कास्की ।
२२ मेगावाट क्षमताको सेतीखोला हाइड्रोपावर दुई महिनाभित्र राष्ट्रिय प्रसारण लाइनमा जोडिने तयारीमा छ । पोखरा महानगरपालिकाभित्रको सबैभन्दा ठूलो जलविद्युत् परियोजना रहेको यो परियोजना वडा नं ३३ को तिकलाङ्गमा ड्याम निर्माण गरी साढे तीन किलोमिटर तल पावरहाउस निर्माण गरिएको छ । पावर हाउस पोखरा ३३ स्थित पुँडीटारमा रहेको छ ।
२०७९ मा जलविद्युत् परियोजना सुरु भएको थियो । साढे तीन वर्षमा सक्ने लक्ष्य राखिएको छ । “भौतिक काम लगभग पूरा भइसकेको छ । अब प्रसारण लाइनको काम बाँकी छ ।” लिमिटेडका निर्देशक दीपक बरालले भन्नुभयो—“प्रसारण लाइन तान्ने काममा अडचन आएको छ । बाधा अड्चन सकिए माघमै विद्युत् उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडिने छौं ।”
तीन हजार एक सय ६ मिटर लामो सुरुङ निर्माण गरिएको छ ।
सुरुङबाट एक हजार दुई सय मिटर पेनस्टक पाइपबाट पावर हाउस हुँदै नदीमा खसालिने उहाँले बताउनुभयो । पावरहाउसमा ११ मेगावाटका दुईओटा टर्वाइन जडान गरिसकिएको छ । परियोजनाबाट उत्पादित विजुलीलाई दुईकिलोमिटर ट्रान्समिसन लाइन तानेर राष्ट्रिय प्रसारण लाइनमा जोड्ने जनाएको छ । दुुई किलोमिटरको दुरीमा ५ ओटा फाउन्डेशन तयार गर्नुपर्ने खाँचो छ । पाँचमध्ये तीनओटा जंगलमा पर्ने भएकाले केही समस्या परेको उहाँको भनाइ थियो ।
परियोजनाबाट बत्ती बलेपछि लिमिटेडले पाँच किलोमिटर तल नै ९.८ मेगावाटको अर्को योजना तत्कालै सुरु गर्ने जनाएको छ । सेतीखोला हाइड्रोपावरलाई वैदेशिक संस्था डोल्मा इम्प्याक्ट फन्डले लगानी गरेको छ । फन्डमार्फत विदेशीसंस्था जापानिज संस्था जाइका, आईएमएफ, स्वेड फन्ड, ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्ट, डिएफसी तथा आईएफसी जस्ता कम्पनीले लगानी गरेको उहाँको भनाइ थियो ।











प्रतिक्रिया