काठमाडौँ उपत्यकाबाट हतियारसहित तीन जना पक्राउ


काठमाडौँ।

प्रदर्शनका क्रममा प्रहरीले प्रयोग गर्दै आएको हतियार लुटपाट गरी पछिल्लो समय विभिन्न आपराधिक गतिविधिमा संलग्न हुँदै आएका तीन जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले हतियारसहित पक्राउ गरेको छ।

भदौ २३ र २४ गतेको प्रदर्शनका बीच प्रहरीले लुटिएको हतियार आपराधिक समूहले प्रयोग गरिरहेको विशेष सूचना पाएपछि टेकुस्थित अपराध अनुसन्धान कार्यालयले काठमाडौँका विभिन्न स्थानमा अपरेशन सञ्चालन गरेको थियो। सोही क्रममा निकेश बि.क., सुरज बि.क. र बालकृष्ण गैरे पक्राउ परेका हुन्।

प्रहरीले उनीहरूको साथबाट CF 98-9 नम्बर 00104008236 को पेस्तोल – १ थान, म्याग्जिन – १ थान,Type 54 नम्बर 55011133 को पेस्तोल – १ थान
बरामद गरेको छ।

आरोप र खुल्न आएका विवरण
निकेश बि.क.

२०७८/१०/११ : केन्द्रीय अनुसन्धान ब्युरो (CIB) मा ठगी, आपराधिक विश्वासघात र एक्सटर्सन मुद्दामा फरार।

२०८१/०५/०५ : महोत्तरीको गौशाला प्रहरी कार्यालयमा दर्ता भएको चोरी मुद्दामा समेत फरार।

निकेश बि.क. र सुरज बि.क.

२०८२/०८/०५, राति २ बजे काठमाडौँ बागबजारमा Bhoj Deal का डेलिभरीम्यान निरज चौधरीलाई पेस्तोल देखाई नगद तथा सामग्री लुटपाट गरेको आरोप छ ।

यसबारे प्रहरी वृत्त सिंहदरबारमा निवेदन दर्ता भइसकेको छ र डाँका/चोरी मुद्दामा किटानी जाहेरी दर्ता गरिएको छ।

पक्राउ परेका तीन जनालाई हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकालीमा पठाइएको प्रहरीले जनाएको छ।