३ लघु उद्यमी सम्मानित


बुटवल ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले उत्कृष्ट लघु उद्यमीहरुलाई सम्मान गरेको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत मंगलबार उद्योग दिवसको अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट ३ जना लघु उद्यमीहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा तिलोत्तमा सर्फ उद्योग, हिमालयन महिला ट्रेलर्स र कामना ब्यूटी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टरका सञ्चालक उद्यमीहरु रहेका छन् ।

उनीहरुलाई नगर प्रमुख रामकृष्ण खाँण, उपप्रमुख जा चौधरी, प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल, लघु उद्यम विकास समितिका संयोजकसमेत रहनुभएका वडा नं. ६ का वडाध्यक्ष गणेश पाठक लगायतले सम्मान गर्नुभयो । उत्कृष्ट उद्यमी छनौटका लागि मेडप कार्यक्रममार्फत् सञ्चालित तालिममा सहभागी भएकाहरुबाट आवेदन माग गरिएकामा त्यसउपर स्थलगत अध्ययन मूल्यांकन गरेर छनौट गरिएको मेडप कार्यक्रमका फोकल पर्सन शंकर पन्थीले जानकारी दिनुभयो ।

कार्यक्रममा नगर प्रमुख रामकृष्ण खाँणले नगरपालिकालले सानादेखि ठूला सबै व्यवसायीहरुलाई समान रुपमा व्यवहार गर्ने गरेको बताउनुभयो । नगर प्रमुख खाँणले लघु उद्यमीले उत्पादन गरेका बस्तुहरुको बजारीकरणमा नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।