो । चुनावमा एमालेको संस्थागत साथ होस्, पार्टीको साथ रहोस् भन्ने कुरा गर्नुभयो ।’, बर्तौलाले छलफलमा आफूहरूले अहिले सरकारको गठनको सन्दर्भमा संवैधानिक प्रश्न चलिरहेको छ, त्यो पहिला टुंगियोस्, त्यसपछि निर्वाचनको कुरा आउँछ भनेको जानकारी दिनुभयो ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट लैजाने नेतृत्व गरेका एमाले संसदीय दलका निवर्तमान मुख्य सचेतक बर्तौलाले अगाडि भन्नुभयो –‘निष्पक्षता र निर्भयताको कुरामा हामी विश्वस्त हुने आधार नबनेको बतायौं । पूर्वशर्तको रूपमा रहेको शान्ति सुरक्षाको पाटो, दलहरूले भयरहित ढंगले जनतामा जाने र मतदाताले विवेकको मत राख्ने परिस्थिति बनेको देखेका छैनौं ।’

एमालेका नेताहरूले प्रधानमन्त्री कार्कीसँग निवर्तमान प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले फुली फुकाउनासाथ उहाँमाथि लगाइएको स्थानहदबारे समेत चासो राखेका थिए । बर्तौलाले भन्नुभयो –‘निवर्तमान आईजीपीलाई जसरी स्थान हदको विषयवस्तु हतारो गरियो, त्यसले देशभरका प्रहरीको मनोबल के भएको छ ? यसबारे पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गरायौं ।’

प्रधानमन्त्रीले पटक पटक आग्रह गरे पनि एमाले नेताहरूले भने शान्ति सुरक्षा कमजोर रहेको र सुरक्षाका कारण निर्वाचन हुन सक्ने वातावरण नरहेको पटक पटक स्मरण गराएका थिए ।
सरकारप्रति अविश्वास गरिरहेको एमालेलाई विश्वासमा लिने प्रयासस्वरूप प्रधानमन्त्री कार्कीले नेताहरूसँग छलफल गरे पनि त्यो छलफलमा सार्थक निष्कर्ष भने निस्कन नसकेको बताइएको छ ।