लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु :‘दक्षिण–पूर्वी एसियामा लैङ्गिक हिंसाका सबै सूचक अत्यन्त चिन्ताजनक’


काठमाडौं ।

महिला तथा बालिकामाथि हुने लैङ्गिक हिंसा र विशेष गरी डिजिटल हिंसा अन्त्य गर्न विश्वभर ‘लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान–२०२५’ सुरु भएको छ । ‘प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं’ भन्ने नाराका साथ मंगलबारदेखि सुरु भएको १६ दिने अभियानको अवसरमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) दक्षिण–पूर्वी एसिया क्षेत्रीय निर्देशक डा. क्याथरिना बोहेमले दक्षिण–पूर्वी एसियामा लैङ्गिक हिंसाका सबै सूचक अत्यन्त चिन्ताजनक रहेको बताउनुभयो । उहाँका अनुसार यो क्षेत्रमा जीवनभरमा घनिष्ट साझेदारबाट हिंसा भोग्ने महिलाको औसत दर ३१.५ प्रतिशत पुगेको छ, जुन डब्लूएचओका सबै छ वटा क्षेत्रमध्ये उच्चतममध्ये एक हो ।

डा. बोहेमले डिजिटल हिंसा (साइबरस्टकिङ, अनलाइन ट्रोलिङ, छवि दुरुपयोग, डक्सिङ आदि) तीव्र गतिमा बढिरहेको र कोभिड–१९ महामारीपछि यो झन् भयावह बनेको उल्लेख गर्नुभयो । युनिसेफ र यूएन ओमेनको तथ्याङ्कले विश्वभर १६ देखि ५८ प्रतिशत महिला तथा किशोरीले कम्तीमा एक पटक अनलाइन वा प्रविधिमार्फत हिंसा भोगिसकेको देखाएको छ । भारत, श्रीलङ्का र मलेसियामा लकडाउनको समयमा महिलाविरुद्ध अनलाइन घृणा तथा हिंसात्मक सामग्री १६८ प्रतिशतसम्म बढेको तथ्याङ्क छ ।

अनलाइन हिंसाको असर मानसिक स्वास्थ्य, शारीरिक स्वास्थ्य, यौन तथा प्रजनन स्वास्थ्य र सामाजिक सहभागितामा गहिरो र दीर्घकालीन हुने गरेको डा. बोहेमले बताउनुभयो । उहाँले भन्नुभयो– ‘यी हानि वास्तविक र मापनयोग्य छन्, तर पूर्ण रूपमा रोकथाम गर्न सकिन्छ । समाज, सरकार र डिजिटल प्लेटफर्मले संयुक्त जिम्मेवारी लिनैपर्छ ।’

यस वर्षको अभियानले अनलाइन हिंसालाई प्रत्यक्ष हिंसाकै रूपमा मान्दै डिजिटल जगतलाई महिला तथा बालिकाका लागि सुरक्षित बनाउन जोड दिएको छ । डा. बोहेमले थप्नुभयो– ‘जसरी अफलाइन संसारमा महिलाको अधिकार र सुरक्षाका लागि काम गर्छौं, त्यही प्रतिबद्धता अनलाइन क्षेत्रमा पनि देखिनुपर्छ ।’

डब्लूएचओका पाँच आधारभूत प्रतिबद्धताहरुमा डिजिटल सुरक्षाबारे खुला कुराकानीको वातावरण बनाउने, स्वास्थ्य प्रणालीमा डिजिटल सुरक्षालाई नीति र तालिममा समेट्ने, बाँचेकाहरूको आवाजलाई नीति निर्माणको केन्द्रमा राख्ने, पुरुष र युवालाई सहयोगीका रूपमा परिचालित गर्ने र घर, कार्यस्थल र अनलाइन प्लेटफर्मलाई सुरक्षित तथा समावेशी बनाउने रहेको छ । अभियानको थालनीसँगै डा. बोहेमले सबै देश, समुदाय र व्यक्तिलाई आह्वान गर्दै भन्नुभयो– ‘हामी सबै मिलेर यस्तो विश्व बनाऔँ जहाँ हरेक महिला र बालिका घरमा, कार्यस्थलमा, सडकमा र डिजिटल संसारमा सुरक्षित, सम्मानित र सशक्त महसुस गर्न सकून् ।’