काठमाडौं ।
सिद्धार्थ बैंकले भिसा इन्टरनेशनलले आयोजना गरेको ‘भिसा लिडरशिप कन्क्लेभ’मा तीन प्रतिष्ठित अवार्ड हासिल गर्न सफल भएको छ। एसोसिएट क्लाइन्टका रूपमा भिसासँगको साझेदारीअन्तर्गत बैंकले डिजिटल भुक्तानी क्षेत्रमा देखाएको उत्कृष्ट प्रदर्शन, व्यवसायिक साझेदारीप्रतिको प्रतिबद्धता र ग्राहक केन्द्रित सेवालाई उच्च मूल्यांकन गर्दै यी अवार्डहरू प्रदान गरिएको हो ।
बैंकले प्राप्त गरेका अवार्डहरू— एक्सिलेन्स इन कन्ज्युमर क्रेडिट काड्र्स, एक्सिलेन्स इन प्रिपेड काड्र्स, र एक्सिलेन्स इन पीओएस एक्वायरिङ — डिजिटल भुक्तानी सेवामा यसको अग्रसरता र बजार विस्तारको सूचक मानिन्छ । मसान्तसम्म देशभर जारी ३ लाख १८ हजार क्रेडिट कार्डमध्ये सिद्धार्थ बैंकले करिब ६० हजार कार्ड जारी गरेको छ, जसको आधारमा यसको बजार हिस्सा १९ प्रतिशत पुगेको छ।
कारोबारका दृष्टिले पनि बैंकले सो अवधिमा करिब १५ प्रतिशत हिस्सा ओगटेको छ ।त्यस्तै, बजारमा जारी २ लाख ५० हजार प्रिपेड कार्डमध्ये ३४ हजार कार्ड सिद्धार्थ बैंकका भएका छन्। पीओएस कारोबारतर्फ उद्योगस्तरमा १ करोड २५ लाख कारोबारमध्ये बैंकमार्फत ९ लाख ३६ हजार कारोबार भएको छ, जसअनुसार बैंकको बजार हिस्सा ८ प्रतिशत रहेको छ ।
अन्तर्राष्ट्रिय स्तरका यस्ता अवार्डहरूले बैंकको सेवा गुणस्तर, नवप्रवर्तन क्षमता र डिजिटल बैंकिङप्रतिको प्रतिबद्धतालाई अझ सुदृढ बनाएको बैंकले जनाएको छ। आगामी दिनमा पनि प्रविधिमैत्री सेवा विस्तार, व्यवसायिक साझेदारी मजबुतीकरण तथा ग्राहक सन्तुष्टि अभिवृद्धिमा निरन्तर अघि बढ्ने प्रतिवद्धता बैंकले व्यक्त गरेको छ ।











प्रतिक्रिया