–सामान्य प्रशासन मन्त्रीलाई छैन कुनै वास्ता
–उल्लंङ्घन गर्नेलाई हँुदैन कारबाही
–बर्खास्त समेतको व्यवस्था निष्क्रिय
–नयाँ मुख्य सचिवको ध्यान कहिले पुग्ला ?
काठमाडौं ।
सरकारले कानुनी रूपमा नै निजामती कर्मचारीले पालना गर्नुपर्ने विभिन्न आचरणसम्बन्धी व्यवस्था गरे पनि त्यसको कार्यान्वयन र पालना हुन सकेको छैन । जेन–जीको भ्रष्टाचार र कुशासनविरुद्धको आन्दोलनको रापतापबाट बनेको सुशीला कार्की नेतृत्वको जेन–जी सरकारले पनि कर्मचारीको आचरण पालना गराउनेसम्बन्धी व्यवस्था पालना गराउन कुनै ध्यान दिन सकेको छैन ।
कर्मचारी केन्द्रीय निकाय(सीपीए) को रूपमा रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सबै निकायको अनुगमन गर्ने जिम्मेवारीमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले समेत कर्मचारीले आचरण पालना गरे नगरेको बारेमा प्रभावकारी अनुगमन संयन्त्र बनाउन सकेको छैन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रामेश्वर खनालले त यस विषयलाई कुनै प्राथमिकतामा नै राख्न सक्नुभएको छैन ।
निजामती सेवा ऐनको दफा ७ मा आचरणसम्बन्धी विभिन्न १४ वटा व्यवस्था गरिएको छ । यस्तै निजामती सेवाका कर्मचारीको आचरण सम्बन्धी नियमावली ,२०६५ मा निजामती कर्मचारीले पालना गर्नुपर्ने पदीय आचारण, पेशागत आचारण र व्यक्तिगत आचारणसम्बन्धी विभिन्न व्यवस्था गरिए पनि कर्मचारीहरूले ती अधिकांश आचरणहरूको पालना गराउन नसकेको सरोकारवालाको गुनासो छ । नयाँ मुख्य सचिव सुमनराज अर्यालले यस विषयमा कतिको ध्यान दिन सक्नुहोला ? त्यो भने हेर्न बाँकी छ ।
निजामती कर्मचारीको आचरणसम्बन्धी नियमावली २०६५ मा कर्मचारीले कार्यालय समयमा बाहिरको काम गर्न नहुने, कार्यालयको सामान तथा सुविधाको दुरुपयोग गर्न नहुने, काम कारबाहीमा निष्पक्षता कायम गर्नुपर्ने, व्यापार व्यवसाय गर्न नहुने, राजनीतिक तटस्थता कायम गर्नुपर्ने, पारदर्शीता कायम गर्नुपर्ने, आर्थिक अनुशासन र सदाचारिता कायम गर्नुपर्नेलगायतका महत्वपूर्ण व्यवस्था गरिएको छ । तर, यस्ता प्रावधानलाई अधिकांश कर्मचारीहरूले ठाडै उल्लंङ्घन गर्दै आइरहेका छन् । कर्मचारीले आचरण पालना गरे नगरेको बारेमा तालुक निकायले नियमित अनुगमन गर्नुपर्नेमा त्यस्तो अनुगमनसमेत हुन नसकेको बताइएको छ ।
नियामावलीले नै कर्मचारीले आचरण उल्लंङ्घन गरेमा विभिन्न कारबाही गर्नुपर्ने व्यवस्था गरे पनि यो प्रावधान पनि करिब करिब निष्क्रियजस्तै रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीहरूको भनाइ छ । नियमावलीमा आचारण उल्लंङ्घन गरेमा बर्खास्तसमेत गर्न सकिने प्रावधान राखिएको छ । तर, हालसम्म त्यसरी बर्खास्त हुने कर्मचारीहरूको संख्या निकै नगण्य रहेको बताइएको छ । नियमावलीमा कर्मचारीले राजनीतिमा भाग लिएमा, स्थायी आवासीय अनुमति लिएमा वा सो को लागि आवेदन दिएमा तथा आचरणसम्बन्धी कुरा बराबर उल्लंघन गरेमा भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त हुने व्यवस्था गरिएको छ । यस्ता प्रावधानहरूको कार्यान्वयन करिब करिब शून्य अवस्थामा रहेको बताइएको छ ।
यस्ता छन् निजामती कर्मचारीका आचरणहरू ः
पदीय आचरणः
–पदीय मर्यादा कायम राख्नुपर्ने
–उचित र समान व्यवहार गर्नुपर्ने
–कार्यालय समयमा कार्यालयसँग सम्बन्धित काममात्र गर्नुपर्ने
–कार्यालयको सामान तथा सुविधाको दुरुपयोग गर्न नहुने
– सूचनाको दुरुपयोग गर्न नहुने
–काम कारबाहीमा निष्पक्षता कायम गर्नुपर्ने
–व्यापार व्यवसाय गर्न नहुने
–स्वार्थ रहेको विषयमा जानकारी गराउनुपर्ने
–परिचयपत्र र पोशाक लगाउनुपर्ने
–राजनीतिक तटस्थता कायम गर्नुपर्ने
–पारदर्शीता कायम गर्नुपर्ने
–आफूलाई सुम्पिएको जिम्मेवारी छिटो छरितो पूर्ण र गुणस्तरीय रूपमा गर्नुपर्ने
–गुनासो व्यवस्थापन गर्नुपर्ने
पेशागत आचरण ः
–कानुनको जानकारी र पालना गर्नुपर्ने
–पेशाको सम्मान गर्नुपर्ने
–आफ्नो क्षमता विकास गर्न प्रयत्न गर्ने
–पेशागत अनुमतिपत्र पालना गर्नुपर्ने
–गुणस्तरीय रूपमा कार्यसम्पादन गर्ने
–व्यावसायिक मापदण्डको पालना गर्ने
–आर्थिक अनुशासन र सदाचारिता कायम गर्नुपर्ने











प्रतिक्रिया